
विपतमा उद्धार प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले सातै प्रदेशमा गोताखोर टोली खटाउने तयारी थालेको छ । यसका लागि सशस्त्रले तालिमलाई तीव्रता दिएको छ भने स्रोत–साधनका लागि गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
बिहीबार विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आयोजित गोताखोर तालिमको समापनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तालिम र स्रोत–साधन बढाएर सबै प्रदेशमा एक–एकवटा टिम खटाउने योजना रहेको बताए ।
पछिल्लोपटक २० जना प्रहरीले गोताखोर तालिम लिएका छन् । जसमा एकजना नेपाल प्रहरीका कर्मचारी पनि छन् । नेपाल प्रहरीका कर्मचारीले गोताखोर तालिम लिएको पहिलोपटक हो । पानीको गहिराइमा पुगेर उद्धार गर्नुपर्ने भएकाले गोताखोर तालिम निकै चुनौतीपूर्ण मानिन्छ ।
बिहीबार १९ जना थपिएसँगै सशस्त्र प्रहरीमा गोताखोरको संख्या ७४ पुगेको छ । संख्या थपिएसँग उद्धार थप प्रभावकारी हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । जनशक्ति बढ्दै गए पनि गोताखोरका लागि आवश्यक स्रोत–साधन पर्याप्य नहुँदा देशैभरि विस्तार गर्न नसकिएको उनीहरू बताउँछन् । हाल कुरिनटार, काठमाडौं, पोखरालगायत ठाउँमा गोताखोर खटाइएको छ । छुट्टै टिमकै रूपमा परिचालन हुन सकेको छैन ।