उद्योगमा काम गरेर साइकलमा घर फर्कँदै गरेका मजदुरलाई एक्कासि मुक्का प्रहार गरी घिसारेर सडक किनारमा बेहोस अवस्थामा अलपत्र छाड्ने तीनजनाविरुद्ध मोरङ प्रहरीले १० वर्ष कैद सजाय माग गर्दै ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गराउने भएको छ।
२० असार साँझ ८ बजे कोसी राजमार्गस्थित विराटनगरको कञ्चनवारी क्षेत्रमा साइकलमा घर फर्कँदै गरेका विराटनगर– ६ का २७ वर्षीय पवन साहलाई तीनजनाले कुटपिट गरी घिसारेर राजमार्ग किनारमा बेहोस अवस्थामा छाडेका थिए। उक्त कार्यमा संलग्न विराटनगर– ४ का १९ वर्षीय आयुष भेटवाल तेह्रथुम फेदाप गाउँपालिका– ४ का ३० वर्षीय रोशन कार्की र विराटनगर– ४ कै १७ वर्षीय किशोरलाई ज्यान मार्ने कसुरमा १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना माग गर्दै ज्यान मुद्दा दर्ता हुने भएको हो।
मोरङको बुढीगंगा गाउँपालिका– २ स्थित कर्कटपाता कम्पनी आरती स्ट्रिप्समा काम गरेर साइकलमा घर फर्कँदै गरेका मजदुर साहलाई मुक्का प्रहार गरी बेहोस अवस्थामा अलपत्र छाड्ने उनीहरूविरुद्ध अनुसन्धान पूरा गरी ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गराउन सरकारी वकिलको कार्यालयमा शुक्रबार प्रतिवेदन पेस गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए। डिएसपी दाहालका अनुसार सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा कसुरको प्रतिवेदनअनुसार अभियोगपत्र दर्ता गराउनेछ।
प्रहरीले आयुषलाई घटनाको भोलिपल्ट बिहान घरबाटै पक्राउ गरेको थियो। तर, उनका दुई सहयोगी फरार थिए।
यसरी भएको थियो घटना
२० असार साँझ साढे ८ बजे विराटनगर– ४ स्थित कोसी राजमार्ग दूध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा आयुष र उनका साथीहरू उत्तरतर्फ र मजदुर साह दक्षिणतर्फ साइकलमा जाँदै थिए। राजमार्गमा कार मोड्न लाग्दा गलत दिशाबाट साइकल अगाडि बढाएको भन्दै कारमा सवार आयुषले ओर्लेर एक्कासि साइकलयात्री साहको कन्चटमा मुक्का प्रहार गरेर बेहोस बनाएका थिए।
बेहोस साहलाई उपचारका लागि अस्पताल लानुको साटो उनीहरूले घिसारेर सडक किनारमा ल्याएर बेहोस अवस्थामै छाडेर हिँडेका थिए। घटनाको सूचना पाएपछि प्रहरीले साहलाई उपचारका लागि कोसी अस्पताल भर्ना गराएको थियो। त्यसपछि सिसिटिभी फुटेज अनुसन्धान गरेर व्यक्ति पहिचान गरी भोलिपल्ट बिहानै मुक्का प्रहार गर्ने आयुषलाई घरबाटै पक्राउ गरेको थियो।
भिडियो भाइरल भएपछि अपराध अनुसन्धान गर्न प्रहरीलाई सहज
प्रहरी स्रोतका अनुसार उक्त घटना मिलापत्र गराएर छाड्न राजनीतिक दलका उच्च पदस्थ नेताहरूले सरुवा गराउने धम्कीसहित मोरङ प्रहरी तथा पीडित र उसको परिवारलाई चर्को दबाब दिएका थिए। तर, प्रहरी र पीडित पक्षले अमानवीय फौजदारी अपराध भएकाले मिलापत्र गर्न गराउन नमिल्ने अडान लिएको थियो।
दलका नेताहरूको प्रेसर धेरै आएपछि प्रहरीले घटनाको उक्त सिसिटिभी फुटेज सार्वजनिक गराएको थियो। घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीलाई दलका नेताहरूको प्रेसर ह्वात्तै कम भएको स्रोतले बतायो। त्यसपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरेर कसुरको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा शुक्रबार बुझाएको हो।