मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण उप्रेती काठमाडाैं
२०८० जेठ २१ आइतबार ०६:४३:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतको ओडिसामा रेल दुर्घटना : २८८ को ज्यान गयो, हजारभन्दा बढी घाइते

Read Time : > 2 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
२०८० जेठ २१ आइतबार ०६:४३:००

२२०० यात्रु बोकेका तीन रेल ठोक्किँदा भारतको ओडिसामा भयानक दुर्घटना

भारतको पूर्वी क्षेत्रमा अवस्थित ओडिसा राज्यको बालासोर जिल्लामा शुक्रबार साँझ ७ बजे भएको रेल दुर्घटनामा ठूलो हताहती भएको छ । शनिबार साँझसम्म दुई सय ८८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सीले एएनआईले जनाएको छ । दुर्घटनामा करिब हजारजना घाइते भएका छन् । घाइतेमध्ये ५६ जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

घटनामा तीन रेलहरू– सालीमारबाट चेन्नई जाँदै गरेको कोरोमन्डल एक्सप्रेस ट्रेन, बेंग्लुरुको यशवन्तपुरदेखि कोलकातानजिक हावडा गइरहेको एसएम विश्वेश्वरैया–हावडा सुपरफास्ट एक्सप्रेस र एक ढुवानी रेल संलग्न थिए । तीनैवटा रेलमा दुई हजार दुई सय यात्रु रहेको रेल अधिकारीलाई उद्धृत गरेको न्युयोर्क टाइम्सले लेखेको छ । 

बिबिसी हिन्दीका अनुसार शुक्रबार दिउँसो ३:२० मा कोरोमन्डल एक्सप्रेस ट्रेन हावडानजिकैको सालिमारबाट चेन्नईका लागि छुटेको थियो । भारतमा लामो दूरीको रेल सेवा दिने कोरोमन्डल एक्सप्रेसको सो रेल बालासोर, कटक, भुवनेश्वर, विसाखापट्टनम र विजयवाडा हुँदै चेन्नई पुग्नुपर्ने थियो । साँझ ७ बजे बालासोरनजिकै बहनगा बजार रेल्वे स्टेसननजिक पुग्यो । यात्रातालिकाअनुसार रेल बाहनगा स्टेसनमा नरोकिएर सीधै अगाडि बढ्नुपर्ने थियो ।

तर, यस क्रममा स्टेसनको मुख्य लाइनको सट्टा ‘लुप’ लाइनतिरबाट अघि बढ्यो । लुप लाइनमा पहिलेदेखि एक कार्गो रेल रोकिराखिएको थियो । तीव्र गतिको कोरोमन्डल एक्सप्रेसले पछाडिबाट गुड्स ट्रेनलाई ठक्कर दियो । रेल्वेको प्राविधिक भाषामा यसलाई ‘हेड–अन कोलिजन’ भनिन्छ, जुन प्रायः विरलै देखिन्छ ।

ठक्करले कोरोमन्डल एक्सप्रेसका २३ मध्ये १२ डिब्बा पटरीबाट उछिट्टिन पुयो । त्यसरी उछिट्टिएका डिब्बा छेउको डाउन लाइनमा पुग्यो । दुर्भाग्यवश त्यही समय बेंग्लुरुबाट आउँदै गरेको एसएम विश्वेश्वरैया–हावडा सुपरफास्ट एक्सप्रेस ट्रेन त्यही ट्रयाक हुँदै गुर्जिरहेको थियो । चलिरहेको यशवन्तपुर–हावडा एक्सप्रेससँग ठोक्किन पुग्यो । यसले दुर्घटनाको हताहती बढाउन सहयोग गर्‍यो । 

२२ डिब्बाको यस ट्रेनको धेरैजसो हिस्सा रेल दुर्घटनास्थलभन्दा बाहिर निस्किन लागेको थियो । तर, पछाडिबाट तीव्र गतिमा गुड्किँदै आएको कोरोमन्डल एक्सप्रेस रेलका डिब्बाले भागमा एसएम विश्वेश्वरैया–हावडा सुपरफास्ट एक्सप्रेस ट्रेनलाई ठक्कर दिइछाड्यो । यस ठक्करका कारण दोस्रो रेलका तीनवटा डिब्बा पनि पटरीबाट बाहिरिए ।

रेल मन्त्रालयका प्रवक्ता अमिताभ शर्माले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यो घटना शुक्रबार साँझ ७ बजे भएको र दुर्घटनामा दुवै रेलका जम्मा १५ वटा डिब्बा पटरीबाट खसेको जानकारी दिएका छन् ।

