१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Sunday, 11 May, 2025
२o८o जेठ १४ आइतबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिस्टिलरी उद्योगको दूषित पानी पोखरीमा पस्दा किसानकाे पाँच लाखबराबरको माछा मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १२:३८:oo

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेको अरूणा डिस्टिलरीबाट निस्केको पानी किसानकाे पोखरीमा पस्दा पाँच लाख रुपैयाँबराबरको माछा मरेका छन्। रामग्राम– १७ स्थित पटखौलीमा रहेको उक्त डिस्टिलरी उद्योगको दुर्गन्धित पानी माछा पालन गरेको पोखरीमा पस्दा माछा मरेका हुन्। 

माछापालक किसान विज्ञान सिंहले तीन कट्ठा जग्गामा पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन्। अरुणा डिस्टिलरीले दुर्गन्धित पानीको उचित व्यवस्थापन नगर्दा करिब एक केजी तौल भइसकेका माछा मरेका सिंहले बताए। 

प्रत्येक वर्ष अरुणा डिस्टिलरी उद्योगबाट निस्कने पानीका कारण पशुपन्छीलगायत खेतमा रहेका अन्नबालीमा क्षति हुने गरेको छ। गत वर्ष उक्त उद्योगको दुर्गन्धित पानीका कारण वडा नम्बर १७ कै नमिन्द्र यादवको दुईवटा भैँसी मरेका थिए। किसानहरू विरोधमा उत्रिएपछि उद्योगले सम्बन्धित व्यक्तिलाई २७ हजार रुपैयाँ दिएर मिलाएको थियो।

अररणा डिस्टिलरीका सञ्चालक लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल हुन्। उनले दादागिरी शैलीमा किसानलाई दुःख दिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन्। ‘हामीलाई केही पैसा दिई अन्यत्र हल्लाखल्ला नगर्न र कानुनी प्रक्रियामा नजान धम्की दिएका छन्,’ माछापालक किसान विज्ञान सिंहले भने।

प्रदेश सभा सदस्य रहेका उद्योगपति जैसवालले भने आफ्नो उद्योगका कारण माछा नमरेको दाबी गरे। जैसवालले भने ‘केही वर्षअगाडि स्थानीयको व्यापक विरोधपछि उद्योगमा हामीले अत्याधुनिक फिल्टर प्लान्ट जडान गरेका छौँ। माछा मरेको कुरा सत्य हो। तर, उद्योगको प्रदूषित पानीको कारण होइन।’

आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि यस्ता आरोप लगाइएको जैसवालको दाबी छ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले यस विषयमा अनभिज्ञता दर्शाए। जिल्लाका अधिकांश उद्योगले प्रदूषण फैलाएको गुनासो आएको बताउँदै उनले आफूहरूले सबै उद्योगी व्यवसायीहरूलाई बोलाएर छलफल गरी अनुगमन गर्ने तयारी गरिरहेको बताए।