अहिले बैंकले पर्याप्त लगानी गर्न सकेका छैनन् । घरजग्गाको कारोबार सुस्ताएको छ । उद्योगीले आत्मदाह र आत्महत्या गर्ने क्रम चलिरहेको छ । व्यवसायीका यस्ता क्रियाकलापले नेपाल पनि आर्थिक मन्दीमा फसिसकेको संकेत गर्दछ ।मन्दीको अर्थ सुस्त हुनु हो । अर्थविद्ले देशको अर्थव्यवस्थामा लगातार दुईतिहाइले जिडिपी ग्रोथ घट्नुलाई प्राविधिक रूपमा मन्दी भन्ने गरेका छन् ।
मन्दीमा न नागरिकसँग सामान किन्ने पैसा हुन्छ, न व्यवसायीसँग बेच्ने सामान । बैंकसँग सेवाग्राहीलाई दिन सक्ने पैसा हुँदैन । ऋण पाइहाले पनि त्यसको ब्याजदर चर्काे हुन्छ । यस्तो वेला महँगी र बेरोजगारी तीव्र बढ्छ । मानिसहरूको आम्दानी कम हुन्छ । सेयरबजारमा लगातार गिरावट आउँछ । नेपालको अवस्था हेर्ने हो भने पनि बिस्तारै माथि उल्लेख गरेकै अवस्थामा जाँदै गरेको संकेत देखिन्छ । आर्थिक मन्दीमा जकडिएका देशको उदाहरण हेरेर आफूलाई सुधार्ने ठाउँ हुँदाहुँदै पनि नेपाल चुप लागेर बसेको देखिन्छ । यहाँ चर्चा गरिने विषय पनि अन्तर्राष्ट्रिय जगत्मा प्रयोगमा आइसकेको युनिभर्सल बैंकिङ प्रणालीबारे हो ।
के हो युनिभर्सल बैंक ? : एउटै छानामुनि सम्पूर्ण वित्तीय सेवा दिने बैंक नै युनिभर्सल बैंक हो । जसले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, मर्चेन्ट बैंक, बिमालगायत वित्तीय क्षेत्रले दिने सुविधा प्रदान गर्दछ । म्युचुअल फन्ड, फ्याक्टरिड, क्रेडिट कार्ड, आवास वित्त, सवारी कर्जा, अन्य साना कर्जा, सेयर कारोबारलगायत सुविधा दिन सक्ने ठूलो लगानी भएको वित्तीय संस्था नै युनिभर्सल बैंक हो । यसलाई वित्तीय सुपरमार्केट पनि भनिन्छ । सामान्यतया युनिभर्सल बैंक प्रायः ठूला बैंकद्वारा सञ्चालन हुन्छ । ती बैंकले विभिन्न कम्पनीलाई ठूलो परिमाणमा ऋण उपलब्ध गराउँदछन् । यसको परिणामस्वरूप बैंकका लगानीकर्ता पनि त्यस्ता कम्पनीको सुशासनलागयत विषयमा सहभागी हुने गर्छन् । बैंकको शाखा स्वदेश र विश्वभर सञ्चालन हुन्छन् ।
युनिभर्सल बैंकिङ प्रणालीअन्तर्गतको बैंक ठूलो हुने भएकाले सामान्य मन्दीमा पनि वित्तीय स्थायित्व कायम हुन्छ । अतः देशलाई आर्थिक मन्दीबाट माथि उठाउन यो प्रणाली लागू गर्नुपर्छ ।
सन् २००८ मा संसारभर आर्थिक मन्दी आयो । त्यो वर्ष आर्थिक संकटले अमेरिका, युरोपजस्ता ठूला अर्थतन्त्र भएका देशसमेत गाँजिए । अमेरिकामा मात्रै ४ सयभन्दा बढी बैंक बन्द भए भने त्यहाँका जनताले महँगीको मार खेपे । त्यही संकटले युनिभर्सल बैंकको अवधारणा विकास गरायो । बैंक तथा वित्तविज्ञहरूले समाधानको बाटो खोज्दै जाँदा नयाँ अवधारणाको विकास युनिभर्सल बैंकिङ प्रणाली निकालेका थिए । साथै, अन्तर्राष्ट्रिय जगत्मा पुँजी, तरलतासम्बन्धी निमयन व्यवस्थापन तथा अतिरिक्त बजार पूर्वाधारमा सुधार गरेपछि वित्तीय क्षेत्रमा सुधार आएको थियो । बिस्तारै बैंकहरू परम्परागत अवधारणाभन्दा फरक तरिकाले युनिभर्सल बैंकतर्फ अग्रसर भए । यो विशेषगरी युरोपेली मुलुकबाट सुरु भएको प्रणाली हो ।
सामान्यतया युनिभर्सल बैंकका तीन मोडेल हुन्छन् । कम्प्लिट इन्टिग्रेसन प्यारेन्ट, प्यारेन्ट बैंक विथ नन–बैंक अपरेटिङ सब्सिडियरिज र होडिल्ङ कम्पनी प्यारेन्ट विथ नन–बैंक अफिसिएट्स । जर्मनीलगायत धेरै युरोपेली मुलुकले सीमित संस्थागत पृथकतासहितको नियमनकारी मान्यता भएको पहिलो मोडेल अवलम्बन गरेका छन् ।
