१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २१ शुक्रबार १४:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीपहिरोमा बेपत्तालाई मृतकसरह राहत उपलब्ध गराउन गृहमा सिफारिस

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२६:oo

पूर्वी पहाडी जिल्ला संखुवासभामा गएको असार २ गते राति अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २० जना बेपत्ताहरूलाई मृतकसरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बाढीपहिरो गएको असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोजतलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतकसरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार कार्कीले बताए। 

उनले लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतकसरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएकाे बताए।

उनका अनसार सुपर हेवाखोला हाइड्रोपावरका १६ जना, अपरहेवाखोला जलविद्युत् आयोजनाका १ जना, अमर कन्ट्रक्सन (सडक निर्माण कम्पनी)का एकजना र पहिरोमा परी सभापोखरी–३ सुनाम्लामा दुईजना गरी हालसम्म २० जना बेपत्ता रहेका छन्। उनीहरूलाई अब मृतकसरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो। 

त्यसैगरी, असार २ गते गएको बाढी र पहिरोले संखुवासभामा ठूलो भौतिक क्षति गरेको संखुवासभाका प्रजिअ कार्कीले बैठकमा तथ्यांक प्रस्तुत गरेका छन्। उनको अनुसार हालसम्म सो बाढीपहिरोमा परी २९ घर विस्थापित भएका छन्। तीमध्ये १४ घर पूर्ण क्षति र १५ घरमा आंशिक क्षति भएको छ। 

उनीहरू छिमेकी र आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्। त्यसैगरी, जिल्लाभर साना र मझौलाखालका पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुंगे पुल गरी १३ वटा क्षति भएको छ। हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवातजावात नै बन्द भएको छ।

त्यसैगरी सभाखोला पुल, केवाबेँसी पुल र हेवाखोला अर्को पक्की पुलमा समेत क्षति पुगेको छ। 

जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट–२ आम्राङलगायत १३ वटा हाइड्रो पावरमा करोडाैँ रुपैयाँबराबरको क्षति भएको छ भने ३ वटा ठूला खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ। 

जिल्लाभर ३० जना कृषकहरूको सिँचाइ कुलो, धानखेत, अलैँची बगान, मकै र जग्गा बगाई ठूलो क्षति भएको विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

उक्त विपत् व्यवस्थापन समतिको बैठकमा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, सम्बन्धित बाढीपहिरो पीडित पाँचखपन र चैनपुर नगरपालिका, सभापोखरी गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

जिल्लास्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित पालिकाका जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरू, सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीलगायतको उपस्थितिमा उक्त निर्णय गरिएको हो। उक्त छलफलले विपत् र मनसुन अझै सक्रिय रहेकाले विपदजन्य घटना न्यूनीकरणका लागि सबै पक्षलाई सजग र सतर्कताका साथ उच्च तयारीमा रहन अनुरोध गर्ने निर्णय गरेको छ। 
 

ad
ad