१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अजित अधिकारी काठमाडाैं
२०८० जेठ ४ बिहीबार ०७:५५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियमको मूल्य स्थानअनुसार फरक–फरक हुने

विगतमा काठमाडौंभन्दा तराईमा प्रतिलिटर १.५० रुपैयाँ सस्तो र पोखरा, दाङ तथा सुर्खेतमा एक रुपैयाँ महँगो थियो

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०८० जेठ ४ बिहीबार ०७:५५:००

नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको एउटै मूल्य तोक्ने प्रणाली स्थगन गरेर भूगोलअनुसार फरक–फरक मूल्य निर्धारण गर्ने भएको छ । चरम घाटा पूर्ति गर्न करिब दुई वर्षदेखि देशभर एउटै मूल्य तोक्ने र निगमको डिपोदेखि १५ किलोमिटरभन्दा टाढाका पेट्रोल पम्पले ढुवानी लागत जोडेर पेट्रोल र डिजेलको मूल्य निर्धारण गर्न पाउने व्यवस्था थियो ।

तर, निगमको सञ्चित घाटा कम भएर नाफाउन्मुख हुन थालेपछि पुनः विगतमा जस्तै ढुवानी लागतका आधारमा भूगोलअनुसार कम्तीमा तीनथरी मूल्य निर्धारण गरिने सञ्चालक समिति बैठकले निर्णय गरेको हो । सो निर्णय कार्यान्वयनका लागि आवश्यक अध्ययन गर्न सञ्चालक समिति सदस्यसमेत रहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव उर्मिला अर्याल र निगमको आपूर्ति तथा वितरण विभाग निर्देशक दीपक बराल सदस्य छन् ।

समितिले ढुवानी लागतका आधारमा पेट्रोलियम पदार्थको उपभोक्तामैत्री मूल्य निर्धारण गर्ने विषयमा कार्यादेश पाएको छ । दुई वर्षअघिसम्म पेट्रोलियमको मूल्य निर्धारण गर्दा काठमाडौंलाई आधार मान्ने गरिएको थियो । जसकारण काठमाडौंभन्दा तराईमा ढुवानी लागत सस्तो पर्ने हुँदा प्रतिलिटर १.५० रुपैयाँ सस्तो र काठमाडौंको तुलनामा ढुवानी लागत महँगो पर्ने पोखरा, दाङ तथा सुर्खेतमा प्रतिलिटर एक रुपैयाँ महँगो हुने गरी पेट्रोलियमको मूल्य निर्धारण हुन्थ्यो । यीबाहेक देशभरका अन्य क्षेत्रमा काठमाडौंमा तोकिएको मूल्यलाई नै आधार मानेर पेट्रोल पम्पले ढुवानी लागत जोड्न पाउने व्यवस्था थियो ।

निगम प्रवक्ता मनोज ठाकुरले अध्ययन समितिबाट प्राप्त रायका आधारमा कुन मूल्य प्रणाली लागू गर्ने भन्ने विषयमा निर्णय गर्न सघाउ पुग्ने बताए । ‘विगतमा भूगोलअनुसार तीनथरी मूल्य निर्धारण हुने गरेको थियो । त्यही मोडेल लागू गर्ने कि अन्य परिष्कृत मोडेल भन्ने विषयमा अध्ययन समितिले दिएको प्रतिवेदनबाट टुंगो लाग्छ,’ उनले भने ।देशभर एउटै मूल्य निर्धारण गर्दा निगमलाई मासिक ५० करोड रुपैयाँसम्म फाइदा हुन्छ । सोहीकारण, घाटा पूर्ति गर्न भन्दै निगमले देशभर एउटै मूल्य निर्धारण गर्ने प्रणाली कार्यान्वयन गरिरहेको छ । 

तराईमा बिक्री बढाएर नाफा कमाउने उपाय
एकातिर घाटा रकम कम भइसकेको र अर्कोतिर भारतमा इन्धनको मूल्य सस्तो भई तराईको बिक्री घट्न थालेपछि निगमले पुरानै मूल्य प्रणाली ब्युँताउन लागेको हो । निगमका एक अधिकारीका अनुसार पुरानो मूल्य प्रणाली लागू गर्दा तराईमा प्रतिलिटर १.५० रुपैयाँ पेट्रोल र डिजेल सस्तो हुँदा भारतसँगको मूल्यअन्तर केही कम भई बिक्रीमा सुधार हुने अपेक्षा राखिएको छ ।

अहिले पेट्रोलको मूल्य भारतको रक्सौल (वीरगन्जको सीमावर्ती बजार) मा १०९.०१ भारु अर्थात् १७४.४१ नेपाली रुपैयाँ प्रतिलिटर छ भने नेपालमा १७५ रुपैयाँ प्रतिलिटर छ । त्यस्तै, डिजेलको मूल्य रक्सौलमा ९५.६९ भारु अर्थात् १५३.१० नेपाली रुपैयाँ छ भने नेपालमा १५५ रुपैयाँ प्रतिलिटर छ । त्यस्तै, अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेकाले इन्धनको मूल्य सस्तो हुन थालेको छ ।

‘यो प्रणालीका कारण नेपालमा आउँदा दिनमा उपभोक्ताले तेल सस्तोमा पाउने, भारततर्फ गएर नेपाली सवारीसाधनले इन्धन भर्ने प्रवृत्ति राकिने र भारतीय सवारीसाधन नेपालतर्फ आएर इन्धन भर्ने प्रवृत्ति बढ्ने भई इन्धनको बिक्री बढेर नाफासमेत बढ्ने अपेक्षा राखेर पुरानो मूल्य प्रणाली ब्युँताउन खोजिएको छ,’ निगमका एक कर्मचारीले भने ।