
एमालेका सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनै पनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपालले कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा आफ्नो राष्ट्रियता बन्धक राख्न नमिल्ने बताए। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बोलेको बंगलादेशसँगको बाटो नेपालले १९९७ मै पाइसकेको भट्टराईले उल्लेख गरे।
‘उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजरात आएको वेलामै त्यो बाटो हामीले पाएका छौँ। प्रदीप ज्ञवाली र जयशंकरको बीचमा भएको स्टेटमेन्टले सीमा समस्या हल गर्ने ज्वाइन्ट कमिसनबाट हल गर्ने भनेको छ। यो कुनै नयाँ कुरा होइन । हामी कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा हाम्रो राष्ट्रियता बन्धक राख्न सक्दैनौँ,’ उनले भने।
सांसद भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा समस्या समाधान, इपिजी प्रतिवेदन, सार्कको सम्मेलनको सम्बन्धमा कुनै कुराकानी नभएको भन्दै आपत्ति जनाए।
जवाफमा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भूमिसम्बन्धी कुनै विकल्पबारे आफूले कुनै कुरा नगरेको प्रस्टीकरण दिए।