
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार देउवासँग देशको अर्थतन्त्रका विषयमा छलफल गर्दै आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
छलफलमा अध्यक्ष अग्रवालले देशको वर्तमान अर्थतन्त्रका बारेमा जानकारी गराउँदै राजनीतिक दलहरूले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयलाई प्राथमिकतामा राखेर निकास दिनुपर्ने उनको भनाइ थियो । आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि उनको जोड थियो ।
कांग्रेस सभापति देउवाले अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । छलफलमा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरू छाया शर्मा, गोकुल भण्डारी र महानिर्देशक दीपकराज जोशीको सहभागिता थियो ।