१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १० बुधबार ०७:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको समूहमा वेस्ट इन्डिज र जिम्बावे

ग्लोबल छनोटको समूह ‘ए’मा नेपालले दुईपटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध ५ असारमा प्रतिस्पर्धा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १० बुधबार ०७:५२:००

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ । जिम्बावेमा अर्को महिनादेखि सुरु हुने ग्लोबल छनोटमा नेपालले आफ्नो समूहमा दुईपटकको पूर्वविजेता वेस्ट इन्डिज र जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । आइसिसी सुपर कपको पुछारमा रहेको नेदरल्यान्ड्स र आइसिसी विश्वकप लिग–२ को प्ले अफको शीर्ष स्थानमा रहेको अमेरिका पनि समूह ‘ए’मा रहेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार ग्लोलब छनोटको ड्र सार्वजनिक गरेको हो । समूह ‘बी’मा पूर्वविजेता श्रीलंकाले आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएईको सामना गर्नेछ । नेपालले आफ्नो पहिलो खेल ३ असारमा आयोजक जिम्बावेसँग खेल्नेछ । टेस्ट मान्यताप्राप्त जिम्बावेसँग नेपालले सम्भवतः पहिलोपटक एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपाली यू–१९ टोलीले भने जिम्बावेसँग यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरेको अनुभव बटुलेको छ । सन् १९८० को दशककै शक्तिशाली क्रिकेट राष्ट्र वेस्ट इन्डिजसँग नेपालले ५ असारमा खेल्नेछ । नेपालले टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजसँग पहिलोपटक एकदिवसीय खेलमा खेल्नेछ । एकदिवसीय क्रिकेटको पहिलो दुई संस्करणमा वेस्ट इन्डिजले उपाधि उचालेको थियो । सन् १९८३ को तेस्रो संस्करणमा वेस्ट इन्डिज भारतसँग फाइनलमा पराजित भएको थियो । क्रिकेट इतिहासमा वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप दुईपटक जितेको छ । अमेरिका र नेदरल्यान्ड्स नेपालको पुरानै प्रतिद्वन्द्वी हो । 

शीर्ष तीन टोली सुपर सिक्समा 
प्रतियोगिताको प्रत्येक समूहको शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा पुगेका टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । यस चरणका शीर्ष दुई स्थान हात पार्ने टोलीले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिनेछन् । नेपालले ग्लोबल एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक २२ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक साताको अभ्यासपछि दक्षिण अफ्रिका जानेछ ।