
जिल्ला प्रशासन कार्यालय गुल्मीकाे नेतृत्वमा तम्घास बजारका १९ औषधि पसलको अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत विनोद खनालसहित स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल तम्घास, आयुर्वेद कार्यालय, रेसुंगा नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति, औषधि व्यवसायी र सुरक्षाकर्मीको टोलीले औषधि पसलको अनुगमन गरेका थिए।
१४ एलोपोथिक र पाँच आयुर्वेदिक गरेर १९ पसलको अवस्था अनुगमन गरिएको थियो। अनुगमनका क्रममा केही क्लिनिक अनुमति नलिई सञ्चालन गरेको फेला परेका छन्।
औषधि पसलको नाममा क्लिनिकहरू सञ्चालन भएको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनोद खनालले जानकारी दिए।
त्यस्तै, एलोपेथिक औषधि पसलले अनुमति प्राप्त गरे पनि आयुर्वेदिक औषधि बेचिरहेको फेला परेकाले सच्चिन आग्रह गरिएको खनालले बताए।
इजाजतविना अर्कैले औषधि बेच्ने गरेकोसमेत अनुगमन टोलीले फेला पारेको छ। उनले औषधि बेच्न फार्मेसी पढेको व्यक्ति आवश्यक पर्ने बताए । औषधि पसल सञ्चालकहरूले कागजमा फार्मेसी पढेकै व्यक्तिहरूको नाम राखे पनि कार्यान्वयनमा समस्या देखिएकाले सुधार गर्न आग्रह गरिएको बताए।
साथै अनुगमनको क्रममा केही पसलहरूमा म्याद नाघेका औषधि फेला परेको खनालले बताए। खनालले पहिलोपटक भएकाले तत्काल अवस्था सुधार्न निर्देशन दिएको बताए।
तर, अनुगमन पहिलोपटक भएकाे भने होइन। पहिलेका अनुगमनहरूमा पनि औषधि पसलहरूको अवस्था अहिलेकै जस्तै भेटिए पनि अनुगमन टोलीले सुधारको आग्रह मात्रै गर्दै आएको छ।
जिल्लामा सबैभन्दा कम अनुगमन स्वास्थ्य क्षेत्रमा हुन्छ। नागरिकस्तरबाट व्यापाक गुनासो आए पनि जिल्लामा अनुगमन गर्ने विज्ञ जनशक्ति छैन। अनुगमन टोलीले पनि सुधारको निर्देशन मात्रै गर्ने र फलोअप नगर्ने गरेका कारण पनि समस्या बल्झिरहेको स्थानीयको गुनासो छ।
मानवीय स्वास्थ्यसँग जोडिएको स्वास्थ्य क्षेत्रको बेथिति प्रशासनसहितको अनुगमन टोली फेला पारेर पनि पटकपटक सच्चिन मात्रै आग्रह गर्नु लज्जाको विषय भएको रेसुंगा नगरपालिका– २ का विवेक केसीले गुनासो गरे।