१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एम्बाप्पेलाई अल हिलालको मेगा प्रस्ताव

साउदी अरेबियाको अल हिलालले केलियन एम्बाप्पे भित्र्याउन १७३.२ मिलियन पाउन्डको प्रस्ताव राखेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१२:oo

 फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको भविष्य पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अन्योलपूर्ण छ । पिएसजीसँगको सम्झौता एक वर्ष बाँकी रहेकाले उनी अन्य क्लबमा जान सक्ने अवस्थामा छैनन् । एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । उनको भित्री चाहना स्पेनिस क्लब रियल म्याड्रिडमा जानु नै हो ।

म्याड्रिडसँग उनले पटक–पटक वार्ता चलाएका छन् । तर, पिएसजीले भने एम्बाप्पेलाई थप एक वर्ष क्लबमै राख्न सम्झौता नवीकरण गर्न दबाब दिइरहेको छ । पिएसजी प्रि–सिजनको तयारीका निमित्त जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे समावेश छैनन् ।

यसैबीच, फ्रेन्च खेलाडीमाथि साउदी अरेबियाको अल हिलालले ‘मेगा बजेट’ प्रस्ताव राखेको छ । साउदी प्रो लिगमा आबद्ध हुनका लागि हिलालले एम्बाप्पे भित्र्याउन १७३.२ मिलियन पाउन्डको प्रस्ताव राखेको छ । २४ वर्षीय एम्बाप्पे साउदी प्रो लिगमा आबद्ध हुँदा अहिलेसम्मकै हाई प्रोफाइल खेलाडी बन्नेछन् । सन् २०१७ मा मोनाकोबाट एम्बाप्पेलाई भिœयाउँदा पिएसजीले १५५ मिलियन पाउन्ड खर्चेको थियो ।

इटालियन पत्रकार पाल्मेरियाका अनुसार अल हिलालले अहिले ठूला स्टार खेलाडीलाई अनुबन्ध गर्न पछिल्लो प्रस्तावित रकम बढाउन सक्छ । पब्लिक इन्भेस्टमेन्ट कोषका माध्यमबाट हिलालले एम्बाप्पेलाई यसै सिजन भित्र्याउने कोसिसमा रहेको पाल्मेरियाले बताए । अहिले यसलाई ‘मेगा मनी अफर’ भनिएको छ । साउदी क्लबले कम्तीमा दुई वर्षको सम्झौता गर्नेछ । म्याड्रिडमा जाँदा एक वर्षको कमाइ एम्बाप्पेले हिलालमा रहँदा ६ महिनामै कमाउन सक्छन् । 

स्वतन्त्र हुन चाहने
पिएसजीले रिलिज नगरेको अवस्थामा एम्बाप्पेले फ्री ट्रान्सफरका माध्यमबाट म्याड्रिड जाने इच्छा देखाएका छन् । यो प्रक्रियाबाट स्पेनमा फुटबल खेल्न उनलाई पिएसजीले स्वतन्त्र गर्नुपर्छ । अल हिलालले पनि यसै मौकामा उनलाई लोभलाग्दो प्रस्ताव राखेको हो । पिएसजीले नयाँ सम्झौतामा एम्बाप्पेलाई प्रतिसाता ६ लाख ५० हजार पाउन्ड पारिश्रमिक दिने भएको छ । प्रतिसाताको पारिश्रमिकभन्दा पनि सम्झौता रकम बढाउने पक्षमा एम्बाप्पेको भनाइ छ ।

‘एम्बाप्पेले पाइरहेको प्रतिसाता पारिश्रमिक निकै राम्रो छ, तर उनी स्वयं सम्झौता रकम बढाउने पक्षमा छन्,’ इटालियन पत्रकार पाल्मेरियाले भने, ‘यस पक्षमा पेरिस मान्न तयार छैन ।’ दक्षिण कोरिया र जापानको भ्रमणमा आफू नरहँदा उनलाई केही पनि समस्या नआएको पाल्मेरियाले बताए । सन् २०२४ को युरोकपमा सम्भवतः एम्बाप्पेले नेतृत्व पाउन सक्छन् ।

फ्रेन्च खेलाडीलाई छाड्न नसकिने
पिएसजीका अध्यक्ष नासेर अल खालैफीले फ्रेन्च खेलाडी एम्बाप्पेलाई छाड्न नसकिने स्पष्ट पारेका छन् । फ्री ट्रान्सफरका मध्यमबाट म्याड्रिड जाने योजना बनाएका फ्रेन्च खेलाडीसँगको सम्झौता बाँकी रहेको नासेरले बताए । ‘हामी सबैको एउटै चाहना उनको आवश्यकता क्लबमा छ, कुनै वेला सम्झौता तोड्न सक्ने गरी दुवै पक्षले हस्ताक्षर गरेका छैनन्,’ उनले भने, ‘तर, उनी सम्झौताविपरीत जान चाहन्छन्, जुन हामी गर्न दिँदैनौँ ।’ एम्बाप्पेले सम्झौताविपरीत काम गर्न खोज्दा आफू निकै दुःखी भएको नासेरले बताए । ‘भित्री रूपमा उनी निकै राम्रा र भलाद्मी खेलाडी हुन्,’ उनले भने ।

ad
ad