मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०८० जेठ ३ बुधबार ०७:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम, गण्डकीको बढी

Read Time : > 2 मिनेट
२०८० जेठ ३ बुधबार ०७:२५:००

देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान रहेको बागमती प्रदेशको आर्थिक वृद्धिदर सुस्त देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा बागमतीको वृद्धिदर १.४ प्रतिशत हुने देखिएको छ । यो अन्य ६ प्रदेशको तुलनामा सबैभन्दा कम वृद्धिदर हो । 

चालू आवमा केन्द्रीय तथ्यांक कार्यालयले देशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ । यसमा बागमतीको हिस्सा ३६.८ प्रतिशत पुग्ने कार्यालयको अनुमान छ । जसअनुसार बागमतीको अर्थतन्त्र १९ खर्ब ८१ अर्ब पुग्नेछ । योगदानका हिसाबले सबैभन्दा ठूलो अंश ओगट्ने बागमतीको वृद्धिदर भने अत्यधिक कम छ । आर्थिक क्रियाकलापका आधारमा बागमतीबाहेक ६ प्रदेशको अर्थतन्त्र कृषि क्षेत्रमा निर्भर देखिन्छ । बागमती प्रदेशको अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । 

कोसी प्रदेश :  चालू आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब आठ खर्ब ४९ अर्ब हुने अनुमान छ । गत आवको संशोधित अनुमान करिब सात खर्ब ८० अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्‍याउने अनुमान छ । यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.४७ प्रतिशत थियो । चालू आवमा संकुचन आई २.० प्रतिशत मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३३.२ प्रतिशत कृषि क्षेत्रको रहने उल्लेख छ । सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहनेछ ।

मधेस प्रदेश :  चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब सात खर्ब सात अर्ब हुने अनुमान छ । गत आवको संशोधित अनुमान करिब ६ खर्ब ५० अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत १३.१ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६३ प्रतिशत थियो । चालू आवमा संकुचन आई १.६९ प्रतिशत मात्र कायम रहने अनुमान छ । 

बागमती प्रदेश :  चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब १८ खर्ब १९ अर्ब छ । गत आवमा देशको कुल गार्हस्थ्य उत्पादनको ३७.९५ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालू आवमा ३६.८६ प्रतिशत योगदान पुर्‍याउने अनुमान गरिएको छ । योगदानका हिसाबले सबैभन्दा ठूलो अंश ओगट्ने बागमतीको वृद्धिदर भने अत्यधिक कम छ । चालू आर्थिक वर्षमा बागमतीको वृद्धिदर १.४ प्रतिशत हुने देखिएको छ । गत आवमा यस्तो वृद्धिदर ६.३ प्रतिशत थियो ।

गण्डकी प्रदेश :  चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब चार खर्ब ८२ अर्ब हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब चार खर्ब ३७ अर्ब थियो । गत आवमा देशको कुल गार्हस्थ्य उत्पादनको ८.९ प्रतिशत ओगटेको यस प्रदेशले चालू आवमा ९ प्रतिशत योगदान पुर्‍याउने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २५.९ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत सहयोगी सेवा क्षेत्रको रहेको छ । चालू आवमा सबैभन्दा बढी गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत पुग्ने अनुमान छ । गत आवमा गण्डकीको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो । 

लुम्बिनी प्रदेश :  चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब सात खर्ब ६२ अर्ब हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब थियो । गत आवमा देशको कुल गार्हस्थ्य उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालू आवमा १४.२ प्रतिशत पुर्‍याउने अनुमान छ । लुम्बिनीको आर्थिक वृद्धिदर गत आवमा ५ प्रतिशत रहेको थियो । तर, चालू आवमा २.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । 
कर्णाली प्रदेश :  चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब दुई खर्ब २१ अर्ब हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब दुई खर्ब एक अर्ब थियो । गत आवमा देशको कुल गार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालू आवमा समेत ४.१ प्रतिशत नै पुर्‍याउने अनुमान छ । यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.३२ प्रतिशत थियो । चालू आवमा संकुचन आई १.९१ प्रतिशत कायम रहने अनुमान छ । 

सुदूरपश्चिम प्रदेश :  चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब तीन खर्ब ७६ अर्ब हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब तीन खर्ब ४५ अर्ब रहेको छ । गत आवमा देशको कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालू आवमा समेत उही हिस्सा लिने अनुमान छ । गत आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.७८ प्रतिशत थियो भने चालू आवमा संकुचन आई १.७८ प्रतिशत रहने अनुमान छ ।