
अर्घाखाँची र प्युठानको सिमानामा पर्ने २४५ मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजना वर्षौँदेखि अलपत्र छ। ०४४ देखि ०४६ सम्म दुई वर्ष लगाएर सर्भे गरिएको आयोजनाको निर्माण कार्य सुरु भएको केही समयमै बन्द भएको थियो। सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरी आयोजना सञ्चालनका लागि स्थापना गरिएको साइट कार्यालयमा अहिले ताला लागेको छ।
प्युठानको हंसपुर र अर्घाखाँचीको जलुकेमा यो आयोजनाको संरचना क्षेत्र पर्छ। तत्कालीन पञ्चायत सरकारले अयोजनाको काम प्रारम्भ गरे पनि बहुदल आएपछि रोकिएको स्थानीयवासी बताउँछन्। ‘आयोजना बन्ने आशा छ,’ स्थानीय पीताम्बर सारूले भने, ‘सरकारले छिट्टै काम अघि बढाउनुपर्छ।’ तत्कालीन विद्युत् समितिको संयोजकसमेत रहेका सारूले वेला-वेलामा नौमुरेको बारेमा कुरा उठ्ने गरेको भए पनि निर्माण कार्य सुरु नहुँदा आशा कम हुँदै गएको बताए। यहाँ ९० मिटरको ड्याम बाँधेर विद्युत् निकाल्न सकिने रिपोर्टले देखाएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वि.सं. ०६५ श्रावण ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रूपमा भारत भम्रणमा जाँदा भारतले उपहारस्वरूप नौमुरे जलविद्युत् आयोजना बनाइदिने प्रतिबद्धता जनाएको थियो। तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले उक्त आयोजना बनाइदिने घोषणा गरेका थिए।
प्रधानमन्त्री भएर प्रचण्ड अहिले चौथोपटक भारत भ्रमणमा छन्। तर, पहिलो भम्रणको वेला गरेको प्रतिबद्धता भारतले अहिलेसम्म पूरा गरेको छैन। यद्यपि, नेपाल सरकारले ०७१ साउनमा आयोजनाको काम आफैँ अघि बढाउने घोषणा गरेको थियो। नौमुरेलाई जलाशययुक्त आयोजना बनाएर कपिलवस्तुमा पानी लैजाँदा आफ्नो भूभागमा पानी कम हुने भएकाले भारतले नदी प्रवाहीलाई बढी जोड दिँदै आएको छ। भारतलाई पानी दिन नसकिने भन्दै नेपाल सरकारले ०७१ साउनमा आयोजनाको काम आफैँ अघि बढाउने निर्णय गरेको थियो।
नेपाल सरकारले आफैँ बनाउने बताए पनि साइट कार्यालय स्थापना भएर पर्यावरणीय परीक्षणसमेत गरिसकेको उक्त कार्यालयमा अहिले ताला लागेको छ। नौमुरेलाई कपिलवस्तुको ४० हजार हेक्टर जग्गामा सिँचाइ पुर्याउने एक मात्र विकल्पका रूपमा हेरिएको छ। भालुवाङमा रि–रेगुलेटिङ (सहायक) बाँध निर्माण गरेर कपिलवस्तुमा सिँचाइ लैजान विद्युत् विकास बोर्डले अध्ययनसमेत गरेको थियो। झिम्रुक र माडी खोलाको दुई किलोमिटर तल आयोजनास्थल रहेको नौमुरेको लागत सन् २००७ को मूल्यमा ३२ करोड अमेरिकी डलर अनुमान गरिएको थियो।