१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० जेठ ३१ बुधबार १४:४९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

हर्ककाे हर्षमा उन्मत्त धरान [तस्बिरहरू] 

Read Time : > 2 मिनेट
२०८० जेठ ३१ बुधबार १४:४९:००

खानेपानी एजेन्डाअघि सारेर चुनाव जितेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले श्रमदानबाट ४२ किलाेमिटर दूरीबाट पाइप जोडेर धरानमा खानेपानी पुर्‍याएका छन्। 

९८ दिनको लगातारको अभियानबाट बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी मंगलबार धरान क्षेत्रमा ल्याउन सफल भएका छन्। सरकारी योजना भएको भए यो योजना सम्पन्न गर्न दशकौँ वर्ष लाग्थ्यो, तर मेयर साम्पाङले ९८ दिनमा पानी धरान पुर्‍याएर उदाहरणीय काम गरेका छन्। 

गत वर्ष वर्षायाममा स्थानीय स्राेत निशान खोला, सर्दु खोलाबाट पानी संकलन गरे। तर, हिउँदमा सुकेपछि उनीप्रति नगरवासीले आलोचना पनि गरे। 

यो वर्ष वेलैमा कोकाहा खोलाको मुहान ठूलो भेटिएपछि उनी आफ्ना समर्थकसहित अभियानमा लागेका थिए। 

भिरपाखा जंगल करिब ४२ किलाेमिटर दूरी छिचोल्न सजिलो थिएन। धेरैले साम्पाङको योजनाप्रति कुरा काटे। आलोचना गरे। तर, उनी निरन्तर लागिरहे। उनका देश–विदेशका समर्थकले उत्साह जगाए। उनको अभियानमा दैनिक लाखौँ सहयोग प्रदान गरेपछि मेयर साम्पाङले असम्भव कामलाई सम्भव बनाए। 

फागुन २३ गतेदेखि सुरु भएको कोकाहा खानेपानी श्रमदान अभियान ९८ औँ दिनमा धरान पानी आइपुगेपछि उनका समर्थक र धरानवासीले खुसियाली मनाएका छन्। 

कोकाहा खोला धार्मिक हिसाबले पवित्र मानिन्छ। त्यही खोलामा स्नान गर्न धरानवासीहरू बराहक्षेत्र मन्दिरपरिसर पुग्ने गर्थे। त्यही खोलाका पानी मेयर साम्पाङले आँगनमा ल्याइदिएपछि वृद्धवृद्धाहरू, युवायुवतीहरूले मंगलबार धितमरुन्जेल नुहाए। उनीहरू बाजागाजाका साथ उपस्थित भएका थिए। 

कोकाहा खोलाको मुहान धरानको वडा नम्बर २० स्थित हात्तीसारमा नै पर्छ। उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भए पनि बिजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटी फ्लोमार्फत नै पाइपलाइन बिछ्याएर पानी ल्याएका हुन्। पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भूभाग हुँदै करिब ४२ किलोमिटर बिछ्याइएको छ। 

कठिन पहाडी भूभाग कटेर मानवबस्तीसम्म पानी आइपुगेको छ। पकुवा खोला परिसरबाट अब करिब सात किलोमिटर दूरीमा धरान खानेपानीको सुम्निमा र स्वास्तिका ट्यांकी छ।

पाइपलाइन विस्तार भइसकेकाले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्‍याइनेछ। मेयर साम्पाङको अभियानका प्रोजेक्ट मेनेजर दत्त लिम्बू रहेका छन्। मानिसले हामीलाई अनेक कुराहरू गरे, विरोध गरे, तर कोकाहाको पानी ल्याएरै छाडेको उनले बताएका छन्।

यो अभियानका लागि सरकारी पैसाको खर्च भएको छैन। विभिन्न दाताहरूले पाइप किनेर दिएका छन्। देश–विदेशमा बस्ने नागरिकले आर्थिक सहयोग गरेका छन्। प्रोजेक्ट मेनेजर दत्त लिम्बूले केही दिनअघि सार्वजनिक गरेको विवरणअनुसार आर्थिक सहयोग तीन करोड ५० लाख पुगेको छ। 

पाइप सहयोग एक करोड २० लाख भएको छ। उक्त सहयोग मेयर साम्पाङले धरानको खानेपानी व्यवस्थापन बोर्डसँग नजोडी छुट्टै परियोजना बनाएर आफ्ना समर्थकबाट सञ्चालन गरेका छन्। उनको योजना दीर्घकालीन नभएको भन्दै धरानका राजनीतिक दलहरूले भने सहयोग गरेनन्। 

धरानको चरम खानेपानी अभावलाई केही हदसम्म टार्न कोकाहाको पानी ल्याइएको र धरानको खानेपानी समस्याका दीर्घकालीन समाधानका लागि भने  सप्तकोसीको पानी ल्याइने मेयर साम्पाङले बताउँदै आएका छन्। त्यसका लागि पनि अध्ययन सुरु भइसकेको उनले बताएका छन्। 

यो योजनामा मेयर साम्पाङले उपमहानगरको बजेट खर्च गरेका छैनन्। खानेपानी व्यवस्थापनका लागि खानेपानी व्यवस्थापन बोर्डलाई दाताहरूले सहयोग गरेको पाइप र बोर्डमा भएका केही प्राविधिकहरू मात्र कोकाहा खानेपानी योजनामा प्रयोग भएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए।

उक्त योजनाको प्राविधिक क्षेत्र गोर्खा वेलफेयर ट्रस्टअन्तर्गत खानेपानी विभागकी प्रोजेक्ट सर्भेयर तथा डिजाइनर इन्जिनियर सिके राईले हेरिरहेकी िछन् । उनले दिएको जानकारीअनुसार ग्राभिटीफोर्स प्रणालीबाट पानी ल्याइएको हो। मुहान र धरानको खानेपानी ट्यांकीको भटिकल डिफेरलेन्स २०‍.२२ मिटर फरक रहेको उनले बताइन्। सुम्निमा ट्यांकीमा अलिक कम हुने, तर स्वास्तिका ट्यांकीमा पानीको फ्लो राम्रो जाने उनले बताएकी छिन्। 

पानी आउँदैन भनेर धेरै टीका–टिप्पणी भएकाले पहिले पानी धरानमा झार्न केन्द्रित भएको उनले बताइन्। मुहान सुधार गर्न, पाइपलाइन मिलाउन अझै बाँकी रहेको उनको भनाइ छ। केही दिनभित्र यी सबै काम सकेर ट्यांकी जोड्ने काम हुने उनले बताइन्। 

पानीको प्रेसर अझ बढाउन आफूले मुहानलाई अलिक माथि सार्न सुझाव पनि दिएको मुहानलाई उनको भनाइ छ। विभिन्न घुम्तीमा बिछ्याएका पाइपमा एयर लिक गर्दै अझै ठूलो प्रेसरमा पानी ल्याउने सकिने उनले बताइन्।