२६ शाखा रहेको सहकारीका सञ्चालकले रकम हिनामिना गरेर चलाए तीन दर्जन कम्पनी
महाराजगन्जस्थित राष्ट्रपति कार्यालयछेउमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा केही दिनयता सर्वसाधारणको घुइँचो छ । न्याय माग्न प्रहरी कार्यालय धाउनेको भिड यति ठूलो छ कि उनीहरूको व्यवस्थापनका लागि प्रहरीले टोकन सिस्टम नै लागू गर्नुपरेको छ । सिआइबीमा लागेको भिड शिव शिखर सहकारीका निक्षेपकर्ताको हो ।
‘उहाँहरू सबै शिव शिखर सहकारीका निक्षेपकर्ता हुनुहुन्छ,’ भिडतर्फ देखाउँदै शुक्रबार सिआइबीका एसपी नवराज अधिकारीले भने, ‘सहकारीले आफ्नो पैसा फिर्ता गर्न नसकेपछि ठगीको जाहेरी लिएर आउनुभएको हो । पालैपालो जाहेरी लेखाउनका लागि नाम टिपेर टोकन सिस्टम लागू गरेका छौँ ।’
सिआइबीमा एक दिनमा दुई–तीन सय निक्षेपकर्ता जाहेरी लिएर पुग्ने गरेका छन् । हालसम्म भक्तपुरका मात्रै निक्षेपकर्ताले २० करोड रुपैयाँभन्दा धेरै ठगीको जाहेरी दिइसकेका छन् । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय भई देशभरि २६ वटा शाखा कार्यालय तथा सेवा केन्द्र चलाउँदै आएको शिव शिखर सहकारीमा करिब १४ अर्ब रुपैयाँ हिनामिना भएको प्रहरी आकलन छ । नेपालमा सहकारी ठगीको यो अहिलेसम्मकै ठूलो घटना हो । यसअघि सिआइबीले नै सिभिल सहकारीमा करिब ६ अर्ब हिनामिनाको मुद्दा चलाएको थियो । शिव शिखरमा एक लाख सदस्य ठगिएको सिआइबीको आकलन छ ।
सहकारीका तीनजनालाई पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । संस्थाका सञ्चालकद्वय अमिसराज भण्डारी र पुष्कर मल्ल तथा सहकारीको मुख्य ऋण लगानी रहेको शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मालाई सिआइबीले पक्राउ गरेको हो ।
‘सहकारीको शाखा देशभरि रहेछ, सम्भवतः सहकारीको ठगीमा यो अहिलेसम्मकै ठूलो केस हो,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘एक लाखभन्दा धेरै सेयर सदस्यको रकम संस्थामा डुबेको आकलन छ । दिनदिनै जाहेरी थपिएका छन् ।’ प्रहरीले पहिलो चरणमा भक्तपुरका ग्राहकको मात्र जाहेरी लिएर भक्तपुर जिल्ला अदालतमा ठगी मुद्दा चलाउने तयारी गरेको छ । कौशलटारको केन्द्रीय कार्यालयसहित भक्तपुरको कमलविनायक, सल्लाघारीमा सहकारीको सेवा केन्द्र छन् । हाल ती सबै बन्द छन् ।
शुक्रबार सिआइबीमा भेटिएका भक्तपुरका राजेन्द्र प्रजापतिले आफ्नो २६ लाख सहकारीमा फसेको बताए । ज्यामी काम गर्ने उनी भन्छन्, ‘अलि धेरै ब्याज आउला भनेर राखेको, हाम्रो त परिवारकै वर्षाैँको कमाइ डुब्ने भयो ।’
अर्का एक युवकले गत असोजमा मात्र १० लाख रुपैयाँ राखेका थिए । ‘बैंकले १३ प्रतिशत ब्याज दिएको थियो, शिव शिखर सहकारीमा १४ प्रतिशत भएकाले त्यहीँ लगेर राखेँ,’ उनले भने, ‘सहकारी समस्यामा परिसकेको रहेछ, थाहै भएन ।’
शिव शिखर सहकारीका भक्तपुरबाहेक उपत्यकाभित्र काठमाडौंमा चार र ललितपुरमा दुई शाखा छन् । काठमाडौंको न्युरोड, कीर्तिपुर, बाँसबारी र बागबजार तथा ललितपुरको मंगलबजार र ठैबमा शाखा कार्यालय रहेकोमा सबै अहिले बन्द छन् । भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ । उपत्यकाबाहिर जिल्लाका शाखाको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न सिआइबीले पत्राचार गरिसकेको छ । जसअनुसार सम्बन्धित जिल्लामै अनुसन्धान भइरहेको छ ।