भारतले दोस्रो प्रकारको संरचनात्मक मोडेल अवलम्बन गरेको छ भने अमेरिकाले तेस्रो प्रकारको युनिभर्सल बैँकिङ संरचनाको अभ्यास गरिरहेको छ । जसमा बैंक र गैरबैंक संस्थाले एउटै वित्तीय होल्डिङ कम्पनीअन्तर्गत काम गर्दछन् । भारतले सन् २००८ को वित्तीय संकटअघिसम्म युनिभर्सल बैंकिङलाई प्रोत्साहन गरेको भए तापनि त्यसपछि बजारलाई संकट र ‘टु बिग टु फेल’ अवधारणलाई ध्यानमा राखेर बैंकिङ व्यवसायले आफू परिचित नभएको र फाइदा नहुने क्षेत्रको व्यवसायमा हात हाल्न नहुने कुरामा ध्यान दिन थालेको छ । भारतमा आइसिआइसीआई बैंक र एसबिआई बैंकले मात्र युनिर्सल बैंकिङ अवलम्बन गरेका छन् ।
नेपालमा पनि केही समययता युनिभर्सल बैंकिङ प्रणालीबारे चर्चा हुन थालेको यियो । ०७४ साल २२ पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीतिले बैंकिङ प्रणालीलाई युनिभर्सल बैंकिङतर्फ अभिमुख गराउन उपयुक्त संरचनाको व्यवस्था गर्ने उल्लेख गरेको थियो । आर्थिक वर्ष ०७३/७४ देखि ०७७/७८ सम्मको योजना राखिएको यो रणनीतिअनुसार चार आर्थिक वर्षभित्रमा युनिभर्सल प्रणालीमा लगिसक्नुपर्ने छ । यसैगरी, युनिभर्सल बैंकिङ प्रणालीलाई अगाडि बढाउन वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा वर्गीकरणको व्यवस्था हटाउने उल्लेख गरिएको थियो ।
युनिभर्सल प्रणालीमा लैजाँदा यो वर्गीकरणसमेत हटाउने र संस्थाको नामपछि सबैले बैंक लेख्न पाइने व्यवस्था गरिने परिकल्पना पनि गरिएको हो । तर, व्यवहारमा भने कुनै काम देखिँदैन । आर्थिक मन्दीले सबैजसो क्षेत्रमा असर गरेका वेला बैंक र बैंकका ग्राहक दुवैलाई फाइदा हुने प्रणाली नेपालले लागू गर्न नसक्नु उचित होइन । युनिभर्सल बैंकिङ प्रणालीभित्र एउटै छानामुनि सम्पूर्ण वित्तीय सरसल्लाहसहितको सुविधा पाइने हुनाले ग्रहकलाई सजिलो हुने र बैंकको लागत पनि कम हुन्छ ।
बैंकले ग्राहकको कर्जा इतिहास, वित्तीय विवरणका बारेमा एकपटक प्रोफाइल बनाउँदा विभिन्न समयमा सेवा प्रवाहका वेला काममा आउँछ, जसले गर्दा वेलावेलामा अद्यावधिक गरिरहनु पर्दैन र बैंकको खर्च कम हुँदा बैंक र ग्राहक दुवैलाई फाइदा हुन्छ । युनिभर्सल बैंक ठूलो हुने भएकाले अन्तर्राष्ट्रियस्तरको ज्ञान बैंकको शाखा भएको सबै ठाउँका ग्राहकले उपभोग गर्न पाउँछन् ।
त्यसैगरी, युनिभर्सल बैंकिङ प्रणाली बैंकका आफ्ना विभिन्न शाखामार्फत सहजै बित्रीm गर्न सक्छ । उनीहरूले आफ्ना पुराना ग्राहकलाई नै नयाँ वित्तीय सेवा किन्न आग्रह गरी बेच्न सक्छन् । उदाहरणका रूपमा, नेपाल बैंक लिमिटेडले आफ्ना भइरहेका खातावालालाई घरकर्जा, बिमा, म्युचुअल फन्ड आदि खरिद गर्न आग्रह गर्न सक्छ । युनिभर्सल बैंकिङ प्रणालीअन्तर्गतको बैंक ठूलो हुने भएको हुनाले सामान्य मन्दी हुँदा त्यसको सामना गर्न सक्ने हुनाले वित्तीय स्थायित्व कायम हुन्छ ।
त्यसैगरी, सेयर बजारमा पनि जनताले अनावश्यक बढी रकम ब्रोकरलाई तिरिरहेका छन् । त्यसको समाधानमा पनि युनिभर्सल बैंक उपयुक्त माध्यम हुन सक्छ । यस्तै लघुवित्तको विषय पनि सार्वजनिक भएको छ । बैंकबाट कर्जा लिएर लघुवित्तले नाफा खाएर ग्राहकलाई कर्जा प्रवाह गर्नुभन्दा सीधै बैंकले आर्थिक विपन्न भएकाहरूलाई सहज रूपमा कर्जा प्रदान गरेको भए दुवैतर्फ लाभ लिन सक्ने थिए । यसको समाधान पनि युनिभर्सल बैकिङ नै हुन सक्छ । अतः देशलाई आर्थिक मन्दीबाट माथि उठाउन युनिभर्सल बैंकिङ प्रणाली लागू गर्न आवश्यक छ ।
(प्याकुरेल प्राध्यापक हुन्)