१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o५:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

साढे दश महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक : आक्रामक इतर, रक्षात्मक संस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५५:oo

बैठकका एजेन्डा 
- प्रदेश र प्रतिनिधिसभा निर्वाचन र उपनिर्वाचनको समीक्षा
- सरकार फेरबदलमा पार्टीको भूमिका
- आगामी रणनीति 
- भ्रातृ संस्था र विभाग गठन, कोषाध्यक्ष मनोनयन
- नीति अधिवेशन
- नेतृत्वको कार्यशैली 
- समसामयिक राजनीतिक विषय

झन्डै एक वर्षपछि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा आक्रामक छलफल हुने देखिएको छ । साढे दश महिनासम्म बैठक बस्न नसक्दा समसामयिक विषयमा छलफल र रणनीति तय हुन सकेको छैन ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित इतर समूहले नेतृत्वको कार्यशैलीसहितका विषय उठाउने तयारी गरेपछि बैठकमा सघन छलफलको सम्भावना छ । निर्वाचनयता नाटकीय रूपमा प्रतिपक्षमा पुगेको पार्टीलाई सत्तारूढ दल बनाउन नेतृत्वको महत्वपूर्ण भूमिका रहेको भन्दै संस्थापन पक्ष प्रतिरक्षाको मनस्थितिमा छ । 

कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार सभापति शेरबहादुर देउवाले २७ असारका लागि बैठक आह्वान गरेका हुन् । बैठक अपराह्न १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पदाधिकारी तहमा छलफलपछि एजेन्डा टुंगो लाग्ने बताए । तर, निर्वाचनको समीक्षा, सरकारको कार्यसम्पादन, पार्टीका आन्तरिक र समसामयिक विषयमा मूलतः छलफल हुने उनको भनाइ छ । ‘एजेन्डा टुंगो लागिसकेको छैन । पदाधिकारी तहमा छलफलबाट औपचारिक रूपमा टुंगो लाग्छ,’ उनले भने, ‘निर्वाचनपछिको पहिलो बैठक भएकाले निर्वाचनको समीक्षा, सरकारको कार्यसम्पादन, पार्टीका नयाँ कार्यक्रम र आगामी रणनीतिसहित समसामयिक विषयमा छलफल हुनेछ ।’ 

इतर समूह प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा, गठबन्धनको औचित्य र नेतृत्वको कार्यशैलीलगायतलाई मुख्य रूपमा उठाउने तयारीमा छ । पूर्वसहमहामन्त्री तथा इतर समूहका नेता अर्जुननरसिंह केसी समग्र विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँछन् । उनी बैठकलाई औपचारकितामा सीमित गर्न नहुने र नेतृत्वले आलोचनालाई स्वीकार गर्न तयार हुनुपर्ने बताउँछन् । 

‘निर्वाचन, गठबन्धन, सरकारको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति, आर्थिक अवस्था र पुराना दलप्रति जनतामा देखिएका नैराश्यतालगायत सबै विषयमा केन्द्रीय समितिमा कुरा राख्न पाउनुपर्छ,’ उनले भने, ‘बैठक औपचारिकतामा सीमित गरिनुहुँदैन । समस्यालाई निराकरण गर्ने गरी छलफल हुनुपर्छ ।’ उनका अनुसार इतर समूह कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुन बाँकी छ । 

महामन्त्रीद्वय शर्मा र थापासमेतले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउने तयारी गरिरहेका छन् । महामन्त्रीद्वयले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा देउवाले आफूहरूलाई निरन्तर बाइपास गरेको विषयलाई महामन्त्रीद्वयले उठाउने तयारी गरेका छन् । महामन्त्रीहरूले सार्वजनिक रूपमै यसको संकेत गर्दै आएका छन् । महामन्त्री थापाले भदौबाट तल्लो तहमा जाने तयारी गरिरहेका छन् । नेताहरू बैठकमा सबै विषयमा गम्भीर छलफल हुने बताउँछन् ।

कांग्रेस रूपान्तरण अभियानमा सक्रिय केन्द्रीय सदस्य मधु आचार्य अभियानका क्रममा तल्लो तहबाट आएका विषयलाई बैठकमा कुनै न कुनै रूपमा प्रस्तुत गरिने बताउँछन् ।

कांग्रेस विधानमा प्रत्येक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्ने व्यवस्था छ । तर, कांग्रेसले ५ भदौ ०७९ मा पूर्वकेन्द्रीय सदस्य तथा नेता प्रदीप गिरिको निधनमा आकस्मिक कार्यसमिति बैठक बोलाएदेखि बैठक बसेको छैन । कांग्रेसले यस अवधिमा पदाधिकारी बैठकमा छलफल र कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय गर्दै आएको थियो । 

कांग्रेस सचिव प्रकाश शर्माका अनुसार महाधिवेशनपछि २१ पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर विभिन्न निर्णय भएका छन् । केन्द्रीय समिति बैठकको मिति तय गर्नुअघि सभापति देउवाले उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग धुम्बाराहीस्थित निवासमा बोलाएर छलफल गरेका थिए । 
 

ad
ad