चितवनको भरतपुर र टाँडी, बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथ, कैलालीको धनगढी र अत्तरिया, डडेल्धुरा, दाङको तुलसीपुर र भालुवाङ, मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगर, बाग्लुङको श्रीनगर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, रुपन्देहीको बुटवल, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् । त्यसमा हाल दुई–तीनवटा मात्र शाखा सञ्चालनमा छन् । अरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बन्द गरेका छन् ।
यसरी डुब्यो सहकारी
सहकारीको पैसा लगाएर शर्मादम्पतीले खोले तीन दर्जन कम्पनी ०७० मा स्थापना भएको शिव शिखर सहकारीले अन्य सहकारीले भन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गर्यो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्ममा लगानी गर्यो । शिखरदीप सकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो ।
जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँवा पनि फिर्ता भएन । उता सहकारीमा एकैपटक पैसा निकाल्नेहरू बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लाग्न थाल्यो ।
सुरुमा सहकारी विभागले सबै पक्षबीच छलफल गरेर समस्या समाधानको प्रयास गरेको थियो । तर, समाधान हुने सम्भावना नदेखेपछि सञ्चालक र ऋण लिएका कम्पनीको सम्पत्ति रोक्का गरी अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्यो ।
सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । हाल उनी फरार छन् भने उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् । शर्मादम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । केदारनाथ विराटनगरको तुलसी सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समयसम्म दुई सहकारीको अध्यक्ष थिए । तुलसी सहकारीका सञ्चालकविरुद्ध ५० करोड हिनामिनाको अभियोगमा गत चैतमा प्रहरीले मुद्दा दायर गरिसकेको छ ।
शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्ट्रिज, गोरखा टी एन्ड कफी, गोरखा वेभरेज, तुलसी मोटर पम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरेका थिए । त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एन्ड मल्टी सोलुसन प्रालि, काइन्डल्ली केयर इन्ड्रस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो इन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्ड्रस्टिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् ।
सो संस्थाका विभिन्न ठाउँमा घरजग्गा पनि छन् । शर्मादम्पतीको नाममा कम्पनीमा पनि करोडौँको सम्पत्ति छ । त्यसलाई पनि रोक्का गरिएको छ ।
भारतमा समेत लगानी, मुख्य नाइके फरार
केदारनाथले भारतको राजस्थानमा समेत लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भारतबाट खाद्यान्न नेपाल ल्याएर बिक्री गर्न भन्दै भारतमा लगानी गरेका थिए ।
नियमनको कमी र हचुवाका भरमा लगानी गर्दा संस्था डुबेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मात्र लगानी गर्न पाउनेमा सञ्चालकका कम्पनीमा करिब ८० प्रतिशत रकम लगानी गरेका थिए ।
साथै, संस्थाभित्र सुशासन पनि थिएन । तीन वर्षदेखि साधारण सभासमेत हुन सकेन । संस्थाका नेतृत्वकर्ताले नै ध्यान नदिएपछि कर्मचारीले पनि अनियमितता गरेको पाइएको छ । सहकारीका प्रबन्धकलाई समेत गाडी तथा उच्च तलबलगायत सेवा–सुविधा दिइएको थियो ।
सहकारीमा समस्या आएपछि केदारनाथकै निकट सुशील बानियाँलाई दुई वर्षदेखि अध्यक्ष बनाइएको छ । उनी सहकारीकै पूर्वकर्मचारी हुन् । उनी पनि फरार छन् । साथै, संस्थाका सिइओ लीलानाथ गौतम पनि फरार छन् ।
निक्षेपकर्ताको पैसाबाट सञ्चालककी श्रीमतीलाई अढाई करोडको कार
सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी खरिद गरेकी थिइन् । सो गाडी सिआइबीले बरामद गरिसकेको छ । उनीहरूको नाममा रहेको अन्य सम्पत्ति पनि सहकारी विभागले यसअघि नै रोक्का राखिसकेको छ ।
