१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मार्सल आइल्यान्ड्स र क्यामरुनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o२:oo

कूटनीतिक सम्बन्ध स्थापनाको २०५ वर्षमा नेपालको १८१ मुलुकसँग सम्बन्ध, हालसम्म ३३ मुलुकमा राजदूतावास स्थापना 

नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या एक सय ८१ पुगेको छ । नेपालले शुक्रबार र बिहीबार क्रमशः प्यासिफिक क्षेत्रको मार्सल आइल्यान्ड्स र पश्चिम अफ्रिकी मुलुक क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी हस्ताक्षर गरेको छ । 

नेपालले यस वर्ष (सन् २०२३)मा चार मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । मार्सल आइल्यान्ड्स र क्यामरुनभन्दा अगाडि नेपालले १६ फेब्रुअरीमा मलाबी तथा ४ मेमा नउरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । 

न्युयोर्कमा आयोजित समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई र मार्सल आइल्यान्ड्सका स्थायी प्रतिनिधि अमाटलेन एलिजाबेथ काबुआ तथा क्यामरुनका स्थायी प्रतिनिधि माइकल टेमो मोन्थेले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी बेग्लाबेग्लै संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । तीनै मुलुकले संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसलाई पनि कूटनीतिक सम्बन्ध स्थापनाबारे लिखित जानकारी दिएका छन् । 

नेपाल र बेलायतबीच सुगौली सन्धिको दुई वर्षपछिदेखि सन् १९१८ मा औपचारिक कूटनीतिक सम्बन्ध रहँदै आएको मानिएको छ । यसका आधारमा नेपालले कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय पाँच वर्षयता एक सय ८१ मुलुकसँग कूटनीतिक सम्बन्ध जोडेको हो । हालसम्म नेपालले ३३ मुलुकमा राजदूतावास स्थापना गरेको छ । 

मार्सल आइल्यान्ड्स अस्ट्रेलिया र हवाईबीच रहेको मध्य प्यासिफिक क्षेत्रमा पर्छ । ६० हजार जनसंख्या रहेको आइल्यान्ड्सको क्षेत्रफल १८१.३ वर्गकिलोमिटर रहेको छ । न्युयोर्कस्थित स्थायी नियोगका अनुसार सन् १९८६ अक्टोबरमा उक्त देश अमेरिका प्रशासित ट्रस्टिसिपबाट स्वतन्त्र भएको थियो । यसले १९९१ सेप्टेम्बर १७ मा राष्ट्रसंघको सदस्यता पाएको थियो । 

क्यामरुन दुई सय ४० जनजाति र दुई सय ३० भाषाभाषी भएको मुलुक हो । चाड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, गाबोन, इक्वेटोरियल गिनी, नाइजेरिका तथा एटलान्टिक महासागरसँग यसको सीमा जोडिएको छ । यो १९६० सेप्टेम्बर २० मा संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो ।

नेपालले १९५५ डिसेम्बर १५ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो । नेपाल ७५औँ सदस्य हो । त्यसअघि नेपालले बेलायत, अमेरिका, भारत, फ्रान्स र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको थियो । 

००७ सम्म बेलायत, अमेरिका, भारत र फ्रान्समा नेपाली दूतावास थिए । ०६३ सम्म २४ दूतावास स्थापना भए भने हाल ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । संयुक्त राष्ट्रसंघमा नेपाल दुईपटक सुरक्षा परिषद्को अस्थायी सदस्य भइसकेको छ भने सन् २०३७ देखि २०३८ को कार्यका लागि उम्मेदवारी घोषणा गरिसकेको छ । 

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने दोस्रो ठूलो मुलुक नेपाल हो । सेनाका अनुसार हाल ६ हजार ७३ जना नेपाली सुरक्षाकर्मी राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । 

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्य निर्वाचित भएको छ । आगामी वर्ष (२०२४)देखि दुई वर्षका लागि अघिल्लो साता नेपाल निर्वाचित भएको हो । नेपालले एक सय ४५ भोट पाएको थियो । 

