![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2019-06-14-07-34-10.jpeg)
इजरायली संसद्ले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेसँगै देशभर व्यापक विरोध देखिएको छ । लगातार २९ हप्तासम्म भएको विरोध प्रदर्शनका बाबजुद विधेयक पारित भएकामा थप जनआक्रोश देखिएको छ ।
विवादास्पद न्यायिक सुधार विधेयकमा सदनमा नै स्पष्ट विभाजन भए पनि मतदानमार्फत पारित भएपछि पेसाकर्मीलगायत सर्वसाधारण आमहडताल र विरोध प्रदर्शनको तयारीमा जुटेका छन् । विधेयक पारित भएसँगै इजरायलीहरू दुई खेमामा ध्रुवीकृत देखिएका छन् । इजरायलका विदेशी सहयोगीले पनि विधेयक पारित भएकामा त्यसको आलोचना गरेका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कट्टर दक्षिणपन्थी सरकारले सोमबार विधेयक पारित गरेपछि त्यसको विरोधमा आज चिकित्सक प्रदर्शनमा उत्रेका छन् । इजरायल मेडिकल एसोसिएसनका प्रमुख सियोन हागेले काम नगर्ने घोषणा गर्दै विरोध जनाएका छन् ।
सोमबार मतदानअघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपि च्यात्नुका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको विरोधमा जेरुसेलम र तेल अभिभमा पनि प्रदर्शन भएका थिए । संसद् भवनबाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झन्डा फहराउँदै जुलुस निकालेका थिए ।