काठमाडौं महानगरपालिकाले हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रियसमेत गरी २३ सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । तर, करिब १० वर्षयता भने महानगरले कुनै पनि सहरसँग भगिनी सम्बन्ध विस्तार गर्न सकेको छैन ।महानगरअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईका अनुसार नयाँ संविधान लागू भएयता अन्तर्राष्ट्रियस्तरमा भगिनी सम्बन्ध कायम हुन सकेको छैन ।
‘०७२ सालयता अन्तर्राष्ट्रियस्तरमा भगिनी सम्बन्ध कायम गर्न सकेका छैनौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव सुरुमा नगर कार्यपालिकाले पास गर्नुपर्छ । उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । मन्त्रालयले मन्त्रिपरिषद् लैजान्छ र मन्त्रिपरिषद्ले पास गरेपछि परराष्ट्र मन्त्रालय जान्छ । त्यहाँबाट सम्बन्धित देशको दूतावासले प्रस्ताव पास गरेपछि मात्रै भगिनी सम्बन्ध कायम हुन्छ । एउटा भगिनी सम्बन्ध कायम गर्न करिब एक वर्ष लाग्छ । प्रक्रिया लामो भएका कारण करिब १० वर्षयता थप सहरसँग सम्बन्ध विस्तार हुन सकेको छैन ।’
उनका अनुसार महानगरले थप सहरमा भगिनी सम्बन्ध विस्तार गर्नेभन्दा पनि भएकै सहरबाट लाभ लिन लागेको छ । ‘हामी संख्या बढाउनेभन्दा गुणस्तर कायम गर्न लागेका छौँ । सम्बन्ध कायम भएर आपसमा लाभ भयो भनेर छलफल र भेटघाटमा छौँ । सम्बन्ध पुनः परिभाषित गर्न लागेका छौँ,’ उनले भने । महानगर भगिनी सम्बन्ध मात्र होइन, विभिन्न आठ अन्तर्राष्ट्रिय संघसंस्थाको सदस्यसमेत हो ।
किन अवश्यक छ भगिनी सम्बन्ध ?
काठमाडौं महानगरका अनुसार विकास निर्माण र अन्य सांस्कृतिक आयामबारे सहयोग आदान–प्रदान गर्न भगिनी सम्बन्ध कायम गरिन्छ । यसका लागि कतिपयसँग महानगरले प्रस्ताव गर्न भने कैयौँ अवस्थामा अन्य सहर वा स्थानीय तहबाट पनि प्रस्ताव आउँछ । ‘कतिपयसँग हामी प्रस्ताव गर्छौँ । कतिपय अवस्थामा उनीहरूबाट प्रस्ताव आउँछ । अहिले पनि धेरैले प्रस्ताव गरेका छन् । तर, अब थप सहरसँग भगिनी सम्बन्ध राख्दैनौँ । प्रक्रिया अघि बढिसकेको दुईवटासँग सम्झौता हुन बाँकी छ, त्यो साउनभित्र सक्छौँ,’ उनले भने, ‘आन्तरिक रूपमा भगिनी सम्बन्ध राख्दा हामीले सिकेका सिकाइ र ज्ञान बाँड्न सक्छौँ । जोइन्ट भेन्चरमा काम गर्न सकिन्छ ।’
उनका अनुसार विदेशी सहरसँग भगिनी सम्बन्ध कायम गर्दा उनीहरूको प्रविधि, स्थानीयस्तरमा गरेका प्रयोग, प्रयासबारे हेर्न, आर्थिक रूपमा पनि सहयोग आदान–प्रदान गर्न सकिन्छ । कोरोना महामारीका वेला चिनियाँ सहर ल्हासाले करिब पाँच करोड रुपैयाँको भेन्टिलेटरलगायत मेडिकल सामान काठमाडौं महानगरलाई दिएको थियो । अहिले पनि ल्हासाले करिब तीन करोडको मेडिकल सामान लिन प्रस्ताव गरेको छ । छेन्दुले पनि महानगरलाई दुईवटा बु्रमर अनुदान दिएको छ ।
यी हुन् महानगरसँग भगिनी सम्बन्ध भएका सहर
काठमाडौं महानगरको देशभित्रका सातै प्रदेशका एक–एकवटा स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्ने उद्देश्यअनुसार पाँच स्थानीय तहसँग सम्बन्ध जोडेको छ । दुई स्थानीय तहसँग साउन मसान्तभित्रै प्रक्रिया टुंग्याउने चरणमा छ । कोसी प्रदेशको पाख्रीवास नगरपालिका, बागमती प्रदेशको मेलम्ची नगरपालिका, लुम्बिनी प्रदेशको रामग्राम नगरपालिका, कर्णालीको चन्दननाथ नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको छ ।
गण्डकी प्रदेशको मनाङ ङिस्याङ गाउँपालिका र मधेस प्रदेशको जितपुरसिमरा उपमहानगरपालिकासँग सम्बन्ध बन्ने अन्तिम चरणमा छ । यी पाँच स्थानीय तहसँग तत्कालीन मेयर विद्यासुन्दर शाक्यकै पालामा सम्बन्ध कायम भएको हो । बाँकी मेयर बालेन्द्र साह निर्वाचित भएपछि सुरु भएको हो ।
यसैगरी, अन्तर्राष्ट्रियस्तरमा चीनको सेन्जेन, चेङ्दु, ल्हासा, नाजिङ, लान्जाउ, सियान सहरसँग महानगरको भगिनी सम्बन्ध छ । संयुक्त राज्य अमेरिकाको बोल्डर, फ्रेडरिकबर्ग, युजेन, रोचेस्टरसँग पनि सम्बन्ध कायम भएको छ ।
यस्तै, महानगरले दक्षिण कोरियाको सियोल, भारतको वाराणसी, उत्तर कोरियाको प्योङयाङ, म्यानमारको यंगुन, बेलारुसको मिन्सक सहर, जापानको मात्सुमोतो सहरसहित आठ देशका १६ सहरसँग भगिनी सम्बन्ध बनाएको छ ।
सुदर्शन भट्टराई, प्रमुख,
अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, महानगरपालिका
अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम गर्नुपरे सुरुमा नगर कार्यपालिकाले प्रस्ताव पास गर्नुपर्छ । उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । मन्त्रालयले मन्त्रिपरिषद् लैजान्छ र मन्त्रिपरिषद्ले पास गरेपछि परराष्ट्र मन्त्रालय जान्छ । त्यहाँबाट सम्बन्धित देशको दूतावासले पास गरेपछि मात्रै भगिनी सम्बन्ध कायम हुन्छ । पहिलेको तुलनामा प्रक्रिया अलि लामो भएको छ । एउटा भगिनी सम्बन्ध कायम गर्न करिब एक वर्ष लाग्छ । प्रक्रियाकै कारण पनि करिब १० वर्षयता थप सम्बन्ध विस्तार हुन सकेको छैन ।
महानगरपालिका सदस्य रहेको अन्तर्राष्ट्रिय संघ–संस्था