१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ८ सोमबार १४:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको नीति, कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति सांसद भट्टराईको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १४:२८:oo

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन्। 

उनले नेपालको कुनै पनि सरकारी दस्ताबेजहरूमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लागाएको बताए। उनले जनयुद्ध शब्दलाई स्विकारेमा कांग्रेसको अन्त्य हुने दाबी गरे।  

उनले भने, ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि यहाँ उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। ०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्ताबेजहरूमा यो शब्द उल्लेख भएको छैन। पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ। यति वेला म प्रधानमन्त्री पुष्पकमल दाहालजीप्रति इंकित गरिराखेको छैन। यदि यो १ नम्बर बुँदा कांग्रेसले स्विकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो। यदि यो शब्दलाई र यो स्प्रिटलाई उहाँहरूले स्विकार्नुहुन्छ भने।’

भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायहरुको बारेमा उल्लेख गर्न नसकेको बताए। त्यस्तै पहाड र हिमालका मानिसहरु बसाइसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसहरुलाई अड्याउनका लागि सरकारले ध्यान नपुर्‍याएको बताए। 

सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताउँदै ती विमानस्थलहरूलाई व्यावसायिक प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको दाबी गरे।

 उनले भने, ‘कतिपय माननीयहरूले त गौतमबुद्ध विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै ह्याम्बर लगेर भत्काइहाल्नु हुन्छ कि जस्तो गरी बोलिरहनुभएको छ। गौतमबुद्ध विमानस्थल बनाउनु गल्ती थिएन। पोखरा विमानस्थल बनाउनु गल्ती थिएन। कमजोरी कहाँ हो भने त्यसलाई व्यावसायिक ढंगले प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु यो सरकारको असफलता हो। भारत सरकारसँग हवाइ सम्झौताअनुसार हवाई मार्ग प्राप्त गर्न सक्ने कूटनीतिक ल्याकत नराख्नु गौतमबुद्ध विमानस्थलको दोष होइन। पोखरा विमानस्थलको दोष त्यो होइन।’