सुदूरपश्चिममा १६ हजार सर्वसाधारणको डेढ अर्ब जोखिममा
सुदूरपश्चिम प्रदेशमा मात्रै शिव शिखर सहकारीका १६ हजार बचतकर्ता छन् । उनीहरूले निक्षेप गरेको करिब डेढ अर्ब अहिले जोखिममा परेको छ ।
सहकारीका प्रदेश प्रबन्धक हेमराज जोशीले सुदूरपश्चिमका सात शाखामा १६ हजार सर्वसाधारणको करिब डेढ अर्ब निक्षेप रहेको बताए । उनका अनुसार सहकारीले ती शाखाबाट करिब १५ करोड मात्र लगानी गरेको छ । कैलालीको धनगढी, अत्तरिया र लम्की, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डडेल्धुरा र डोटीमा शिव शिखरका शाखा कार्यालय छन् । महेन्द्रनगर र डडेल्धुरामा सहकारीले डिपार्टमेन्टल स्टोरसमेत सञ्चालन गरेकोमा महेन्द्रनगर शाखा र डिपार्टमेन्टल स्टोर तथा धनगढी शाखाको कारोबार साढे तीन महिनादेखि बन्द छ । अन्य बाँकी शाखामा पनि केही महिनायता आर्थिक कारोबार बन्द रहेको जोशीले बताए ।
उपमहानगरपालिका– ५ की ज्ञानु धामी आफूले जम्मा गरेको चार लाख फिर्ताका लागि साढे तीन महिनादेखि सहकारीको कार्यालय धाइरहेकी छिन् । तर, कार्यालय सहयोगी मात्रै भेटिने सहकारीमा कर्मचारी आउनै छाडेका छन् । ‘ब्याजबाट छोराछोरीलाई पढाउन सजिलो होला कि भनेर पैसा जम्मा गरेकी थिएँ, तर पैसा डुब्ला कि भन्ने चिन्ता छ । हरेक दुई–तीन दिनमा आउँछु, कर्मचारी नै भेटिँदैनन्,’ एकल महिलासमेत रहेकी धामीले भनिन्, ‘पैसा फिर्ता नपाए त हाम्रो बिचल्ली नै हुन्छ ।’
शिव शिखरमा जम्मा गरेको आठ लाख नपाउने चिन्ताले धनगढी– १ की राजेश्वरी शाही बेचैन छिन् । ‘दैनिक रिक्सा चलाएर, मजदुरी गरेर, दुःख गरेर कमाएको सयौँ नागरिकको पैसा जोखिमा परेको छ । सरकारले सञ्चालकलाई कारबाहीको दायरामा ल्याएर बचत रकम असुल गराएर दिनुपर्छ,’ उनको माग छ ।
धनगढीकै सुरेन्द्र ताम्राकारले पटक–पटक सहकारीको कार्यालय धाए पनि बचत गरेको ५६ हजार फिर्ता नपाएको गुनासो गरे । ‘हामीजस्ता सर्वसाधारणका लागि त्यति पनि धेरै ठूलो रकम हो,’ उनले भने, ‘आपत् पर्दा सजिलो होला भनेर जम्मा गरेको पैसा फिर्ता पाइएन ।’
शिव शिखर सहकारीपीडितले संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेका छन् । सञ्चालकलाई पक्राउ गरेर रकम फिर्ता गराइदिन माग गर्दै संघर्ष समितिले प्रशासन र प्रहरीलाई ध्यानाकर्षण गराउनुका साथै धनगढीमा प्रदर्शन पनि गरेको छ । संघर्ष समितिका अनुसार धनगढी शाखामा मात्र करिब ६ हजारले करिब ६३ करोड जम्मा गरेका छन् । यो शाखाले साढे चार करोड लगानी गरेको छ ।
पोखराका ७२ सय बचतकर्ताको साढे ५३ करोड संकटमा, २० चैतदेखि कारोबार नै ठप्प
शिव शिखर सहकारी पोखरा शाखाका सात हजार दुई सय बचतकर्ताको बचत संकटमा परेका छन् । सहकारीले उनीहरूबाट ५३ करोड ५० लाख संकलन गरेको छ । तर, २० चैतदेखि कारोबार नै ठप्प भएकाले बचतकर्ताको रकम संकटमा परेको हो । सहकारीले पोखरा महानगरपालिकाको वडा नम्बर ५ पस्र्याङ र वडा नम्बर १४ चाउथेमा दुई शाखा सञ्चालन गरेको छ । पस्र्याङमा ०७६ असोज र चाउथेमा ०७९ असारदेखि शाखा सञ्चालनमा ल्याएको हो । पस्र्याङमा तीनतले घर भाडामा लिएर माथिल्लो तलामा सहकारी र तलका दुई तलामा डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको छ भने चाउथेमा पनि सहकारीसँगै डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको थियो । चाउठेको डिपार्टमेन्टल स्टोर ५ वैशाखदेखि बन्द छ ।
