
नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सन्तोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसन अनुगमन गर्दै यस्तो चेतावनी दिएका हुन् । निर्माणाधीन चार सय केभी, दुई सय २० र एक सय ३२ केभी सबस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उनले जानकारी लिएका थिए ।
गत फागुन अन्तिम साता पनि अनुगमनमा गएका उनले दुई सय २० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन् । त्यतिवेला ठेकेदार कम्पनीले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धताविपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएकाले कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई काममा सुधार नगरे ठेक्का तोड्ने बताए ।
उनले तुरुन्त काठमाडौं आएर संयुक्त बैठक गर्न र यदि त्यसो गर्न नसके ठेक्का रद्द गरेर जान आग्रह गरे । चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न बोलपत्रमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस ०७५ मा सम्झौता गरेको थियो ।