१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
पर्शुराम काफ्ले नयाँदिल्ली
२o८१ बैशाख ३१ सोमबार o६:१o:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जटिलता आउने आशंकाबीच परिणाममुखी  भ्रमण : प्रधानमन्त्री 

Read Time : > 4 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१o:oo

- प्रधानमन्त्री मध्यप्रदेशमा, आज स्वदेश फर्किँदै
- सीमाबारे मोदीकै प्रस्ताव, विकल्पमा छलफल

चार दिवसीय भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीहरूमा जटिलता आउन सक्ने आशंकाबीच भ्रमण सफल र ऐतिहासिक भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले नै अग्रसरता लिएपछि परिस्थिति सहज भएको र समग्रमा भ्रमण परिणाममुखी भएको उनले सुनाए । 

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ताको भोलिपल्ट शुक्रबार मध्यप्रदेश प्रस्थान गर्नुअघि होटेल आइसिटी मौर्यमा प्रधानमन्त्री प्रचण्डले पत्रकारमाझ भने, ‘नेपालमा अलिकति नकारात्मक सोच हाबी छ । नेता, पाठक, श्रोता सबै उस्तै भएर हो कि ! तर, यहाँ धेरै नै महत्वपूर्ण कुराकानी भयो । धेरै राम्रो सुरुवात भयो । प्रधानमन्त्रीले भ्रमण धेरै नै महत्वपूर्ण र धेरै राम्रो सुरुवात भएको सुनाए, जुन विषय उनले बिहीबार हैदराबाद हाउस र नेपाल–भारत व्यापार सम्मेलनमा पनि भनेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार तीन कारणले भ्रमण ऐतिहासिक भएको छ । पहिलो, दीर्घकालीन ऊर्जा व्यापार सम्झौता धेरै नेपालीको चाहना थियो, यो दुई देशको सम्बन्धमा पछिल्लो ब्रेक थ्रु हो । बंगलादेश–भारत–नेपाल त्रिपक्षीय विद्युत् व्यापारमा भएको समझदारी पनि महत्वपूर्ण उपलब्धि हो । दोस्रो, भारतले नेपाललाई हवाई प्रवेश रुट (नेपालगन्ज) दिन सकारात्मक जवाफ दिएको छ । र, तेस्रो, सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री मोदीले नै जोड दिए । ‘यसकारण मेरा लागि यो भ्रमण ऐतिहासिक रह्यो,’ प्रचण्डको भनाइ थियो ।

प्रचण्डले तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणमा भएको सहमति पनि महत्वपूर्ण भएको सुनाए । भारतसँग ऊर्जा व्यापार सम्झौताले नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि विगतको डर हटेको उनको विश्लेषण थियो । 

‘भारतमा ऊर्जा व्यापार गर्ने अवस्था विगतमा थिएन । बजार छैन भनेर नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ता विगतमा डराए । अब लगानीकर्ताको डर हराउने भयो । अब ऊर्जा क्षेत्रमा उत्साहजनक रूपमा लगानी आउँछ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । नेपालले ऊर्जा व्यापारभन्दा ऊर्जा खपतमा पनि जोड दिने प्रचण्डको भनाइ छ ।

भारतले नेपालमा विदेशी (चिनियाँ) लगानीकर्ता तथा ठेक्का प्रक्रियामा चिनियाँ सामेल भएर उत्पादित बिजुली खरिद गर्न अरुचि देखाउँदै आएको छ । यस विषयमा पनि प्रचण्डले मोदीसँग एकान्त वार्तामा कुराकानी गरेका छन् । उनका अनुसार ग्लोबल टेन्डरबाट बन्ने विद्युत् खरिदमा भारत तयार भएको छ । 

‘मैले औपचारिक र एकान्त वार्तामा पनि भनेँ कि ग्लोबल टेन्डरका क्रममा जोसुकैले पनि ठेक्का पाउने अवस्थामा उत्पादित बिजुली लिन्न भन्न भएन । विदेशी (चिनियाँ) लगानीबाट उत्पादित बिजुली नकिन्ने भन्ने त छ, तर ग्लोबल टेन्डरबाट आएका विदेशी कम्पनी सामेल भएर उत्पादित बिजुली लिनुपर्छ भन्ने कुरा हुँदा यसमा हाम्रो सहमति भयो,’ प्रचण्डले भने, ‘अब विदेशी ठेकेदार कम्पनीहरू सामेल भएर उत्पादित बिजुली व्यापारका लागि बाटो खुल्यो । हिजोको वार्तापछि अब बाटो खुल्यो ।’ 

