मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Friday, 03 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८o असार २० बुधबार o८:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी दुई महिनालाई बन्द : उपत्यकामा सातामा एकपटक मात्रै पानी वितरण हुने 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २० बुधबार o८:३७:oo

मेलम्ची खानेपानी आयोजनामार्फत ल्याएको पानी वितरण बन्द भएको छ । आयोजनाको बाँधमा धमिलो पानी र बाढी आउन थालेपछि करिब साढे दुई महिनाका लागि खानेपानी बन्द गरेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जनाएको हो । 

पिआइडीका डाइरेक्टर राजेन्द्र सापकोटाका अनुसार बाँध क्षेत्रमा पानी थिग्र्याउने व्यवस्था भइनसकेकाले हाललाई बाँधबाटै खानेपानी पठाउन बन्द गरिएको हो । ‘खोलामा धमिलो पानी आउन थालेको छ, त्यसैले साउन र भदौ दुई महिनाका लागि खानेपानी पठाउँदैनौँ,’ उनले भने, ‘हामीसँग अहिले पानी थिग्र्याएर पठाउने संरचना तयार भइसकेको छैन ।’ 

दुई वर्षअघि नै आयोजनाको बाँधमा बाढीले पुगेको क्षति मर्मत नभएको र विकल्पमा खोलिएको डाइभर्सन टनेलसमेत थुनिने डरले बर्खा लागेसँगै खानेपानी बन्द गरिएको हो । १ असार ०७८ र सोही वर्षको १६ र १७ साउनमा मेलम्ची खोलामा बाढी आउँदा आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त भएको थियो । बाढीले आयोजनाको मुख्य बाँध नै पुरेको थियो । उक्त बाँध अझै बनेको छैन । अहिले वैकल्पिक बाँधमार्फत काठमाडौंमा दैनिक १७ करोड लिटर पानी पठाइरहेको निर्देशनालयले जनाएको छ । २ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको बाँध निरीक्षण गरेका थिए । उनले सकेसम्म बर्खायाममा पनि मेलम्चीको पानी ल्याउने गरी काम गर्न आयोजनालाई निर्देशन दिएका थिए । तर, मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले दुई वर्षअघिको बाढीले क्षति पुर्‍याएको हेडवक्र्सस्थल, इन्टेक, सुरुङ गेटको पुरानै अवस्थामा अझै आइनसकेकाले बर्खामा पानी वितरण गर्ने अवस्था नभएको बताए । ‘आयोजनाको मुहान क्षेत्र अम्बाथान भौगोलिक रूपमा उच्च जोखिममा छ,’ ओहोरदोहोर गर्ने सडक अझै व्यवस्थित भइसकेको छैन,’ उनले भने, ‘बाँधमा पनि थुप्रै काम बाँकी छ, चारैतिरबाट पहिरोले घेरेको र भेमाथाङमा थुप्रिएका ढुंगा, माटो र बालुवा बर्खामा जतिवेला पनि बग्न सक्ने अवस्था भएपछि बन्द गरेका हौँ ।’ यद्यपि, यो वर्ष बाढीले बाँध क्षेत्रमा भने क्षति नपुर्‍याउने उनले बताए । 

दुई वर्षअघि गएको बाढीको असर अझै कायम 
मेलम्ची खानेपानी आयोजनाको टनेल रहेको क्षेत्र बाढीपहिरोको हिसाबले निकै जोखिमपूर्ण मानिन्छ  । यसअघि बाढीले क्षतिग्रस्त हेडवक्र्सस्थल, इन्टेक, सुरुङ गेटको अवस्था अझै अस्तव्यस्त छ । मुहानस्थल अम्बाथानवरपर र भेमाथाङसम्म ठुल्ठूला १५ भन्दा बढी पहिरो छन् । आयोजनालाई चारैतिरबाट पहिरोले घेरेको छ । मेलम्ची खोलामा बाढी आउँदा वा खोलाको बहाब बढ्यो भने ओहोरदोहोर गर्न सकिने अवस्था छैन । बाढीले बगाएको पुलसमेत निर्माण हुन सकेको छैन भने बगरबाटै सडक बनाइएको छ । सबैतिर बाढीपहिरोको जोखिम र बाँधभन्दा माथिबाट जुनसुकै वेला बाढी आउन सक्ने भएकाले सुरुङको गेट बन्द गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ  । 

पानी वितरण तालिका फेरबदल हुँदै
पानी पठाउन बन्द भएपछि उपत्यकाभित्र वितरण हुने खानेपानीको तालिका पनि परिवर्तन हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी आइरहेको अवस्थामा धेरैजसो ठाउँमा सातामा दुईपटक वितरण हुँदै आएकोमा अब भने एकपटक मात्रै वितरण गर्ने तयारी छ । पानी भण्डारण कम हुने भएकाले एक साताको फरकमा पानी वितरण गर्ने तालिका केयुकेएलले तयार पारिसकेको छ । उपत्यकामा मेलम्चीबाहेक आसपासका मूल मुहान र खोलाहरूबाट दैनिक करिब १२ करोड लिटर पानी आउने केयुकेएलले जनाएको छ । बर्खा लागेसँगै मूल मुहानमा पानी बढ्ने भए पनि पर्याप्त हुँदैन । यद्यपि, हिउँदमा भन्दा वितरण सहज हुने केयुकेएलको भनाइ छ ।