मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Tuesday, 17 December, 2024
जोस्का फिसर
२o८o श्रावण १० बुधबार o८:५९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमतिर नजिकिँदै टर्की

Read Time : > 2 मिनेट
जोस्का फिसर
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार o८:५९:oo

करिब एक वर्षअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको राजनीतिक भविष्य अनिश्चित देखिन्थ्यो । टर्कीको अर्थतन्त्र निरन्तर तीव्र मुद्रास्फीतिबाट ग्रस्त थियो र मुलुकले ठूलो संख्यामा तुरुन्तै आफ्नो मुलुक फर्कन नसक्ने सिरियाली शरणार्थीको सामना पनि गरिरहेको थियो । त्यसपछि फेब्रुअरीमा विनाशकारी भूकम्पले ठूलो आघात पुर्‍यायो, नतिजा हजारौँको हताहती भयो र गहिरो गरी जरा गाडेको भ्रष्टाचारका मुद्दा सतहमा आए ।

वास्तवमा जुलाई २०१६ को असफल ‘कु’पछि टर्कीले बढ्दो अधिनायकवादी प्रवृत्ति व्यहोरेको छ । कुर्द समुदायका मुद्दा र कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) सँगको द्वन्द्व समाधान हुन सकेको छैन । आतंकवादविरोधी कानुन कार्यान्वयन र न्यायपालिकामाथिको नियन्त्रणले राष्ट्रपति एर्दोगानलाई प्रभावकारी रूपमा विपक्षीलाई दबाउन एकदमै प्रोत्साहित गरेको छ ।

वर्षौंदेखिको टर्कीको आन्तरिक घटनाक्रमलाई नियाल्दा नेटो र पश्चिमसँगको सम्बन्धलाई लिएर चिन्ता उत्पन्न हुने गथ्र्यो । सन् २०१७ मा रुसी एस–४०० एयर–डिफेन्स प्रणाली लिने सरकारको निर्णयले भविष्यको अमेरिकासँग हतियार साझेदारीमा सन्देह उत्पन्न गर्‍यो । र, यसबीच युरोपियन युनियनसँग सम्बन्ध सुधार गर्ने टर्कीको प्रयास पनि ठप्प भयो ।पश्चिमा मुलुकले हालैको राष्ट्रिय चुनावमा एर्दोगानको पराजयको अपेक्षा गरे पनि उनी राष्ट्रपति चुनावको दोस्रो चरणमा स्पष्ट विजेताका रूपमा आए । यसबाहेक फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली व्यवस्थामा महत्वपूर्ण परिवर्तनले एर्दोगानको स्थितिलाई बलियो बनायो ।

एस–४०० को खरिदपछि रुससँग टर्कीको घनिष्ठ सम्बन्ध देखियो, जसले नेटो सदस्य रहेको टर्कीको नेटोप्रतिको बफादारीमाथि सन्देह खडा गर्‍यो । प्रतिक्रियामा अमेरिकाले दिने भनिएका ६ वटा एफ–३५ लडाकु विमानको आपूर्ति रद्द गर्‍यो । तर, टर्कीको छिमेकी र लामो समयदेखिको शत्रुता भएको मुलुकलाई अमेरिकाले यस्तै लडाकु विमान आपूर्ति गरेको छ । नेटो सदस्यताका लागि फिनल्यान्ड र स्विडेनको आवेदनपछि अर्को मुद्दा सतहमा आयो, अर्थात् टर्कीले पिकेके सदस्यलाई शरण दिने गरेको भन्दै स्विडेनको नेटो प्रवेशमा रोक लगाएको थियो ।

युरोपेली नेतासँग एर्दोगानसँग सहकार्य गर्नुबाहेक अर्को विकल्प छैन, किनभने टर्कीको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन

गत वर्षयता एर्दोगानले युक्रेन र रुसबीच मध्यस्थकर्ताको रूपमा काम गर्दै पश्चिमसँगको सम्बन्ध पुनर्निर्माण गर्दै आएका थिए कि भन्न सकिन्छ । यो मध्यस्थतामा एउटा सम्झौता समावेश थियो, जहाँ ब्ल्याक सी (कृष्ण सागर) मार्फत युक्रेनी अन्न ढुवानी गर्न अनुमति दिइएको थियो । (अहिले यो सम्झौता भंग भएको छ) यहाँनेर विवादित पक्षबीचको यो सम्झौतालाई अनुमोदन गराउन अमेरिकाले भूमिका खेलेको हुन सक्छ ।

भिल्नियसमा हालैको नेटो शिखर सम्मेलनका क्रममा एर्दोगानले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने अमेरिकाले वाचा गरेपछि स्विडेनमाथिको टर्कीको भिटो हट्यो । यसबाहेक उनले नेटोमा युक्रेनको सम्भावित सदस्यताका लागि समर्थन व्यक्त गर्दै बाँकी गठबन्धनसँग जोडिए ।

