
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा महासंघ सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् । अध्यक्ष ढकालले नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हमदीसँगको भेटमा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
साना तथा मझौला उद्योग–व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको छ । महासंघका अध्यक्ष ढकालले देशभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने महासंघको संरचना भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महत्वपूर्ण साझेदार हुन सक्ने बताए ।
अध्यक्ष ढकालले महासंघको नयाँ नेतृत्वले अगाडि सारेका पाँच प्रमुख प्राथमिकताहरू आर्थिक संकटको समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीको सम्मानका बारेमा जानकारी गराएका थिए ।
आवासीय संयोजक हाना सिंगरले महासंघले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन् । दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताउँदै उनले स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो । उनले भनिन्, ‘स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्रसंघले सहकार्य गर्न सक्छन् ।’