१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Saturday, 28 September, 2024
२o८o असार ४ सोमबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पताल गेटमा शिशु फाल्नेमध्ये एक पक्राउ, दोस्रोपटक म्याद थप गरी अनुसन्धान हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ४ सोमबार १३:o४:oo

सिराहाको लहान नगरपालिका– ३ स्थित प्रादेशिक अस्पतालको गेटमा गत १३ जेठको राति बेवारिसे अवस्थामा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार शिशु भेटिएपछि तत्काल उद्धार गरी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)लाई जिम्मा दिएर प्रहरीले फरार भएका दुईजनाको खोजतलास गर्ने क्रममा एकजनालाई पक्राउ गरी मुद्दा चलाएको हो। लहान बजार क्षेत्रबाट करिब २१ वर्षीय युवकलाई पक्राउ गरी आफूले जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतबाट पहिलोपटक सात र दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाराज भट्टले जानकारी दिए।

अस्पतालपरिसरमा मध्यरातमा केटिएम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएर करिब १६ दिनजतिकी शिशु फालेर फरार भएका थिए। प्रहरीले सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु फाल्न मोटरसाइकल चलाएर आएका पुरुषलाई लहान बजार क्षेत्रबाट गत २६ जेठमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टले बताए । शिशुको गोपनीयताको कारण पुरुषको नाम र ठेगाना खुलाउन नमिल्ने जानकारी दिँदै उनले विवाह नगरी सँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि अस्पतालको गेटमा फालेर फरार भएको खुलेको बताए।

मध्यरातमा अस्पतालको सुरक्षार्थ खटिएका सुरक्षागार्डले बच्चा रोएको सुनेपछि तत्काल अस्पतालका चिकित्सक, नर्स र प्रहरीसहितको टोलीलाई खबर गरेका थिए। नवजात शिशुको उद्धार गरी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को जिम्मामा राखिएको थियो । ओेसिएमसीको जिम्मामा रहेकी शिशुको अवस्था सामान्य रहेको र आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।