सहकारीका व्यवस्थापक रमेश न्यौपानेका अनुसार पस्र्याङ शाखामा पाँच हजार पाँच सय र चाउथेमा एक हजार सात सय बचतकर्ता छन् । उनीहरूले ५३ करोड ५० लाख निक्षेप गरेको पनि उनले बताए । तर, गत माघमा सहकारीको बुटवलस्थित शाखा समस्यामा परेको विषय बाहिरिएसँगै त्यसको प्रभाव पोखराका शाखामा पनि परेको थियो । २७ माघमा सहकारीका केन्द्रीय अध्यक्ष सुशील बानियाँले एक सूचना जारी गर्दैे आर्थिक मन्दीका कारण केही दिनका लागि कारोबार बन्द गरेको जनाएका थिए । सबै बचतकर्ता एकैपटक चल्ती, मुद्दती र सेयर रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकाले पस्र्याङस्थित शाखाको वित्तीय सेवा केही दिनका लागि बन्द गरिएको सूचनामा उल्लेख थियो । त्यस्तै, सहकारी मर्जर प्रक्रियामा रहेकाले अर्को सूचना नआएसम्म कार्यालय बन्द रहनेसमेत सूचनामा उल्लेख थियो ।
अध्यक्षको सूचनापछि कर्जा लगेकाहरू आफ्नो किस्ता बुझाउन भटाभट सहकारीमा आएका थिए भने बचत झिक्ने भन्दै बचतकर्ता पनि जान थालेका थिए । त्यसपछि पोखरामा २० चैतदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीको कार्यालयमा बचतकर्ताहरू अहिले दैनिक पैसा फिर्ता पाइने आसमा जाने गरेका छन् । तर, कर्मचारीले सञ्चालकलाई फोन गर्नुस् भन्दै फिर्ता फर्काइदिने गरेका छन् । सहकारीका सञ्चालक भने अहिले कसैको सम्पर्कमा छैनन् ।
व्यवस्थापक न्यौपानेका अनुसार सहकारीमा एकैजनाको अधिकतम एक करोड ७० लाखसम्म निक्षेप छ । तर, पोखरामा भएको कारोबारका कारण भने सहकारी समस्यामा नपरेको उनले बताए । ‘केन्द्रको नीतिअनुसार चल्ने भएकाले पोखरामा संकलन गरिएको निक्षेप सहकारीको केन्द्रले गरेको निर्णयका आधारमा देशका जुनसुकै शाखाबाट कर्जा लगानी गर्न पाउने भएकाले पोखरामा संकलन गरिएको बचत अन्य शाखाले लगानी गरेको र अन्य शाखामा आएको समस्याको प्रभाव पोखरामा पनि परेको हो,’ उनले भने, ‘पोखरामा लगानी गरिएको कर्जामध्ये दुई करोड मात्र उठ्न बाँकी छ ।’
चितवनमा १३ हजार निक्षेपकर्ताको एक अर्ब फस्यो
चितवनको भरतपुर र टाँडीमा शिव शिखर सहकारीका शाखा कार्यालय छन् । यी शाखामा १३ हजार सर्वसाधारणको करिब एक अर्ब बचत रहेको छ । तर, भरतपुर र टाँडीमा माघ अन्तिमदेखि रकम भुक्तानी सेवा बन्द छ । टाँडीमा रहेको मार्ट पनि बन्द छ । मुग्लिनमा रहेको मार्ट भने अहिले पनि सञ्चालनमा छ । सहकारी शाखाका व्यवस्थापक तथा कर्मचारी फोनसमेत बन्द गरेर सम्पर्कविहीन भएपछि बचतकर्ताले संघर्ष समिति बनाएर लगत संकलन तथा दबाबका कार्यक्रम तय गर्दै छन् । संघर्ष समितिका जिल्ला अध्यक्ष नारायणप्रसाद भण्डारीले चितवनमा मात्रै १३ हजार बचतकर्ता रहेको र एक अर्ब निक्षेप रहेको बताए । सबैले उजुरीको तयारी गरिरहेको उनको भनाइ छ । ‘अहिले हामी डेटा संकलन गरेर संगठित हुँदै छौँ,’ उनले भने ।
भरतपुर– १२ स्थित सहकारीको शाखामा बचतकर्ताहरू आफ्नो खाताका निस्सा प्रमाण तथा नागरिकताको फोटोकपी लिएर उपस्थित थिए । तर, सहकारीका आधिकारिक पदाधिकारी तथा कर्मचारी भने कार्यालयमा थिएनन् । सहकारीको प्रवेशद्वारमा लेखिएको थियो, ‘पीडित सबैले संयुक्त जाहेरी दिने भएको हुँदा जेठ १२ गतेसम्म आफ्नो नाम वा आफू संरक्षक रहेको बाबुनानीका नाममा रहेको विभिन्न बचत, मुद्दती, दैनिक, मासिक, बाल बचतलगायत खाताको निस्सा प्रमाण र आफ्नो नागरिकताको प्रमाणपत्रको फोटोकपीसमेत लिई आउन र आउँदा आफ्नो टोल, छिमेकमा रहेका पीडितलाई पनि खबर गरी पठाइदिन सूचित गरिन्छ ।’ जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय अनुसन्धान विभागमार्फत जाहेरीको जानकारी अएको र अनुसन्धानको प्रक्रिया अघि बढेको बताएको छ । सहकारी ऐनमा बचतकर्ताले जम्मा गरेको रकम उसले चाहेको समयमा झिक्न पाउने प्रावधान छ ।