मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० जेठ २२ सोमबार १५:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यकर्ता पक्राउपछि राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० जेठ २२ सोमबार १५:४६:००

कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले महेन्द्रनगरमा चक्काजाम गरेको छ। राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महेन्द्रनगरमा चक्काजाम गरेको हो। 

बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्काजाम गरेको हो। कञ्चनपुर प्रहरीले आइतबार साँझ राप्रपा कार्यकर्ता जयकिसन बोहरा (ज्याकी)लाई विनाकारण पक्राउ गरेको विरोधमा बाध्य भएर सडकमा आएको राप्रपा नेताहरूले बताएका छन्। 

१५ जेठ गणतन्त्र दिवसकै दिन राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा जुत्ता प्रहार गरेका थिए। सोही प्रकरणमा प्रहरीले १८ जेठमा जयकिसन बोहरा (ज्याकी) र किसन बोहरालाई छाडेको थियो। फेरि कागज गराएर छाडेका व्यक्तिलाई धरकपड गर्दै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको भन्दै राप्रपाले आइतबार नै आन्दोलन घोषणा गरेको थियो।

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले पक्राउ गरेका कार्यकर्ता जयकिसन बोहरा (ज्याकी)लाई प्रहरीले नछाडेपछि बाध्य भएर सडकमा उत्रिएको बताए। 

‘हामीले हिजैदेखि आज सोमबार दिउँसो १२ बजेसम्म रिहा गर्न प्रहरीलाई अल्टिमेटम दिएका थियौँ,’ अध्यक्ष चन्दले भने, ‘तर, प्रहरीले छाेडेन, प्रहरीले राप्रपाप्रति किन प्रतिशोध साँधिरहेको छ।’ गणतन्त्रमा विरोध गर्न पाउनेदेखि वाक स्वतन्त्र हुनुपर्ने भए पनि सरकार र राष्ट्रपतिको विरोध गर्दैमा पक्राउ गरिहाल्नुपर्ने कारण नै नरहेको अवस्थामा पार्टीले संघर्षको कदम चाल्नुपर्ने बाध्यता आएको  उनले बताए। 

अध्यक्ष चन्दले आमउद्योगी–व्यवसायीलाई यो कारण सबै प्रहरीले निम्त्याएकाले त्यसको जिम्मेवारी प्रहरी तथा सरकारले लिनुपर्ने बताए। राप्रपा नेता–कार्यकर्ताले बोहराको रिहाइको माग अघि सार्दै नाराबाजी गर्दै सडक जाम गरेका छन्।

राप्रपाको चक्काजामका कारण महेन्द्रनगरदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने यात्रु मारमा परेका छन्। राप्रपाका केन्द्रीय सहप्रवक्ता पूर्णबहादुर चन्दले प्रहरीले नै सिर्जना गरेको समस्याले पार्टी बाध्य भएर सडकमा उत्रिनुपरेको बताए। 

‘गणतन्त्रमा सत्ताको विरोध गर्न पाउनुपर्छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्री र राष्ट्रपतिको फोटोमा जुत्ता प्रहार गरेर विरोध जनायाैँ, तर त्यही स्थानमा एमाले युवा विद्यार्थीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्‍यो, उनीहरूलाई त केही गरेन।’ 

कञ्चनपुर प्रहरी नेतृत्वको विभेदले पार्टी सडकमा आएको उनकाे भनाइ छ । सोमबारसम्म पनि बोहरालाई रिहा नगरे मंगलबारदेखि थप कञ्चनपुरमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। एकपटक सोही प्रकरणमा पक्राउ गरेका व्यक्तिलाई पटकपटक पक्राउ गर्ने कार्य प्रतिशोधपूर्ण भएको स्थानीयको ठहर छ। विश्व वातावरण दिवसकै दिन राप्रपा कार्यकर्ता पक्राउ गरेको विरोधमा ठाउँठाउँमा टायर बालेर प्रहरीको विरोधमा उत्रिएका छन्। 

कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बोहरालाई केही विषयमा सोधपुछका लागि ल्याइएको बताए। बोहराको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता डाँगीले बताए।