१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फेसन डिजाइनिङमा ‘करिअर’ खोज्दै युवा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२o:oo

बबिता श्रेष्ठ ललितपुर कुपन्डोलस्थित ‘सेन्ट्रल फेसन हब’बाट फेसन डिजाइनको कोर्स गर्दै छिन् । उनले समाजशास्त्रमा स्नातकसम्म पढाइ सकेकी छिन् । तर, उनलाई फेसनप्रति सानैदेखि रुचि थियो । त्यसैले बुटिक खोल्ने लक्ष्यका साथ उनी फेसन डिजाइनिङ सिकिरहेकी छिन् । उनी भन्छिन्, ‘सानैदेखि फेसनमा रुचि थियो । तर, पढाइ र काम अर्कैतिर भयो । मैले ‘प्लस टु’ सकेर जागिर पनि सुरु गरेँ । मलाई अरूको काम गर्न मन लागेन, बरु आफैँले सीप सिक्छु भन्ने इच्छा जाग्यो । अब कोर्स पूरा गरेपछि आफैँ बुटिक खोल्ने सोचेकी छु ।’ 

रेश्मा श्रेष्ठलाई पनि फेसनप्रति सानैदेखि रुचि थियो । उनी टेलिभिजनमा विभिन्न फेसन डिजाइनसम्बन्धी कार्यक्रम हेर्दा आफू पनि पहिरनको डिजाइन गर्ने कल्पना गर्थिन् । त्यसैले उनी ‘प्लस टु’ सकेपछि बाँसबारीस्थित ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’मा फेसन डिजाइनिङ पढ्न भर्ना भइन् ।

अहिले उनले चार वर्षको कोर्स पूरा गरिसकेकी छिन् । हाल उनी फ्रिलान्सरको रूपमा विभिन्न सौन्दर्य प्रतियोगितामा पहिरन डिजाइन गर्छिन् । फेसन डिजाइनिङमा नै आफ्नो ‘करिअर’ बनाउने उनको सोच छ । ‘आफैँले रुचि भएरै चुज गरेको फिल्ड हो । त्यसैले छाड्ने कुरै भएन, आफूलाई राम्रो लाग्ने डिजाइनहरू बनाउने सोचेकी छु,’ उनले भनिन्, ‘अहिले फेसनप्रतिको सोच धेरै परिवर्तन हुँदै गएको छ । पहिले फेसन भन्नेबित्तिकै लुगा वा मेकअप भन्ने बुझिन्थ्यो । खासमा फेसन भनेको समयअनुसार हरेक कुरामा अपडेट हुनुु हो, दैनिक जीवनशैली नै फेसन हो । नेपालमा फेसनमै सिर्जनात्मक काम गर्न सकिन्छ ।’ 

आइइसी कलेज अफ आर्ट एन्ड फेसन’बाट डिप्लोमा कोर्स पूरा गरेकी आकृति पन्त अहिले यही कोर्स पढाउँछिन् । उनको अनुभवमा नेपालमा फेसनप्रति सचेत हुने जमात बढ्दै गएको छ । उनी भन्छिन्, ‘युवापुस्तासँगै अहिले गृहणीहरूले पनि फेसन डिजाइनको कोर्स गरिरहनुभएको छ । पढाइ ग्याप गरेर बसेकाहरूको पनि रोजाइमा पर्न थालेको छ । फेसन डिजाइनर बन्ने चाहना बोक्नेहरू यतिवेला ह्वात्तै बढेका छन् ।’

उनका अनुसार फेसन डिजाइनिङको कोर्स गरेका कतिपय विद्यार्थीले यही विषय पढाउने अवसर पाएका छन्, कतिपयले बुटिक एवं गार्मेन्ट चलाएर व्यावसायिक सफलता हासिल गरेका छन् । ‘नेपालमा मात्रै होइन, विदेशमा फेसन डिजाइनिङको माग बढिरहेको छ,’ उनी भन्छिन्, ‘त्यसैले अहिले फेसनको राम्रो सम्भावना छ ।’

विश्वमा नयाँ–नयाँ पहिरनका डिजाइन आइरहन्छन्, त्यहीअनुसार काम गर्न सक्यो भने यो क्षेत्रमा उज्ज्वल भविष्य छ । फेसन डिजाइनिङ युवायुवतीका लागि सीप सिकेर स्वरोजगार बन्ने अवसर हो ।

‘वाउ फेसन स्कुल’मा फेसन पढाउँदै आएकी रोशनी शाक्य पनि नयाँ पुस्तामा फेसनप्रतिको चासो निकै बढेको बताउँछिन् । उनी भन्छिन्, ‘यसप्रतिको आकर्षण बढ्दो छ । त्यसैले यो व्यवसाय निकै फस्टाउँदै गएको छ । विद्यार्थीहरूलाई अन्य कोर्स गर्दाजस्तो जागिर पाइँदैन भन्ने चिन्ता हुँदैन ।’ फेसनको कोर्स सक्नेबित्तिकै आफ्नै व्यवसाय सुरु गर्न सक्ने भएकाले पनि यसप्रतिको आकर्षण बढेको शाक्यको भनाइ छ । 

‘नयाँ पुस्ता कन्सस छन् । कलात्मक क्षमता भएकाहरू फेसन डिजाइनमा आइपुग्छन् । यसका लागि सिर्जनशीलता र लगाव चाहिन्छ । एक वर्षको कोर्सले फेसनसम्बन्धी प्राविधिक ज्ञान आर्जन गर्न सहयोग गर्छ,’ उनले भनिन्, ‘पृथक् र भीडमा फरक देखिने डिजाइन कसरी बनाउने भनेर सोच्न सिकाउँछ । आफ्नो सीपको सदुपयोग गर्न सजिलो क्षेत्र हो,’ उनले भनिन् । 

सेन्ट्रल फेसन हबका सञ्चालक नवीन लुइँटेलका अनुसार विश्वमा नयाँ–नयाँ पहिरनका डिजाइन आइरहन्छन्, त्यहीअनुसार गर्न सक्यो भने यो क्षेत्रमा उज्ज्वल भविष्य छ । फेसन डिजाइनिङ युवायुवतीका लागि सीप सिकेर स्वरोजगार बन्ने अवसर रहेको उनी बताउँछन् । ‘यो कोर्स पूरा गरेपछि सीप आर्जनसँगै ज्ञान पनि आर्जन हुन्छ । त्यसपछि सजिलै रोजगारीको अवसर पनि सिर्जना हुन्छ । अर्काे, सीप जानेपछि विश्वबजारमा पनि लैजान सकिन्छ । हातमा सीप भएपछि जहाँ गएर पनि काम गर्न सकिन्छ,’ उनले भने । प्रायः विद्यार्थीहरू प्लस टु वा ब्याचलर सकेपछि डिजाइनिङ पढ्न आउने उनले बताए । 

‘बजारमा कस्ता–कस्ता फेसन कसरी आए भनेर जान्यो भने सजिलै बुटिक सञ्चालन गर्न सक्नुहुन्छ । डिजाइनका मान्यता, रङको महत्व, फाब्रिकको छनोट, स्टाइल, मार्केटिङलगायत विषय यस कोर्सले सिकाउँछ, ’ उनले भने । 

ad
ad