१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ ८ सोमबार o७:o५:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–मध्य एसिया शिखर सम्मेलनको सन्देश

मध्य एसियाली राष्ट्रहरूको चीनप्रति बढ्दो झुकावले आर्थिक, क्षेत्रीय सुरक्षा, शान्ति र विकासका विषयमा चीनसँग समान धारणा र चासो राखेको देखिन्छ 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार o७:o५:oo

दुईदिने चीन–मध्य एसिया शिखर सम्मेलन चीनको सियान सहरमा शुक्रबार सम्पन्न भएको छ । सोही दिन चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाँच मध्य एसियाली देश कजाकिस्तान, किर्गिजस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेताहरूले सियानमा ६ वटा अनारको रूख रोपेका छन् । सियान सम्मेलनमा भाग लिन आएकामध्ये एसियाली राष्ट्रका राष्ट्रप्रमुखले चीनको महत्व दर्साउँदै चीन विश्वको सुरक्षा र स्थायित्वको रक्षा गर्ने तथा विज्ञान प्रविधि र आर्थिक विकासको प्रवद्र्धन गर्ने प्रमुख शक्ति भएकाले दिगो विकास हासिल गर्नका लागि चीनसँगको सहकार्य अपरिहार्य रहेको बताएका छन् । चीनले आफ्नो पश्चिमी क्षेत्रको आर्थिक विकास र स्थायित्वका लागि मध्य एसियालाई महत्वपूर्ण ठान्छ ।

सन् १९९२ मा चीनले मध्य एसियाका पाँच देशसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दा दुईतर्फको व्यापार ०.४६ बिलियन अमेरिकी डलर थियो जुन सन् २०२२ मा ७०.२ बिलियन अमेरिकी डलर पुगेको छ । चीन किर्गिजस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानको सबैभन्दा ठूलो र काजकिस्तानको दोस्रो र ताजिकिस्तानको तेस्रो ठूलो व्यापारिक साझेदार हो । पिपुल्स डेलीका अनुसार सन् २०२० को अन्त्यमा मध्य एसियामा कुल चिनियाँ लगानी ४० अर्ब अमेरिकी डलर थियो । २०२१ को अन्त्यमा ७७०० चिनियाँ कम्पनीले मध्य एसियामा काम गरिरहेका थिए ।

सियान सम्मेलनका क्रममा यी ६ राष्ट्रका प्रमुखले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र अन्य आपसी हितका विषयमा आ–आफ्नो देशको विकास रणनीतिलाई अझ राम्रोसँग समन्वय गर्दै सफलता हासिल गर्न सहयोग र सहकार्यलाई तीव्र रूपमा अघि बढाउने वाचा गरेका छन् । त्यस्तै, सहभागी राष्ट्रहरूले आतंकवाद, पृथकतावाद र अतिवादविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्नुका साथै क्षेत्रीय देशहरूको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको दृढताका साथ विरोध गर्ने बताएका छन् । सियान घोषणापत्रमा हस्ताक्षर गरेका राष्ट्राध्यक्षहरूले अर्को शिखर सम्मेलन सन २०२५ मा कजाकिस्तानमा गर्ने निर्णय गरेका छन् ।

ईसापूर्व १३८ मा चिनियाँ सम्राट वुले पश्चिमी क्षेत्रको मिसनमा झाङ छियानलाई दूतका रूपमा पठाएका थिए । आफ्नो यात्राका क्रममा झाङले वर्तमान मध्य एसियाली राष्ट्रहरू उज्वेकिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानका विभिन्न सहर र राज्यहरूको भ्रमण गरेका थिए । झाङ छियानले फेरि ११९ ईसापूर्वमा मध्य एसियाको अर्को यात्रा गरेका थिए ।

