१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o८o जेठ ५ शुक्रबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

ठेकेदारको धरौटी रकमबाटै महुरे–सिमपानी सडक मर्मत सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १३:oo:oo

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिमपानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाटै खर्च हुने गरी मर्मत तथा सुधार कार्य सुरु गरिएको छ। सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रे गर्ने ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले उसैको धरौटी रकमबाट मर्मत सुरु गरेको हो।

खोटाङ क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमबार दुईवटा टिपर र एउटा जेसिभी निर्माणस्थलमा पठाएको छ। सहज आवतजावतका लागि महुरे–सिमपानी सडकखण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्नेलगायतका काम सुरु गरिएको सडक विभागको गाईघाट उदयपुर कार्यालयका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए।

कालोपत्रको अवरुद्ध काम पुनः सञ्चालन गर्न तथा सो सडकखण्डमा नियमित आवतजावत गर्ने वातावरण बनाउन पटकपटक पत्र पठाएर ताकेता गरिएको थियो। तर, ६–७ महिनासम्म ठेकेदार सम्पर्कमा नआएपछि उसकै धरौटी रकमबाट काटिने गरी सडक मर्मत सम्भार सुरु गरिएको इन्जिनियर खकुरेलले बताए। सिमपानी (राजापानी) सडक मर्मत गर्न १०–१२ दिन समय लाग्ने कार्यालयले जनाएको छ।

महुरे–सिमपानी सडक कालोपत्रको ठेक्का सम्झौता गर्नेक्रममा भारत कन्स्ट्रक्सन–सिद्धि शाहीले विभागको कार्यालयमा करिब रु. एक करोड धरौटी रकम जम्मा गरेको थियो। सडक मर्मत तथा सुधारका क्रममा त्यही धरौटीबापतको रकम खर्च गरिने सडक विभागले जनाएको छ।

गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट निर्माणसम्बन्धी सम्पूर्ण उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनी माघ ४ गते क्रसरकै सामान उठाएर हिँडेको थियो। ‘निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गर भनेर पटकपटक चिठ्ठी लेखियो, ताकेता गरियो । सम्पर्कविहीन भएपछि राज्य त यथास्थितिमा रहन सक्दैन,’ खकुरेलले भने, ‘हामीसँग एउटै उपाय थियो। त्यही उपायअन्तर्गत धरौटी रकमबाट खर्च गर्ने गरी काम सुरु गराएका छौँ। वेलावेलामा मर्मत गरिदिएको भए यस्तो स्थिति आउने थिएन। अहिले ठेकेदारको अत्तोपत्तो छैन। गर्नुपर्ने उसैले हो। उसले नगरेपछि बाध्य भएर हामीले यो बाटो अपनाएर मर्मत गर्नुपरेको हो।’

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडकखण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धी शाही तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्म (२७ किलोमिटर) सडकखण्डको ठेक्का देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीको जिम्मामा छ। तर, दुवै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले चरम लापरबाही देखाएको छ।

उता, मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका ठेकेदार पनि काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन बनेका छन्। कालोपत्रको जिम्मा लिएका भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौंका ठेकेदार सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता उक्त सडकखण्ड कालोपत्रको काम ठप्प छ।

काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलिखेलका इन्जिनियर दीपेश मनकर्मीले जानकारी दिए। कालोपत्रको काममा ढिलासुस्ती भएको भन्दै आयोजनाको कार्यालयले ०७९ मंसिरमा ठेक्का तोड्न सिफारिस गरेलगत्तै काममा फर्किएको ठेकेदार पुनः सम्पर्कविहीन बनेको हो।

ad
ad
ad
ad