मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ११ बिहीबार १०:११:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाल–अमेरिका चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ११ बिहीबार १०:११:००

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ । असार ६ देखि १० गतेसम्म वासिङ्टन डिसीमा हुने महोत्सवमा नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’ ओपनिङ फिल्मका रूपमा प्रदर्शन हुनेछ । महोत्सवमा पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्यान्ड’, नेपालका अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’लगायतका विशेष चलचित्र छन् । 

नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्र प्रदर्शन हुनेछन् । मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा अमेरिकी निर्देशक न्यन्सी स्भेन्डसेन निर्देशित ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’को प्रदर्शनसँगै १० असारमा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।

महोत्सवका निर्देशक युवाकर राजकर्णिकारका अनुसार प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । ‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शन भौतिक रूपमा नै आयोजना गर्न लागिएकाले उत्साहित भएका छौँ’, उनले भने । 

यस्तै, नेपालका निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ विशेष प्रदर्शन हुने जनाइएको छ । यस वर्षका निर्णायकमण्डलको नाम केही दिनमा सार्वजनिक गरिने जनाइएको छ । महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । महोत्सवका लागि आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।