असहज भएको त्यो भेटवार्ता
दिल्ली आएको साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्रासँगको भेटवार्तामा सहज अनुभूति नभएको उनले संकेत गरे । डोभाल र क्वात्राले प्रधानमन्त्रीसँग बुधबार साँझ ६ बजे प्रधानमन्त्रीसँग पहिलो शिष्टाचार भेट गरेका थिए । 

स्रोतका अनुसार डोभालसँग भेट तय भए पनि उनीसँगै विदेशसचिव आउँछन् भन्ने प्रचण्डको अनुमान थिएन । एकान्त संवाद तय भएकोमा क्वात्रा पनि आएपछि प्रधानमन्त्रीले मुख्यसचिव शंकरदास बैरागी र परराष्ट्रसचिव भरतराज पौड्याललाई पनि साथमा राखेका थिए । तर, मुख्यसचिव र परराष्ट्रमन्त्री साथमा नहुँदा उनीहरूलाई प्रधानमन्त्रीको सचिवालय टिमले खोज्नुपरेको थियो । 

‘प्रधानमन्त्रीकहाँ डोभाल र क्वात्रा आइसक्दा मुख्यसचिव शंकरदास बैरागी र परराष्ट्रसचिव भरतराज पौड्याल होटेल परिसरमा हुनुहुन्थ्यो, प्रधानमन्त्रीकहाँ छोरीबाहेक कोही थिएन,’ प्रधानमन्त्रीका एक टिम सदस्यले सुनाए, ‘प्रधानमन्त्रीले खोजेपछि उहाँहरूलाई खोजेर लैजानुपर्‍यो ।’ 

प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई उक्त भेटवार्ताको विषयवस्तु सुनाएनन्, तर सहज नभएको स्पष्ट रूपमा सन्देश दिए । भेटवार्तापछि साँझ नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा जाँदा प्रधानमन्त्रीले आफ्नो अनुहार उज्यालो नभएको सुनाए । ‘बीचमा जटिलता आउने हो कि भन्ने थियो, तर कुल मिलाएर राम्रो भयो,’ प्रधानमन्त्री प्रचण्डले डोभाल र क्वात्रासँगको भेटलाई संकेत गर्दै भने । तर, उनले जटिलता के–के विषयमा कसरी आउन लागेको थियो भन्ने स्पष्ट पारेनन् । 

समकक्षी मोदीसँग एकान्त संवाद तीनपटक भएको र त्यसले परिस्थिति सहज बनाएको प्रचण्डको भनाइ थियो । ‘मोदीजीसँग मेरो तीनपटक एक्लाएक्लै कुराकानी भयो । पहिला २०–२५ मिनेट कुराकानी भयो । त्यसपछि बीचबीचमा पाँच–सात मिनेट÷पाँच–सात मिनेट एकान्त कुराकानी भयो । हाम्रोबीचमा सहमतिको वातावरण बनाउन मोदीजीले नै पहल गर्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले सुनाए । 

प्रधानमन्त्री प्रचण्डको भनाइमा मोदीको ध्यान नेपालको स्वच्छ नवीकरणीय ऊर्जामा थियो । हाइड्रोजन ऊर्जाका लागि पनि स्वच्छ ऊर्जा आवश्यक रहेको तथा भविष्यमा नेपाल र भारतबीच सहकार्य हुन सक्ने प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्रीको भ्रमणबारे भारतीय दैनिक पत्रिकाले शुक्रबार प्रमुखताका साथ समाचार दिएकोमा पनि प्रधानमन्त्री प्रचण्ड प्रसन्न थिए । ‘भारतको मेनलाइन मिडियाले कुनै पनि प्रधानमन्त्रीको भ्रमण यति महत्वसाथ कभर गरेको हुन्नथ्यो, यसपटक भयो,’ प्रधानमन्त्री प्रचण्डले भने । 

लो अल्टिच्युड हवाई प्रवेश बिन्दु भारतले नेपालगन्जबाट दिने सहमति भएको प्रचण्डले सुनाए । ‘हामीले हाई अल्टिच्युडमा महेन्द्रनगरबाट हवाई रुट दिन भन्यौँ । अहिले लो अल्टिच्युडमा सहमति भयो । बाँकी कुरा सकारात्मक छ,’ प्रचण्डको भनाइ थियो । 

