मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Wednesday, 18 December, 2024
रासस बेनी
२o८o असार १२ मंगलबार ११:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

Read Time : > 1 मिनेट
रासस, बेनी
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार ११:५२:oo

मंगला गाउँपालिका– १ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्य सँगसँगै घरायसी आयआर्जनको कामलाई पनि निरन्तरता दिँदै आएका छिन् । उमेरले वृद्धावस्थामा पुर्‍याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाइसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन् ।

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्विटरलगायतका कपडा बुन्ने गर्छिन् । आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले  जानकारी दिइन् । ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा  लैजाने गर्छन्,’ उनले भनिन् । 

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु. सात हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले बताइन् । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आएकी छिन् ।  गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताइन् । ‘मेरो अरू स्रोत छैन, आफ्नै मिहिनेतले दैनिकी चलाएकी छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेकी छु,’ उनले थपिन् । 

झोला, गलबन्दी, स्विटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने वृद्धा पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो । 

उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै  आएकी छिन् ।  समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक संघसंस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण वृद्धा पुन बनेकी छिन् ।  ०५२ मा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उनले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आएकी  छिन् । 

गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुर्ख्यौली संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरणयोग्य छ । गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकल रूपमा बसोवास गर्दै आएकी छिन्। गोदावरी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गर्दै आएको छ ।