१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ११ बिहीबार १०:३९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा अल्छीपन कसरी कम गर्न सकिन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ११ बिहीबार १०:३९:००
डा. विजय ज्ञवाली मनोविज्ञ तथा साइकोथेरापिस्ट अमोहा क्लिनिक

हामीमध्ये धेरैले बालबालिकाको अल्छीपनलाई बहानाका रूपमा बुझ्छौँ । तर, उनीहरूमा देखिएको अल्छीपन कुनै समस्यासँग जुधिरहेको अवस्थाको संकेत पनि हुन सक्छ । यसले उनीहरूभित्रको कार्यक्षमता अझ घटेर जाने जोखिम रहन्छ ।

त्यसैले यस्ता अल्छी गर्ने बालबालिकाको अभिभावकले राम्ररी ख्याल राख्नुपर्छ । हाम्रो गलत अभिभावकत्व, वातावरण तथा मनोसामाजिक समस्याका कारणले गर्दा पनि उनीहरूमा अल्छीपन निम्तिएको हुन सक्छ ।

लर्निङ डिसअर्डर (सिकाइमा अवरोध), डिस्लेक्सिया (अपठन), डिप्रेसन, आत्तिने समस्या, अनिद्रा, कुलतका कारण पनि बालबालिकामा अल्छीपन देखिन्छ । अभिभावकसँगको अन्तरद्वन्द्व, हिंसाजस्ता पक्षले पनि बालबालिका अल्छी भएका हुन सक्छन् । 

अभिभावकको भूमिका 

अभिभावक नै उदाहरण बन्नुपर्छ 
अभिभावकले बालबालिकालाई उपदेश दिने मात्र होइन कि आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्छ । बालबालिकालाई निर्देशन मात्र दिएर उनीहरूको अल्छीपन कम गर्न सकिँदैन । 

सन्तुलित आशा र अपेक्षा
अभिभावकले बालबालिकाप्रति आशा र अपेक्षा राख्नु नराम्रो होइन । तर, हामीले राख्ने आशा र अपेक्षा सन्तुलित र प्रस्ट हुनुपर्छ । हाम्रा आशा पूरा हुँदा उनीहरूलाई प्रशंसा गर्नुपर्छ, आशा पूरा नहुँदा पनि उनीहरूलाई सुधारका निम्ति प्रेरित गर्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढेर जान्छ । आत्मविश्वास अल्छीपनका लागि ठूलो उपचार हो । 

घरको काममा सहभागी गराउने
केटाकेटीलाई हामीले घरेलु काममा पनि सहभागी गराउने गर्नुपर्छ । घरको भान्साको काम, करेसाबारी, सरसफाइजस्ता कार्यमा उनीहरूलाई सहभागी गराउनुपर्छ । यसले उनीहरूको सहभागितामूलक सीप बढेर जान्छ । यो सिकाइलाई अभिप्रेरित गर्ने राम्रो माध्यम पनि हो । यसले उनीहरूको जीवनलाई हेर्ने शैली पनि परिष्कृत हुन्छ । 

सामाजिक गतिविधिमा सहभागी गराउने
हिजोआज मोबाइल, टिभीमा भिडियो गेम तथा स्क्रिनको बढी प्रयोगका कारण बालबालिकाको घरबाहिरको क्रियाकलाप घटेको छ । जसकारण उनीहरूको इच्छाशक्तिमा ह्रास आउँदै छ र अल्छीपन बढेको छ । हामीले सधैँ उनीहरूलाई पाठ्यपुस्तक तथा स्कुलबाहिरका गतिविधिमा पनि सहभागी गराउनुुपर्छ । घरबाहिरका क्रियाकलप तथा सामाजिक कार्यमा सहभागी गराउनुपर्छ । बालबालिकाको मनोसामाजिक स्वास्थ्यका लागि पनि यो जरुरी छ । 

सन्तुलित आहार र निद्रा 
बालबालिकाको अल्छीपनको कारण उनीहरूको खानपान र जीवनशैली पनि हो । यसले मोटोपनलगायतका विभिन्न समस्या निम्त्याउँछ । उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त निद्रा पनि आवश्यक छ । बढ्ने उमेरका बालबालिकाले पर्याप्त सुत्नुपर्छ । निद्रा नपुग्दा पनि केटाकेटी अल्छी हुन्छन् । त्यसैले सन्तुलित भोजन र निद्राको महत्व बुझाउनुपर्छ । 

आफ्नो काम आफैँ गर्न प्रेरित गर्ने
कतिपय अभिभावकले बालबालिकाको सानो काम पनि आफैँ गरिदिने गर्नुहुन्छ । त्यस्तो गर्दा केटाकेटी आत्मनिर्भर हुन सक्दैनन्, बरु अल्छी हुन्छन् । त्यसैले बालबालिकालाई उमेरअनुसार आफ्नो काम आफैँ गर्न दिनुपर्छ । कपडा धुने, घरको फोहोर फाल्ने, खाना आफैँ खाने, कोठा सफा गर्ने काममा सधैँ बालबालिकालाई प्रेरित गर्नुपर्छ । यसले बालबालिकामा अल्छीपन कम गर्छ । अभिभावकले आफ्नो तर्फबाट प्रयास गर्दा पनि उनीहरूको अल्छीपन समाधान भएन भने बालबालिकालाई मनोपरामर्शका लागि प्रेरित गर्नुपर्छ । उचित मनोपरामर्शद्वारा अल्छीपन समाधान गर्न सकिन्छ ।