यस यात्राका क्रममा उनले पर्सिया र भारतजस्ता धेरै टाढाका ठाउँमा सम्राटका तर्फबाट दूतहरू पठाएका थिए । झाङको यात्राले सिल्क रोड (रेशम मार्ग)का लागि मार्गप्रशस्त गरेको थियो, जुन पछिल्ला शताब्दीमा चीन र बाहिरी संसारबीचको सम्बन्धको एउटा महत्वपूर्ण लिंकका रूपमा स्थापित हुन पुग्यो । आफ्नो मिसनबाट राजधानी सियान फर्कँदा झाङले आफूसँग ल्याएका विभिन्न वस्तुमध्ये एक थियो, अनार । चिनियाँ संस्कृतिमा उच्च फल मानिने अनारलाई प्रजनन, समृद्धि, एकता र सौभाग्यको प्रतीक मानिन्छ । रेशम मार्गको उद्गमस्थल सियानमा शिखर सम्मेलन आयोजना गर्नु र अनार रोप्नुले विश्व समुदायलाई चीनको कूटनीतिक एजेन्डामा मध्य एसियाको बढ्दो महत्व र यस क्षेत्रसँगको सम्बन्धलाई अझ सुदृढ गराउने चीनको चाहना र कोभिड महामारीपछिको समयमा चीनले बेल्ट एन्ड रोड परियोजनालाई सशक्त रूपमा अघि बढाउने सन्देश दिएको छ ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनका क्रममा इतिहासलाई स्मरण गर्दै सयौँ वर्षको संयुक्त प्रयासले चिनियाँ र मध्य एसियाली जनताले सिल्क रोडलाई विस्तार र समृद्ध बनाउँदै विश्व सभ्यताको अन्तर्क्रिया, एकीकरण, समृद्धि र विकासमा ऐतिहासिक योगदान पुर्‍याएको बताएका छन् । सीले सिल्क रोडलाई पूर्ण रूपमा पुनर्जीवित गर्न चीन–मध्य एसिया सम्बन्ध र सहयोगलाई सक्रिय रूपमा गहिरो बनाउन आवश्यक रहेको बताएका थिए ।

पश्चिमी मिडियाले सियानमा आयोजित चीन–मध्य एसिया शिखर सम्मेलनलाई जापानमा आयोजित जी–७ शिखर सम्मेलनको विरोध, युक्रेन युद्धले कमजोर भएको रुसलाई मध्य एसियाबाट विस्थापित गर्ने प्रयास र विश्वव्यापी प्रभावका लागि अमेरिकासँग बढ्दै गएको द्वन्द्वको रूपमा चित्रण गरेका छन्

हुन पनि सिल्क रोड इकोनोमिक बेल्टको प्रस्ताव राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा आफ्नो कजाकिस्तान भ्रमणका क्रममा गरेका हुन् । चिनियाँ बेल्ट एन्ड रोड परियोजनालाई ऐतिहासिक रेशम मार्गसँग दाँज्दै राष्ट्रपति सीले गत एक दशकमा चीन र मध्य एसियाली देशबीचको सहयोग र सहकार्यबाट निर्मित तियानसान पर्वतबाट जाने चीन–किर्गिजस्तान–उज्वेकिस्तान राजमार्ग, पामिरको पठारको उचाइलाई छिचोलेको चीन–ताजिकिस्तान एक्सप्रेस–वे र विशाल मरुभूमि पार गर्ने चीन–काजाकिस्तान कच्चा तेल पाइपलाइन र चीन–मध्य एसिया ग्यास पाइपलाइन वर्तमान सिल्क रोड भएको बताएका छन् ।

आफ्नो सम्बोधनमा सीले भने, २४सै घन्टा मध्य एसिया हुँदै चल्ने चाइना–युरोप रेलवे एक्सप्रेस, अनगिन्ती मालवाहक ट्रकका लहर र उडान अहिलेका ऊँट काराभान्स हुन् । व्यवसायको अवसर खोज्ने उद्यमी, कोभिड– १९ विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, मित्रताको सन्देश दिने सांस्कृतिक कार्यकर्ता र थप शिक्षा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू अहिलेका सद्भावना दूत हुन् ।

सीले चीन र मध्य एसियाली राष्ट्रहरूले बेल्ट एन्ड रोड सहकार्यको गतिलाई निरन्तरता दिन अर्थतन्त्र, व्यापार, औद्योगिक क्षमता, ऊर्जा र यातायातजस्ता परम्परागत सहयोगका क्षेत्रका साथै कृषि, गरिबी न्यूनीकरण, हरित विकास, स्वास्थ्य, र डिजिटल आविष्कारजस्ता नयाँ क्षेत्रको विकासका लागि पनि सहयोग अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । युरेसियन महाद्वीपको केन्द्रमा अवस्थित मध्य एसिया पूर्व र पश्चिम, दक्षिण र उत्तर जोड्ने चौराहमा छ । यस अर्थमा चीनको बेल्ट एन्ड रोड परियोजनामा मध्य एसियाले अद्वितीय योगदान पुर्‍याउन सक्छ । सीले पनि आफ्नो सम्बोधनका क्रममा विश्वलाई स्थिर, समृद्ध, सामन्जस्यपूर्ण र भौगोलिक रूपमा जडित मध्य एसिया आवश्यक रहेको बताएका छन् ।


राष्ट्रपति सीले साझा भविष्यसहितको चीन–मध्य एसियाली समुदायको निर्माण गर्न दुवै पक्षले चार सिद्धान्त– आपसी सहयोग, साझा विकास, विश्वव्यापी सुरक्षा र चिरस्थायी मित्रतामा प्रतिबद्ध रहन आवश्यक रहेको बताएका छन् । आफ्नो सम्बोधनमा सीले सहयोग सुदृढ गर्न आठबुँदे प्रस्ताव राखेका छन्, जसमा वैदेशिक मामिला, अर्थतन्त्र, व्यापार, भन्सार र अन्य पारस्परिक लाभकारी सहयोगका संयन्त्रको संस्थागत निर्माणलाई बलियो बनाउने; आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने जसमा चीनले थप व्यापार सहजीकरणका उपाय लिने, द्विपक्षीय लगानी सन्धिहरूको स्तरवृद्धि गर्ने र सीमावर्ती बन्दरगाहमा कृषि र अन्य उत्पादनको सुव्यवस्थित भन्सार निकासीका लागि बाटो खोल्नेछ । त्यस्तै, दुई पक्षबीचको कनेक्टिभिटी बलियो बनाउन चीनले सीमापार कार्गो ढुवानीको मात्रा बढाउने, ट्रान्स–क्यास्पियन अन्तर्राष्ट्रिय यातायात कोरिडोरको विकासलाई सहयोग गर्ने, चीन–किर्गिजस्तान–उज्वेकिस्तान राजमार्ग र चीन–ताजिकिस्तान–उज्वेकिस्तान राजमार्गको ट्राफिक क्षमता बढाउने र चीन–किर्गिजस्तान–उज्वेकिस्तान रेलमार्गमा परामर्श अगाडि बढाउन प्रयास गर्ने प्रस्ताव गरेको छ । 

सी जिनपिङले आफ्नो सम्बोधनमा चीन ऊर्जा सहयोग र ऊर्जा विकास साझेदारीको स्थापना गर्न र मध्य एसियामा हाइटेक फर्म र आइटी औद्योगिक पार्क स्थापना गर्न सहयोग गर्न तयार रहेको बताएका छन् । मध्य एसियाली राष्ट्रहरूको विकासका लागि क्षमता अभिवृद्धि गर्न चीनले विज्ञान र प्रविधि तथा गरिबी निवारणका योजनामा सहयोग गर्ने र मध्य एसियाली विकासलाई सुदृढ पार्न चीनले मध्य एसियाली देशलाई कुल २६ अर्ब युआनको वित्तीय सहायता र अनुदान उपलब्ध गराउने बताएका छन् । त्यस्तै, सीले यस क्षेत्रमा शान्तिको रक्षा गर्न चीनले मध्य एसियाली देशलाई कानुन प्रवर्तन, सुरक्षा र प्रतिरक्षामा क्षमता अभिवृद्धि सुदृढ गर्न, क्षेत्रीय सुरक्षा र आतंकवादसँग लड्न स्वतन्त्र प्रयासलाई समर्थन गर्न र साइबर सुरक्षा प्रवद्र्धन गर्न उनीहरूसँग मिलेर काम गर्न तयार रहेको बताए ।

चीन–मध्य एसियालाई आफ्नो परिधीय कूटनीतिको महत्वपूर्ण घटकका रूपमा हेर्छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्षमा यी दुई पक्षले आफ्नो सम्बन्धलाई असल छिमेकबाट रणनीतिक साझेदारका रूपमा स्तरोन्नति गरेका छन् । चीन र पाँच मध्य एसियाली देशले २०१९ मा नै चीन–मध्य एसिया संयन्त्र सिर्जना गरिसकेका हुन् । तर, यो संयन्त्रअन्तर्गत विदेशमन्त्रीहरूले भाग लिने गर्थे । अब त्यस्ता बैठक उच्चस्तरमा हुनेछन् । पश्चिमी मिडियाहरूले सियानमा आयोजित चीन–मध्य एसिया शिखर सम्मेलनलाई जापानमा आयोजित जी–७ शिखर सम्मेलनकै वेला आयोजना गरेर चीनले जी–७ शिखर सम्मेलनको विरोध गरेको, युक्रेन युद्धले कमजोर भएको रुसलाई मध्य एसियाबाट विस्थापित गर्न लागेको र विश्वव्यापी प्रभावका लागि अमेरिकासँग बढ्दै गएको द्वन्द्वको रूपमा चित्रण गरेका छन् ।

यति भइरहँदा, सियान घोषणापत्र तथा सम्मेलनका क्रममा कुनै पनि राष्ट्रहरूले कुनै पनि तेस्रो राष्ट्रलाई दानवीकरण गरेका छैनन् । जी–७ सम्मेलनको संयुक्त विज्ञप्तिले भने जी–७ राष्ट्रहरूलाई विश्वको पहरेदारका रूपमा प्रस्तुत गरेको छ । विज्ञप्तिले “हामी ठीक छौँ सुन्नुपर्ने अरूले हो” भन्ने भाव प्रकट गरेको छ । यस वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कजाकिस्तान भ्रमणका क्रममा युक्रेनका लागि अमेरिकी समर्थनले अन्य देशलाई साम्राज्यवादी महŒवाकांक्षाको सिकार हुनबाट जोगाउन मद्दत गर्ने बताएका थिए ।

प्रत्युत्तरमा कजाकिस्तानका विदेशमन्त्रीले कजाकिस्तानले अमेरिकी समर्थनको कदर गरे पनि आफ्नो देशलाई रुसबाट खतरा नभएको जवाफ दिएका थिए । मध्य एसिया जटिल भूराजनीतिक वातावरणमा अवस्थित भए पनि यस क्षेत्रमा सुरक्षा र स्थिरता कायम रहनुमा चीन र रुसको भूमिकालाई नकार्न सकिन्न । यस विषयमा चीन र रुसको साझा चासो छ । एक राजनीतिक विश्लेषकले संक्षेपमा भनेका छन्, चीनले हामीलाई हाम्रो अर्थतन्त्रलाई चाहिने सडक, विमानस्थल, अस्पताल र अन्य पूर्वाधार दिन्छ, तर अमेरिकाले लेक्चर मात्र । मध्य एसियाली राष्ट्रहरूबीच चीनप्रतिको बढ्दो झुकावले यस क्षेत्रका पाँचवटै देशले आर्थिक, क्षेत्रीय सुरक्षा, शान्ति र विकासका विषयमा चीनसँग समान धारणा र चासो राखेको र चीनसँग पारस्परिक लाभकारी सहयोगलाई सुदृढ गर्न इच्छुक रहेको देखाएको छ ।