
काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर दुःख–हैरानी दिने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने व्यक्तिलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख–हैरानी दिने ट्याक्सीचालक, होटेल सञ्चालक र होटेलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले शनिबार मात्र नयाँ बसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारजना होटेल सञ्चालक छन् ।
नेपाली होटेल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले होटेल व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख–हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए । यात्रुलाई दुःख तथा हैरानी दिने जोकोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । संघले पछिल्लो समय होटेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थित रूपमा होटेल सञ्चालन गर्नका लागि होटेलमा अनिवार्य रूपमा ‘सिसी क्यामरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ । रासस