मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २० बुधबार २o:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शाखा अधिकृतको प्रश्नपत्रमा त्रुटि भेटिएपछि उजुरी, छानबिन गर्दै लोकसेवा आयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २० बुधबार २o:५६:oo

लोकसेवा आयोगले १६ असारमा लिएको शाखा अधिकृत (वा सोसरह) को प्रथम चरणको लिखित परीक्षामा सोधिएकामध्ये केही प्रश्न नै त्रुटिपूर्ण रहेको पाइएको छ।

खुला र समावेशीतर्फ दुई सय ६० पदका लागि भएको प्रथम चरणको परीक्षामा सोधिएका सय प्रश्नमध्ये १० प्रश्नमा त्रुटि रहेको भन्दै लोकसेवा आयोगमा चारवटा उजुरी परेका हुन्। 

‘केही प्रश्नमा त्रुटि रहेको भन्दै उजुरी परेको छ, तर सार्वजनिक प्रश्न हेर्दा तीमध्ये दुई प्रश्नमा त्रुटि नै देखिन्छ,’ आयोग स्रोतले भन्यो, ‘केही प्रश्न नै मिलेका छैनन् भने प्रश्नका लागि दिइएका उपयुक्त जवाफ पनि एकभन्दा बढी छन्।’

खुला र समावेशीतर्फ शाखा अधिकृत (अप्राविधिक) संयुक्त र एकीकृत प्रणालीअन्तर्गत शाखा अधिकृत वा सोसरहको प्रथम चरणको लिखित परीक्षामा १५ हजार ९८४ परीक्षार्थी सहभागी थिए। यद्यपि, आवेदन भने २० हजार २६३ जनाले भरेका थिए।

लोकसेवाका प्रवक्ता तोयनारायण सुवेदीले शाखा अधिकृतको प्रश्नपत्र त्रुटि रहेको भन्दै निवेदन प्राप्त भएको र त्यसमाथि छानबिन हुने बताए। ‘प्रश्नपत्र बनाउने विज्ञलाई बोलाएर आधार खोजिनेछ। यदि जानाजान त्रुटि गरेको पाइएमा कालोसूचीमा समेत राख्न सकिनेछ,’ उनले भने, ‘जुन प्रश्न गलत रहेको पाइन्छ, त्यसको प्राप्तांक सबैले पाउँछन्।’ 

गत वर्ष पनि शाखा अधिकृतको लिखित परीक्षामा दुईवटा प्रश्न गलत रहेको पाइएको थियो। लोकसेवाले विज्ञका रूपमा प्रयोग गर्नेमध्ये धेरैजसो पूर्वप्रशासक हुन्छन्। नयाँ तथ्य तथ्यांकबारे अपडेट नभएकाहरूले प्रश्न बनाउँदा आयोगमाथि औँला उठ्न थालेको हो। 

लोकसेवाले कसरी बनाउँछ प्रश्नपत्र?
प्रश्नपत्र नै त्रुटिपूर्ण रहेको भन्दै परीक्षार्थीले लोकसेवामाथि प्रश्न उठाइरहेका छन्। आयोगले विषयविज्ञमार्फत प्रश्न बनाउँछ। आयोगले कुन हिसाबले कस्ता विज्ञ छनोट गर्छ भनेर पनि प्रश्न उठिरहेको छ। 

‘बजारमा नाम चलेका, लोकसेवा नपढाउने विषयविज्ञबाट कच्चा प्रश्न मागेर नै प्रश्नपत्र बनाइन्छ,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने, ‘यी घटनाबाट अब आयोगले थप सचेत हुनुपर्ने देखिन्छ। तर, परीक्षाको प्रश्नपत्र के कस्तो छ र कस्ता प्रश्न सोधिएका छन् भनेर हामी (आयोग) लाई परीक्षापछि मात्र थाहा हुन्छ। ’

उनका अनुसार शाखा अधिकृत वा सोसरहको प्रश्नपत्रको हकमा विषयविज्ञमार्फत १०–१२ सेट कच्चा प्रश्नपत्र बनाइन्छ। र, नयाँ विज्ञलाई बोलाएर ती सेटलाई प्रशोधन गरेर पाँच सेट प्रश्नपत्र बनाइन्छ। र, हरेक प्रश्नलाई फरक-फरक कोर्ड दिएर सिलबन्दी गरिन्छ। 

कुन प्रश्न प्रयोग गर्ने भनेर आयोगका अध्यक्षले कोर्ड छनोट गर्छन्। त्यसपछि परीक्षाको केही दिनअघि मात्र सम्बन्धित कोर्डको प्रश्न झिकेर प्रिन्ट हुन्छ। 

‘बाहिर सम्बन्ध विच्छेद गरेर राखिन्छ । प्रश्न टाइप र पिन्टमा संलग्न सबै कर्मचारीको मोबाइल आयोगले लिन्छ, परीक्षा नसकुन्जेल उनीहरूलाई हलभित्रै राखिन्छ,’ सूचना अधिकारी सुवेदीले भने। 

उनका अनुसार शाखा अधिकृतको प्रश्नपत्र त्रुटि रहेको भन्दै परेको उजुरीको हकमा अब प्रश्न कोर्ड हेरेर जसले प्रश्न बनाएको हो, सम्बन्धित विज्ञलाई बोलाएर प्रश्नको स्रोत खोजिन्छ। 

‘तथ्यांक पुरानो हुन सक्छ वा अप्सन दुईवटा भएमा पनि प्रश्न गलत मानिन्छ, गलत ठहरिएमा सबैले उक्त प्रश्नको अंक पाउँछन्,’ उनले भने, ‘तर, गलत मनसायले, केयरलेस भएर प्रश्नमा त्रुटि गरेको पाइएमा आइन्दा ती विज्ञलाई प्रयोग नगर्ने गरी कालोसूचीमा राखिन्छ।’