१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ४ बिहीबार १४:२७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजेटले लिएको लक्ष्य कार्यान्वयन हुने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार १४:२७:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालू आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्। 

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालू आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पारेका हुन्।  

पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएकोलगायतका समस्या कायमै रहेको उनको भनाइ छ। 

‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको वाञ्छित सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ। सञ्चित कोष रु. एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप संकलन राम्रो देखिए पनि कर्जाको विस्तार घटेको छ,’ गभर्नर अधिकारीले भने। 

अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए। त्यस्तै, बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भए पनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ। 

उनका अनुसार अहिले बैंकिङ प्रणालीमा रु. ८८ अर्ब ५४ करोड अधिक तरलता  छ। गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। 

गभर्नर अधिकारीले हाल चालू खाता घाटा रु. ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए। अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उनको भनाइ छ। 

‘घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो। मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौँ,’ उनले भने। 

कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडिरेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र बैंकको भनाइ छ। चालू आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने गरी लक्ष्य तय गरेकामा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थ समितिको आजको बैठकमा अर्थसचिव अर्जुनकुमार पोखरेलले वित्त नीति र मौद्रिक नीतिको सामञ्जस्यता हुनुपर्ने धारणा राखेका थिए। त्यस्तै, आर्थिक वृद्धिदर हासिल गर्ने र मूल्य वृद्धिदर नियन्त्रणमा राख्ने विषयलाई मौद्रिक नीतिले पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।