सात कूटनीतिक नियोग नेतृत्वविहीन हुँदै 
विदेशस्थित नेपालका ६ राजदूतावास र एक संयुक्त राष्ट्रसंघीय नियोग नेतृत्वविहीन हुँदै छन् । न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राई बिदाइ भेटमा छन् । युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल स्वदेश फर्किसकेका छन् । क्यानडाका लागि राजदूत भृगु ढुंगाना, कुवेतका लागि राजदूत दुर्गाप्रसाद भण्डारी र थाइल्यान्डका लागि राजदूत गणेशप्रसाद ढकाल, जेनेभास्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणि भट्टराई, फ्रान्सका लागि राजदूत दीपक अधिकारी स्वदेश फर्किने क्रममा छन् । परराष्ट्रमन्त्री एनपी साउदले दुई साताअघि नै राजदूत नियुक्ति सिफारिस हुनै लागेको बताए पनि हालसम्म भएको छैन । 

‘राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका’अनुसार कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्नेछ । तर, सरकारले नयाँ राजदूत नियुक्ति प्रक्रिया सुरु गरेको छैन । चारवर्षे कार्यकाल पूरा गर्न लागेका सातै राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) हुन् । 

परराष्ट्र सेवाका राजदूतहरू नियुक्त हुन लागेका कारण परराष्ट्रकै वरिष्ठ अधिकारीहरूले दाबी गरेका छन् । परराष्ट्रमा राजदूतका लागि सहसचिवहरू धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, लोकबहादुर थापा, घनश्याम लम्साल, प्रकाशमणि पौडेल दाबेदार छन् । तीनजना सहसचिवलाई दिल्ली र बेइजिङस्थित नेपाली दूतावास तथा न्युयोर्कस्थित स्थायी नियोगमा उपनियोग प्रमुखका रूपमा पठाउने तयारी छ । स्रोतका अनुसार दिल्लीका लागि सहसचिव रिता धिताल, चीनका लागि सुरेन्द्रकुमार यादव र न्युयोर्कका लागि कौशलकिशोर रायलाई पठाउने तयारी छ । 

परराष्ट्र मन्त्रालयका अनुसार ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । विदेशमा परराष्ट्रका एक सय ३२ कर्मचारीका लागि दरबन्दी छ । सहसचिव चार, उपसचिव २८, शाखा अधिकृत ४८ र नासु ५३ जनाको दरबन्दी छ । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र सात प्रदेशमा जम्मा १० जना अधिकृत गरी परराष्ट्रमातहत जम्मा एक सय ५८ दरबन्दी छ । नेपालका सबै महादेश, सबै शक्तिराष्ट्र, विकास साझेदार मुलुक, श्रम गन्तव्य मुलुकमा दूतावास छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्समा नेपालको राजदूतावास छैन ।

न्युयोर्कमा धेरैको चासो
स्थायी प्रतिनिधि अमृतबहादुर राईको कार्यकाल सकिँदै गर्दा न्युयोर्कस्थित स्थायी प्रतिनिधि को आउने भन्ने चासो छ । न्युयोर्क सबैभन्दा बढी व्यस्त मिसन भएका कारण यहाँ नियुक्त हुने स्थायी प्रतिनिधिको छनोटलाई महत्वसाथ हेरिने गरिएको छ । अमृत राईअघि परराष्ट्रसचिव भएका मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, दुर्गाप्रसाद भट्टराईले स्थायी प्रतिनिधि भएर काम गरेका थिए । चार वर्षअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सहसचिव राईलाई पठाएको थियो । न्युयोर्कमा कूटनीतिक सेवाबाहिरबाट विगतमा पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय, ऋषिकेश शाह, पदमबहादुर खत्री, डा. जयराज आचार्य पनि स्थायी प्रतिनिधि भएका थिए ।

ad
ad