रेलहरूको गतिले हताहती बढायो 
‘अल इन्डिया रेल्वे मेन्स फेडरेसन’का महामन्त्री शिवगोपाल मिश्राले बिबिसी हिन्दीसँगको बोल्ने क्रममा करिब १५ दिनअघि मात्रै यस रुटमा चल्ने रेलको गति अधिकतम १३० किलोमिटर प्रतिघन्टाको गतिमा बढाइएको जानकारी दिए । मिश्राका अनुसार दुर्घटना हुँदा कोरोमन्डल एक्सप्रेसको गति करिब १२८ किलोमिटर प्रतिघन्टा थियो । त्यस्तै, विश्वेश्वरैया–हावडा एक्सप्रेसको गति पनि १२५ किलोमिटर प्रतिघन्टाको गतिमा गुडिरहेको थियो । यो गतिका कारण कोरोमन्डल एक्सप्रेसलाई थप क्षति पुग्यो । 

तीव्र गतिकै कारण कोरोमन्डल एक्सप्रेसको उछिट्टिएको डिब्बाले अर्को ट्रामा गुडिरहेको विश्वेश्वरैया–हावडा एक्सप्रेसको पछाडि भागलाई ठक्कर दिन सकेको थियो, जब कि सो रेलको अधिकांश भाग दुर्घटनास्थल पार गर्न लागिसकेको थियो । रेलहरू यति जोडले ठक्कर खाएका थिए कि उद्धारकर्मीहरू पीडितसम्म पुग्न डिब्बाहरू काट्ने मेसिन प्रयोग गर्नुपरेको थियो । 

कोरोमन्डल एक्सप्रेसलाई कुन खराबीले मेन लाइन छाडेर लुप लाइन छुने अनुमति दियो भन्ने कुराको प्रश्न उठेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण गर्दै ‘आफ्नो परिवारजन गुमाएकाको दुःखमा सरकार सामेल भएको’ बताउँदै ‘घटनाका सबै पहेलुको जाँचको निर्देशन’ दिएका छन् । साथै, प्रधानमन्त्री मोदीले दोषीलाई कडाभन्दा कडा सजाय दिइने प्रतिबद्धता जनाएका छन् । 

उता विपक्षी दलका नेताहरूले भने सरकारले रेलको सुरक्षामा पर्याप्त काम नगरेको आरोप लगाएका छन् । केन्द्रीय रेलमन्त्री रहिसकेकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनालाई लिएर सरकारमाथि प्रश्न गरेकी छिन् । दुर्घटनास्थल पुगेर उनले रेलमा ‘कोलिजन डिभाइस’ (टक्कर रोक्न संयन्त्र) लगाएको भए घटना नै नहुने बताइन् । ‘म मन्त्री हुँदा उन्टी कोलिजन डिभाइस तयार गरिएको थियो । यसको उद्देश्य एउटै ट्रयाकमा दुई रेल आउँदा तिनलाई रोक्ने थियो,’ उनले भनिन् । 

भारतमा भएका अन्य  ठूला रेल दुर्घटना

२०१६ नोभेम्बर : कानपुरनजिक इन्दोर–पटना एक्सप्रेसको १४ डिब्बा रेल लिकबाट बाहिरिँदा १५० को मृत्यु भएको थियो । 

२०१० मे : पश्चिम बंगालमा एक यात्रुवाहक रेल लिकबाट बाहिरिएपछि कार्गो रेलले हान्दा १४५ को मृत्यु भएको थियो । त्यसवेला सरकारले सशस्त्र माओवादी विद्रोहीहरूले रेलको लिक बिगारेकाले उक्त घटना भएको आरोप लगाएको थियो । 

२००५ अक्टोबर : एक यात्रुवाहक रेल तत्कालीन आन्ध्र प्रदेश (हाल तेलंगाना) राज्यको भेलिगोन्डा सहरमा दुर्घटना हुँदा १११ को मृत्यु भएको थियो । ठूलो बाढीले रेल ट्र्याक बगाएपछि उक्त दुर्घटना भएको थियो । 

२००२ सेप्टेम्बर : कोलकाताबाट दिल्ली जाँदै गरेको रेल पटनाको दक्षिणतर्फ लिकबाट बाहिरिएर नदीमा खस्दा १२१ मानिसको मृत्यु भएको थियो । 

१९९९ अगस्ट : सन् १९९९ अगस्टमा पश्चिम बंगालमा भएको रेल दुर्घटनामा २८५ जना मारिएका थिए ।

१९९५ अगस्ट : पश्चिम बंगालमा भएको रेल दुर्घटनाको ठ्याक्कै पाँच वर्षअघि सन् १९९५ अगस्टमै दुई रेल ठक्कर खाँदा ३५० को ज्यान गएको थियो । 

१९८१ : भारतमा हालसम्मकै ठूलो हताहतीयुक्त रेल दुर्घटना भएको थियो । त्यो दुर्घटना नेपालबाट बहँदै बिहार पुगेको बागमती नदीको पुलमाथि गुडिरहेको रेल नदीमा खस्दा झन्डै ८०० को ज्यान गएको थियो, जसमध्ये धेरैको शव फेला परेन । उक्त रेल दुर्घटनालाई त्यो समय आएको आँधीलाई जिम्मेवार मानिन्छ ।

एजेन्सीको सहयोगमा