मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जिल्ला ब्युरो काठमाडाैं
२०८० जेठ १५ सोमबार ०९:०९:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

शिव शिखरले पाँच जिल्लाका ४० हजार बचतकर्तालाई पनि डुबायो

Read Time : > 3 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
२०८० जेठ १५ सोमबार ०९:०९:००

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखरले बुटवल, बागलुङ, दाङ, बाँके र सुर्खेतका हजारौँ सेयर सदस्य र बचतकर्ताको करोडौँ रकम डुबाएको छ । २६ शाखा रहेको यो सहकारीको लगानी डुबेपछि सेयर सदस्य र बचतकर्ताले पैसा फिर्ता माग गर्न थालेका छन् । तर, सहकारीले शाखा कार्यालय बन्द गरेको छ । सहकारीका नेतृत्वकर्ता रहेका बाँके कोहलपुरका केदारनाथ शर्मा फरार छन् भने उनकी श्रीमती गीता शर्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा छिन् । शर्मादम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए ।

बुटवलमा बचतकर्ताको १० करोड जोखिममा
शिव शिखर सहकारीको बुटवल शाखा गत फागुनदेखि बन्द छ । सहकारी रहेको भवन खाली गराउन बुटवल उपमहानगरपालिका– १० कार्यालयले सातदिने सूचना जारी गरेको छ । सिद्धार्थ राजमार्गको किनारमा रहेको भवनमा सहकारी र गार्डेनत मार्ट डिपार्टमेन्ट स्टोर १७ साउन ०७८ देखि सञ्चालनमा छन् । एकाएक ६ फागुनमा कार्यालय बन्द गरिएपछि घरधनीले ८ चैतमा घर खाली गराउपाऊँ भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडाले सुरुमा ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा सहकारीका व्यक्ति सम्पर्कमा नआएपछि पछिल्लोपटक सातदिने सूचना जारी गरिएको वडाध्यक्ष बलबहादुर पुनले बताए ।

सहकारीका बुटवल शाखाका इन्चार्ज प्रदीप श्रेष्ठका अनुसार बुटवल क्षेत्रमा एक करोड १४ लाखको ऋण लगानी छ भने फिर्ता गर्नुपर्ने रकम करिब १० करोड छ । बजारबाट ऋण उठेर मार्टसहितको हिसाब गर्दा बचतकर्ताको रकम फिर्ता गर्न पुग्ने उनले बताए । यस शाखामा दुई हजार दुई सयको झन्डै १० करोड बचत रहेको अनुमान छ । 

ब्याजको लोभमा  फसायो शिव शिखरले
शिव शिखरले २८ मंसिर ०७६ मा बागलुङ सदरमुकामको श्रीनगर टोलमा शाखा विस्तार गरेको थियो । सहकारीसँगै सुपरमार्केट पनि सञ्चालन गरेको सहकारीले यहाँ चार हजार तीन सय ८७ सेयर सदस्य बनायो । सेयरबापत झन्डै एक करोड ५४ लाख र ३८ करोड ५४ लाख रुपैयाँ बचत उठाएको थियो । तर, बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् ।

सामान्यतः सहकारीले १२÷१३ प्रतिशत मासिक ब्याज दिन्छन् । शिव शिखरले १३ देखि १७ प्रतिशत ब्याजदर दिने प्रलोभनमा रकम उठाएको थियो । यहाँका सेयर सदस्य र बचतकर्ताको झन्डै ४० करोड जोखिममा छ । ‘हामीलाई बैंकभन्दा पनि राम्रो ब्याजदर दिन्छौँ भनेर फसायो । एक वर्षमै दोब्बर हुन्छ भनेर भन्यो । हो जस्तो लाग्यो, सहकारी हो कहाँ डुब्ला र भन्ने पनि भो, भएको पैसा यहीँ ल्याएर जम्मा गरियो,’ सहकारीका सेयर सदस्य एवं बचतकर्ता दीपक गौतमले भने, ‘अरू सहकारीको भन्दा बढी ब्याजदरको लोभ गर्दा अहिले फसियो । प्रलोभनमा हामी फसियो । मेरो पनि ३५ लाख रुपैयाँ यहीँ फसेको छ ।’ तीन वर्षको विश्वासले निरन्तर बचत गर्दा ४४ लाख बचत डुबेकोे सेयर सदस्य टीकाकुमारी खड्का बताउँछिन् । 

