मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ १४ आइतबार ०७:३८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लमजुङका भूमिहीनले पाउने भए लालपुर्जा

Read Time : > 1 मिनेट
२०८० जेठ १४ आइतबार ०७:३८:००

लमजुङका भूमिहीनले जग्गासहित आफ्नो नामको लालपुर्जा पाउने भएका छन् । वर्षाैँदेखि जिल्लाका विभिन्न ठाउँमा बसोवास गर्दै आएका भूमिहीन तथा सुकुमबासीले अब आफ्नो नाममा लालपुर्जा पाउने भएका हुन् । 

राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले जिल्लामा घरबारविहीन भएका भूमिहीनलाई उनीहरूकै नाममा लालपुर्जा दिने तयारी अन्तिम चरणमा पुगेको बताए । जो वास्तविक भूमिहीन हुन्, जो वर्षौँदेखि सार्वजनिक जग्गामा घर कटेरो बनाएर बसेका छन्, तिनीहरूको पहिचान गर्ने र उनीहरूलाई दिने जग्गाको खोजी गरिसकेको र अबका केही दिनमा जग्गाधनी लालपुर्जा वितरण गर्ने आयोगले तयारी गरेको अधिकारीले बताए । 

सबैभन्दा पहिले सुन्दरबजारमा बसोवास गरिरहेका भूमिहीन दलित तथा सुकुमबासीलाई लालपुर्जा दिइनेछ । सुन्दरबजार नगरपालिकामा नौ घर भूमिहीन दलित र ३६ घर भूमिहीन सुकुमबासी गरी ४५ घरपरिवारलाई लालपुर्जा दिने आयोगको तयारी छ । आयोगले जिल्लाका आठ स्थानीय तहमा अव्यवस्थित बसोवास भएका, भूमिहीन दलित र भूमिहीन सुकुमबासी गरी तीन प्रकृतिको लगत संकलन गरेको छ । जसमा भूमिहीन दलितको ३०२, भूमिहीन सुकुमबासी ३११ र अव्यवस्थित बसोबासी ९३७ ले फारम भरेका थिए । पहिला भूमिहीनको व्यवस्थापन गरिसकेपछि अव्यवस्थित बसोबासीको सम्बोधन गरिने अध्यक्ष अधिकारीले बताए । धेरै वर्षअघिदेखि बसोवास गर्दै आएका सुकुमबासी आफ्नो नाममा लालपुर्जा पाउने भएपछि खुसी भएका छन् । भूमिहीन परिवारलाई साढे चार आना जग्गाको लालपुर्जा दिने आयोगले जनाएको छ । 

०४८ मै बनेको थियो आयोग 
०४८ मा कांग्रेसले बहुमतको सरकार चलाएको वेलामा लमजुङमा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोग बनेको थियो । सोहीअनुसार लमजुङमा मोहनसिंह घिमिरे आयोगको अध्यक्ष बनेका थिए । उनको पालामा केही सुकुमबासीले जग्गा पाए । त्यसपछि ०५१ मा एमालेको नेतृत्वमा बनेको सरकारको पालामा महेन्द्रलाल श्रेष्ठ आयोग लमजुङको अध्यक्ष भए । उनकोे पालामा सुन्दरबजार पाउँदीका सुकुमबासीले जग्गाधनी लालपुर्जा प्राप्त गरे । त्यसपछि गोविन्द धिताल अध्यक्ष बने । उनको पालामा पनि केही काम भएको थियो । त्यसपछि बमबहादुर थापा अध्यक्ष बनेका थिए । उनले वास्तविक सुकुमबासी को–को हुन् भनी नामावली तयार गरे पनि सोही अवधिमा सुकुमबासी आयोग विघटन भएको थियो । ०७४ मा नेकपाको बहुमत सरकारका पालामा मोहनहरि पौडेल अध्यक्ष बनेका थिए । पौडेलले जिम्मेवारी लिएको ६ महिनामै समिति विघटन भयो ।