सीमाबारे मोदीकै प्रस्ताव, विकल्पमा छलफल
प्रधानमन्त्री प्रचण्डले सधैँ सीमाको विषय नेपालले उठाउँदै गरेकोमा यसपटक मोदीले सधैँका लागि यो विषय समाधान गर्नुपर्ने बताउनु आफैँमा ‘ब्रेक थ्रु’ भएको टिप्पणी गरे । ‘कहिल्यै पनि सीमाका विषयमा मोदीजीले आफ्नो मुखबाट भन्नुभएको थिएन, हामीहरूले नेपालमा भन्दै आएका थियौँ,’ प्रचण्डको भनाइ थियो, ‘अहिले उहाँ आफैँले सधैँका लागि यो विषय समाधान गर्नुपर्छ । संवाद सुरु गरौँ भन्नुभयो, यो पनि ब्रेक थ्रु नै हो ।’

प्रधानमन्त्रीले नेपाल–भारत सीमा समस्या समाधानका लागि विकल्पमा छलफल भएको पनि सुनाए । भारत र बंगलादेशबीच २०१५ जुन ६ मा भएको सीमा सम्झौताको एउटा मोडल नेपाल–भारत सीमा समस्या समाधानका लागि उपयुक्त हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘हामीलाई बंगलादेश पुग्ने सीधा बाटो चाहिएको छ । विज्ञहरूले यो विषय उठाउँदै आएका छन् । यो पनि विकल्प हुन सक्छ । अथवा त्यहीँ (कालापानी, लिम्पियाधुरा)मै केही विकल्प हुन सक्छ । जे होस् विकल्पबारे सोच्न सुरु भयो,’ प्रधानमन्त्रीले सुनाए, ‘सीमाको विषय राखिराख्यो भने सम्बन्ध सहज हुँदैन भन्ने कुरा भयो । विकल्प हुन सक्छन् । त्यसमा जानुपर्छ वा त्यहीँ पनि केही हुन सक्छ । हाम्रोबीचमा सिर्जनात्मक बहस सुरु भयो ।’

इपिजी : विवादतिर लागिएन
प्रधानमन्त्री प्रचण्डले नेपालमा इपिजीको प्रतिवेदनबारे बढी गम्भीरतापूर्वक लिइएको, तर यसमा अहिले विवाद गर्नु नपर्ने बताए । मोजीसँग कुराकानी सहज बनाउन इपिजीको प्रतिवेदनबारे कुराकानी नगरेको उनले बताए । ‘कन्स्ट्रक्टिभ कुरा गरौँ भन्ने थियो । यो विषय (इपिजीको प्रतिवेदन) राखेर नेपाल–भारत सम्बन्ध राम्रो हुँदैन भने किन गर्ने भन्ने भयो । यसमा छलफल भएन,’ प्रधानमन्त्रीले भने, ‘यो विषय उठाएर माहोल बिगार्न लागिएन । यो विवाद गर्ने विषय पनि होइन ।’ 

तीन वर्षयता रोकिएको गोर्खा भर्तीबारे मोदीसँग अनौपचारिक कुराकानी भएको प्रधानमन्त्रीको भनाइ थियो । तर, यसबारे भएको संवादबारे प्रधानमन्त्रीले थप बताएनन् । ‘यसबारे अनौपचारिक रूपमा कुराकानी भएको छ । पछि तपाईंहरूलाई यसबारे बताउनेछु,’ प्रधानमन्त्रीको टिप्पणी थियो । 

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर निर्माणमा तल्लो शारदा ब्यारेजको पानी विवादमा अवरोध हुँदै आएको छ । तर, अहिले पञ्चेश्वरको बहस नयाँ रूपमा प्रवेश गरेको उनको भनाइ छ । 

प्रधानमन्त्रीको बुझाइमा तीन कारणले भ्रमण सफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार तीन कारणले भ्रमण ऐतिहासिक भएको छ । पहिलो, दीर्घकालीन ऊर्जा व्यापार सम्झौता धेरै नेपालीको चाहना थियो, यो दुई देशको सम्बन्धमा पछिल्लो ब्रेक थ्रु हो । बंगलादेश–भारत–नेपाल त्रिपक्षीय विद्युत् व्यापारमा भएको समझदारी पनि महत्वपूर्ण उपलब्धि हो । दोस्रो, भारतले नेपाललाई हवाई प्रवेश रुट (नेपालगन्ज) दिन सकारात्मक जवाफ दिएको छ । र, तेस्रो, सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री मोदीले नै जोड दिए । ‘यसकारण मेरा लागि यो भ्रमण ऐतिहासिक रह्यो,’ प्रचण्डको भनाइ थियो । 

ad
ad