दाङमा ६ हजारको १५ करोड निक्षेप जोखिममा 
दाङ तुलसीपुरस्थित शिव शिखरको शाखा कार्यालय चार महिनादेखि बन्द छ । बचतकर्ता हरेक दिन सहकारी धाउँछन्, शाखा खुलेको छ कि भनेर । बचत फिर्ता गर्न नसकिएको भन्दै सहकारीले २७ माघबाट तुलसीपुर शाखा बन्द गरेको थियो । तीन वर्षअघि तुलसीपुरमा शाखा स्थापना गरेको सहकारीले यहाँ पाँच हजार आठ सय सदस्य बनाएको थियो । शिव शिखरमा एक लाख २७ हजार बचत गरेका तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीले अब पैसा पाउने आशा मरिसकेको बताए । ‘सहकारी बन्द छ, अब कसले फिर्ता देला र खै ?’ उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।’

शिव शिखरमै तुलसीपुर ५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगिन्, तर कसैलाई पनि भेट्टाइनन् । फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछिन् ।  दाङको तुलसीपुरमा  करिब ६ हजार बचतकर्ताको १५ करोड निक्षेप जोखिममा परेको छ भने देउखुरीमा ६ सय निक्षेपकर्ता छन् ।

बाँकेमा २० हजार बचतकर्ताको पैसा डुब्यो 
शिव शिखरले बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथको चाँदनीचोक गरी तीन ठाउँमा शाखा खोलेको छ । यहाँ २० हजार बचतकर्ता छन् । कोहलपुर क्षेत्रीय म्यानेजर राजकुमारी शाहीले बचतकर्ताको रकम फिर्ता गर्ने दाबी गर्दै आएकी थिइन् । तर, बचतकर्ताले रकम पाएका छैनन् । शिव शिखरको नाममा छमनियामा रहेको ७२ कट्टा जमिन छ । सोही जग्गा एक करोड ८५ लाखमा बिक्री गरेर सहकारीको खातामा जम्मा गर्न लगाउने र बचतकर्तालाई वितरण गर्ने निर्णय गरिएको थियो । ‘सहकारीमा बचत गर्दै आएका बचतकर्ताको बचत रकम सुरक्षाका लागि सेल सेन्टरमा रहेको गोदाम सुरक्षा गर्न सम्पूर्ण बचतकर्ताद्वारा सेल सेन्टरमा तालाबन्दी गरेका थियौँ,’ पीडितसमेत रहेका बचतकर्ताका अगुवा दीपक ढुंगानाले भने ।  

सूचना टाँसेर सञ्चालक फरार, बचतकर्ता मारमा
सुर्खेतको वीरेन्द्रनगरको सिटी बसपार्कको दक्षिणतर्फ रहेको शिव शिखरका सञ्चालक फरार भएपछि बचतकर्ता मारमा परेका छन् । १५ फागुनदेखि सहकारीमा ताला लगाएर सञ्चालक सम्पर्कविहीन भएका हुन् । अहिले बचतकर्ता दिनहुँ कार्यालय पुग्ने गरेका भए पनि पैसा पाउन सकेका छैनन् । सुर्खेत शाखाले करिब चारदेखि पाँच करोड रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा करिब सात हजार बचतकर्ता छन् । 

 शिव शिखरविरुद्ध कैलालीमा एक हजार नौ सय उजुरी
कैलालीमा एक हजार नौ सय २० जना निक्षेपकर्ताले आफूले जम्मा गरेको रकम शिव शिखर सहकारी संस्था लिमिटेडले हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले शिव शिखरमा जम्मा गरेको रकम फिर्ता नपाएका निक्षेपकर्तालाई प्रहरीमा उजुरी दिन आह्वान गरेको थियो । बिहीबारसम्म एक साताको अवधिमा शिव शिखर सहकारीविरुद्ध ती उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उनले सहकारीले निक्षेप हिनामिना गरेर ठगी गरेको भन्दै उजुरी आउने क्रम जारी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा यो सहकारीविरुद्ध उजुरी दिने सर्वसाधारणको भिड लाग्ने गरेको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारीको धनगढी शाखामा मात्र करिब ६ हजारजनाले ६३ करोड जम्मा गरेका छन् । सुदूरपश्चिम प्रदेशभरि यो सहकारीका सातवटा शाखामा करिब १६ हजार निक्षेपकर्ताको डेढ अर्ब बचत जोखिममा परेको छ ।

बुटवलमा विष्णु घिमिरे, दाङमा दीपक बोहरा, बाँकेमा विश्वराज पछल्डङ्ग्या, सुर्खेतमा  रमेश रावल र धनगढीमा तेजराज भट्ट