एर्दोगानको हालैका कदमले टर्कीलाई पश्चिमतर्फ डोर्‍याएको छ र क्रेमलिनबाट टाढा पुर्‍याएको छ । टर्कीले पनि ग्रिससँगको तनावपूर्ण सम्बन्ध सुधार्ने प्रयास गरेको छ । एजियन क्षेत्र र पूर्वी भूमध्यसागरमा रहेको नेटो सदस्य ग्रिससँग तनाव बढाउनुको सट्टा टर्कीले अब मेलमिलाप खोजिरहेको छ ।

युक्रेन संकट र हालैको चुनावले एर्दोगान र उनका सल्लाहकारलाई टर्कीको भूराजनीतिक अवस्थाको पुनः मूल्यांकन गर्न प्रेरित गरेको छ । एर्दोगान र सल्लाहकारले नेटो र अमेरिकासँगको गठबन्धन सुरक्षाका लागि महत्वपूर्ण मान्छन् । यसबाहेक आर्थिक चुनौतीबीच युरोपियन युनियनसँग नजिकको सम्बन्धले महत्वपूर्ण लाभ पनि गराउनेछ । तथापि एर्दोगान र उनको शासन व्यवस्था अपरिवर्तित रहेनछ भन्नेमा ध्यान दिनु जरुरी छ र युरोपेली राजनीतिज्ञ टर्कीसँगको व्यवहारमा सतर्क हुनुपर्छ ।

तर, यति भन्दै गर्दा युरोपियन युनियनका मुलुकले टर्कीको भौगोलिक अवस्थिति र भूराजनीतिक महत्वलाई बेवास्ता गर्न सक्दैनन् । टर्कीले बोस्फोरस हुँदै मध्यपूर्व र पूर्वी भूमध्यसागरमा रुसको पहुँचमा रणनीतिक नियन्त्रण राख्छ । यसले निकट र मध्यपूर्व, मध्यएसिया, ककेसस र बाल्कनसहित विभिन्न क्षेत्रमा पर्याप्त प्रभाव राख्छ । यसबाहेक टर्कीले युरोपियन युनियन क्षेत्रका ठूलो संख्यामा टर्की मूलका अल्पसंख्यकमाझ बलियो प्रभाव पनि राख्छ । त्यसैगरी टर्कीले ठूलो संख्यामा युरोपियन युनियन क्षेत्रमा जान सक्ने शरणार्थीलाई शरण पनि दिएको छ । 

युरोपका लागि टर्कीको रणनीतिक महत्वलाई उल्लिखित कारणले पनि पुष्टि गर्छ । तथापि स्विडेनको नेटो सदस्यतालाई अवरुद्ध गर्ने एर्दोगानका चालले उनी आफ्ना लक्ष्य पछ्याउन धम्कीलगायत कडा रणनीति प्रयोग गर्न पछि पर्दैनन् भन्ने देखिन्छ । टर्कीले अविवेकी महत्वाकांक्षालाई पालेको छ, अर्थात् स्विडेनलाई नेटोमा प्रवेश दिएपछि टर्कीले युरोपियन युनियनमा प्रवेश खोजेको छ, जबकि युरोपियन युनियन टर्कीलाई आफूमा समाहित गर्न चाहन्न । 

युरोपेली नेतासँग एर्दोगानसँग सहकार्य गर्नुबाहेक अर्को विकल्प छैन, किनभने टर्कीको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन । सुरक्षा र आप्रवासनजस्ता आपसी सरोकारमा सहयोग केन्द्रित हुनुपर्छ । टर्कीलाई युरोपियन युनियन बजार, कस्टम युनियन र भिसामुक्त क्षेत्रमा प्रवेश दिएर सहयोग साझेदारी बढाउन सकिन्छ । तर, युरोपियन युनियनको पूर्ण सदस्यता सम्भव छैन । युक्रेन युद्धले टर्की र युरोपबीचको अन्तरनिर्भरतालाई झल्काउँछ, तर यति भन्दै गर्दा एर्दोगानको रबैयाले युरोपियन युनियन र टर्कीबीचको आधारभूत भिन्नतालाई दर्साउँछ ।

टर्कीको महत्वपूर्ण भूभाग र महत्वलाई ध्यानमा राख्दै भिन्नतालाई बेवास्ता गर्नुको सट्टा सम्हाल्नु नै बुद्धिमत्ता हुनेछ । युरोपियन युनियन–टर्की सम्बन्धको पुनः निर्माणले रुसको आक्रामक युद्ध झेलिरहेको युरोपेली व्यवस्थालाई स्थिरता दिन महत्वपूर्ण भूमिका खेल्नेछ ।

(फिसर जर्मनीका पूर्वविदेशमन्त्री एवं भाइस चान्सलर हुन्, उनी २० वर्षयता जर्मन ग्रिन पार्टीका नेता हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट