Skip This
बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च, हालसम्म पाँच सय २० जना संक्रमित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण ४ बिहीबार o८:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च, हालसम्म पाँच सय २० जना संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार o८:३९:oo

बागमती प्रदेशमा यस वर्ष पनि डेंगु संक्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए । 

२ साउनसम्म बागमती प्रदेशमा पाँच सय २० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको उनको भनाइ छ । विष्टका अनुसार धादिङमा तीन सय आठ, काठमाडौंमा ४६, भक्तपुरमा ३७, ललितपुरमा २६, नुवाकोटमा २३, रामेछाप र चितवनमा २१–२१, काभ्रेमा ११, सिन्धुलीमा १०, मकवानपुरमा आठ, रसुवामा चार, दोलखामा तीन र सिन्धुपाल्चोकमा दुईजना संक्रमित भेटिएका छन् ।

कीटजन्य रोग अनुसन्धन केन्द्रबाट गत चैत र वैशाखमा प्रदेशका पाँच जिल्लामा भएको डेंगु भेक्टर अध्ययनले २४ प्रतिशत घरमा डेंगु संक्रमणको जीवाणु भएको फेला पारेको थियो । जसमध्ये पानी राखिएको भाँडोका आधारमा काठमाडौंमा सबैभन्दा बढी चार सय ११, भक्तपुरमा तीन सय ८६, ललिपुरमा तीन सय ५९, मकवानपुर दुई सय ५७ र चितवनमा १० गरी कुल एक हजार ६ सय २३ वटा भाँडामा राखिएको पानीमा डेंगु जीवाणु फेला परेका थिए ।

केन्द्रले गरेको अध्ययनअनुसार नमुना लिइएको पानी राखिएको भाँडोमध्ये सबैभन्दा बढी टायरमा १८.६ प्रतिशत, ट्यांकीमा १७.७ प्रतिशत, ड्रममा १०.२ प्रतिशत, जारमा १० प्रतिशत, खुला र जमेका पानीमा ९.४ प्रतिशत, बकेटमा ६ प्रतिशत र फूलका गमलामा ५.४ प्रतिशत डेंगु संक्रमणको जीवाणु भेटिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विष्टले बताए ।

विगतका वर्षमा महामारीको रूपमा लिएको डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले समयमै अभियान सञ्चालन गर्ने जनाएको छ । प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न र उपचारको व्यवस्थापनमा जुट्न मन्त्रालयबाट पत्राचार भएको प्रशासक विष्टले जानकारी दिए । डेंगु संक्रमणसम्बन्धी सचेतनाका कार्यक्रमलाई अघि बढाउन र नर्सहरूलाई सो कार्यमा लाग्न निर्देशन दिइसकिएको उनको भनाइ छ । डेंगु नियन्त्रणका लागि आरटिडी किटको व्यवस्थापन, निजी तथा सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई राष्ट्रिय उपचार पद्धतिबारे अभिमुखीकरण, ज्वरो क्लिनिक सञ्चालन, प्रयोगशालाको व्यवस्थापन, पहिचान भएका व्यक्तिको प्रोटोकलअनुसार उपचार गर्न निजी तथा सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थालाई निर्देशन दिने काम भइरहेको प्रशासक विष्टले बताए ।

डेंगु परीक्षणका लागि किटको व्यवस्था, स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण, डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने तथा स्थानीय तहसँगको पैरवी, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र व्यवस्थापनलगायत लागि प्रदेश सरकारले आफ्नै स्रोत र संघबाट समेत बजेटको व्यवस्था गरेको छ । संघीय सरकारबाट ससर्त अनुदान तथा प्रदेश सरकारको समेत स्रोत परिचालन गरी तत्कालका लागि झन्डै एक करोड २० लाख रुपैयाँबराबरको बजेटको व्यवस्था गरिसकिएको विष्टको भनाइ छ ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी भन्छन्–डेंगु नियन्त्रणका लागि सरोकारवाला सबै एकजुट हुनुपर्छ
कोभिडभन्दा पनि डेंगु जटिल रोग भएकाले यसलाई महामारीको रूप लिन नदिन सबै निकाय सतर्क अवस्थामा रहनु आवश्यक छ । सरोकारवाला निकाय सबै एकजुट भएर मात्रै डेंगुलाई रोक्न सकिन्छ । त्यसकारण मन्त्रालयको जिम्मेवारीभित्र रहेर प्रदेश, स्थानीय, सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत आवश्यक तयारी गर्न निर्देशन दिएको छु । डेंगु संक्रमण नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य कार्यालय प्रमुख, फोकल पर्सनसँग जुम मिटिङ गरी जोखिम नियन्त्रण र लामखुट्टेको स्रोतमै जीवाणु नष्ट गर्ने अभियान थाल्न निर्देशन दिइसकेको छ । सबै सरोकारवाला निकायसँग समन्वय गर्दै डेंगु नियन्त्रणमा अघि बढ्नुपर्छ ।