१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २७ शनिबार ०९:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजको मौसम : कोसी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २७ शनिबार ०९:१९:००

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ। ठूलो पानी नपर्दा र मनसुनी गतिविधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ। हिमाली भेगमा समेत गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ।  

यसैगरी, स्थानीय वायुको प्रभावका कारण आज देशको पूर्वी भेगमा मौसम बदली भएको छ। स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ। पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी विस्तारै घट्दै जाने उनको भनाइ छ। तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिविधि बढ्न सक्ने उनले बताए।    

शुक्रबार देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ। तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ। निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ।

तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन्। रासस