मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ७ आइतबार १७:४४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्राकृतिक प्रकोपमा परेका ऋणीलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ७ आइतबार १७:४४:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणीको हकमा विशेष व्यवस्था गर्ने बताएका छन्। 

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणीलाई कर्जाको पुनः संरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए। 

खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणीलाई माथि उकास्न तथा उनीहरूलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी दिए। 

प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धराशयी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणीलाई पुनःस्थापनाका लागि विशेष व्यवस्था गरिन लागेको गभर्नर अधिकारीको भनाइ छ। 

उनले नेपालबाट बाहिरिने विप्रेषणबारेमा पनि केन्द्रीय बैंकले नियमित रूपमा अध्ययन नगरे पनि सूक्ष्म निगरानी भने गरिरहेको उनको भनाइ छ। त्यसका लागि अन्य निकायसँगको सहकार्य तथा ‘नेसनल स्विच’ कार्यान्वयनमा ल्याई यथार्थ विवरण पत्ता लगाइने उनले योजना सुनाए। 

सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा गभर्नर अधिकारीले भने, ‘सहुलियतपूर्ण कर्जा दुरुपयोग मात्रै भएको छैन, सदुपयोग पनि भएको छ। त्यसबारे स्वतन्त्र रूपमा अध्ययन भइरहेको छ। यही साउनको अन्तिमसम्ममा त्यसको प्रतिवेदन आइसक्नेछ। सोही प्रतिवेदनका आधारमा हामी अगाडि बढ्छौँ।’ 

त्यस्तो कर्जा दुरुपयोग भएको पाइए ब्याजसमेत असुलउपर गरिने उनको भनाइ छ। गभर्नर अधिकारीले रु ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको ‘थ्रेस होल्ड’ घटाउन लागिएको जानकारी दिए। 

यसअघि रु २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको जोखिम भार एक सय ५० प्रतिशत रहेकोमा उक्त व्यवस्था पुनरावलोकन गर्न लागिएको उनले जानकारी दिए। उनले सेयर धितो कर्जाका सम्बन्धमा कुनै द्विविधा नराख्नसमेत आग्रह गरे।