बैंक तथा वित्तीय संस्थाको ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको र अर्थतन्त्र सहज अवस्थामा जान थालेको बैंकरहरूले बताएका छन्। काठमाडौंको सोल्टी होटेलमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा सहभागी बैंकरहरूले अर्थतन्त्रमा चुनौती अझै कायम रहे पनि सहजताउन्मुख भएको बताएका हुन्।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसीले पछिल्लो समय धेरै सुधारका संकेत देखिएको बताए। ‘मौद्रिक नीतिको समीक्षाले पनि केही सहजता ल्याएको छ, ब्याजदर बिस्तारै घट्दै गएको छ। १३ प्रतिशतमाथि पुगेको ब्याजदर १२.८ प्रतिशतमा आइसकेको छ। अझै घट्ने छ,’ उनले भने, ‘आगामी दिनहरू निकै नै आशावादी हुने देखेका छौँ।’ उनले नेपालको बैंकिङ क्षेत्र चुनौतीका बीच अघि बढ्न तयार रहेको बताए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले वित्तीय पहुँचमा धेरै ठूलो विकास भएको दाबी गरे। उनले देशको धेरै कुनाकाप्चामा वाणिज्य बैंकहरू नै पुगिसकेको बताए। तर, वित्तीय साक्षरता भने बढाउन आवश्यक रहेको उनको भनाइ छ। ‘वित्तीय पहुँच छ तर सचेतना, साक्षरता छैन,’ उनले भने, ‘पहुँचसँगै साक्षरतासमेत बढाउनुपर्छ ।’ अहिले बाह्य क्षेत्र केही सहज भएको उनले बताए।
‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ आयोजित बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा र इकोसिस्टमको डिजिटलाइजेसन, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयमा छलफल हुँदैछ। बैंकिङ समाचारले आयोजना गर्ने यस कार्यक्रमलाई नबिल बैंकले प्रायोजन गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकरलगायतको समेत सहभागिता रहेको छ।