युक्रेनमा रुसी आक्रमणको ५००औँ दिन पुगेको छ । तर, ठूलो हताहतीका बाबजुद युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै गएको छ । पछिल्लो समय रुसविरुद्ध प्रत्याक्रमण सुरु गरेको युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावको सामान गरिरहेको छ ।
रुसले भने ठूलो आक्रमण नगरे पनि युक्रेनी मुख्य सहरहरूमाथि निरन्तर छिटपुट मिसाइल प्रहार गरिरहेको छ । जुनको सुरुदेखि युक्रेनी सेनाले पूर्व र दक्षिणमा रुसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न प्रत्याक्रमण सुरु गरेको थियो ।
पश्चिमी सैन्य सहायताको रूपमा अर्बाैं युरो प्राप्त गरे पनि युक्रेनी सेना आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ । गत वर्ष सेप्टेम्बरको प्रयाक्रमणमा युक्रेनी सेना खार्किभ क्षेत्रको नौ हजार वर्गकिलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गर्न सफल भएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामो दूरीका हतियार र एफ–१६ लडाकु विमानका लागि दबाब बढाएका छन् । ‘आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर पनि हामी अगाडि बढिरहेका छौँ,’ यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए ।