Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ७ आइतबार ११:२०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बढ्दै छ क्रोनिक दुखाइ, उपचार कसरी गर्ने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ७ आइतबार ११:२०:००

पछिल्लो समयमा क्रोनिक पेन अर्थात् लामो अवधिको दुखाइ ठूलो स्वास्थ्य समस्याका रूपमा देखिएको अमेरिकामा गरिएको एक अध्ययनको निष्कर्ष छ । मधुमेह, डिप्रेसन र उच्च रक्तचापको दाँजोमा क्रोनिक दुखाइ हुनेहरूको दर बढेको नयाँ अध्ययनले देखाएको हो । अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी)को वार्षिक सर्वेक्षण तथ्यांकमा आधारित रहेर जर्नल जामा नेटवर्क ओपनमा यो विश्लेषणात्मक रिपोर्ट प्रकाशित भएको हो । 

क्रोनिक दुखाइ के हो ?
चिकित्सकले १२ हप्ताभन्दा लामो समयसम्म रहने दुखाइलाई क्रोनिक अर्थात् लामो अवधिको दुखाइका रूपमा परिभाषित गरेका छन् । सामान्यतः चोटपटक वा शल्यक्रियापछि लामो अवधिसम्म दुखाइ हुन्छ र निको हुन्छ । तर, चोटपटक नलागेका वा शल्यक्रिया नगरेका कतिपय व्यक्तिमा समेत शरीरका अंगहरू दुख्ने समस्या देखिन्छ । मधुमेह, अर्थाइटिस, ढाडमा समस्या वा अन्य स्वास्थ्य समस्याले पनि यस्तो दुखाइ हुन सक्ने चिकित्सकहरूले औँल्याएका छन् । 

अनुसन्धानकर्ताहरूले सन् २०१९ र २०२० मा दश हजार व्यक्तिमा सर्वेक्षण गरेका थिए । यसक्रममा सहभागीहरूलाई पछिल्लो तीन महिनामा उनीहरूले कस्तो पीडा अनुभव गरे भनेर सोधिएको थियो । लामो समयसम्म दुखाइ महसुस गरेका नयाँ बिरामीमा अनुसन्धान गर्दा प्रतिएक हजारमा ५२ जनामा क्रोनिक दुखाइ रहेको पाइएको थियो । जब कि उच्च रक्तचापको समस्या प्रतिएक हजारमा ४६ जना नयाँ बिरामीमा देखिने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डिप्रेसन र मधुमेहका नयाँ बिरामीको दर योभन्दा कम छ । 

दुखाइको समस्या विश्वव्यापी रूपले बढिरहेकाले सर्वेक्षणको यो नतिजाले अचम्मित नबनाएको स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका पेन मेडिसिन डा. सिन म्याकीले बताए । उनले भनेका छन्, ‘यो सर्वेक्षणको नतिजा अप्रत्याशित होइन, किनकि अहिले दुखाइको समस्या साझा समस्याको रूपमा देखिन थालेको छ ।’ 

दुखाइको विषयलाई लिएर अमेरिकामा धेरै अध्ययन भए पनि विश्वभर नै यो समस्या तीव्र देखिन थालेको अध्यनकर्ताहरूले बताएका छन् । ५० वर्ष र त्यसभन्दा माथिका मानिसमा जोखिम धेरै रहे पनि पछिल्लो समय वयस्कहरूमा समेत तीव्र रूपमा दुखाइ बढिरहेको छ । यद्यपि, दुखाइ सधैँ रहन्छ भन्ने होइन । सन् २०१९ मा क्रोनिक पेन भएको बताएका झन्डै १० प्रतिशत वयस्कले २०२० मा आफूहरू पीडामुक्त भएको प्रतिक्रिया दिएका छन् । 

दुखाइको समस्या बढ्दै गएर यो आफैँमा नयाँ रोगका रूपमा स्थापित हुन सक्ने मेडिकलविज्ञहरूको चिन्ता छ । सबैभन्दा बढी ढाडको तल्लो भागको दुखाइको उपचारका लागि बिरामीहरू अस्पताल पुग्ने गरेको अध्ययनले जनाएको छ । टाउको दुखाइ, घाँटी, गर्दनको दुखाइबाट प्रभावित हुनेहरूको संख्या पनि बढ्दो छ । 

उपचार : क्रोनिक दुखाइको उपचारका लागि सुरुवातमा सामान्य पेनकिलरको प्रयोग गरिने भए तापनि चिकित्सकहरूले समयक्रमसँगै कडा खालका औषधि सिफारिस गरिरहेका छन् । बजारमा दुखाइ नियन्त्रणका लागि हजारौँ किसिमका औषधि उपलब्ध भएकाले यसको छनोटसमेत अर्को समस्या बन्न सक्ने विज्ञहरूले औँल्याएका छन् । कतिपय अवस्थामा क्रोनिक दुखाइ नियन्त्रणका लागि कडा खालका औषधि दिइने र यस्ता औषधि सबैको पहुँचमा नहुने भएकाले समेत उपचारमा कठिनाइ हुन सक्ने डा. म्याकी बताउँछन् । उनका अनुसार पुरानो दुखाइ व्यवस्थापन गर्नका लागि शारीरिक थेरापी, मनोचिकित्सा, नर्भ ब्लक आदि विकल्प हुन सक्छ । दुखाइको प्रकृति हेरेर मात्र एनेस्थेटिक वा एन्टि–इन्फ्लेमेटरी औषधि वा इन्जेक्सन प्रयोग गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ । 

क्रोनिक दुखाइको असर देखिएपछि चाँडै उपचार थाल्नु राम्रो हुने डा. म्याकीले बताए । ‘यदि यसले तपाईंको काम गर्ने, खेल्ने, परिवार र साथीभाइसँग घुलमिल हुने क्षमतामा असर पुर्‍याइरहेको छ भने चुपचाप बसेर पीडा नसहनुस् । राम्रो चिकित्सकको खोजी गर्नुस्,’ उनले भने । 

(एजेन्सीको सहयोगमा)