१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० जेठ १ सोमबार १३:२८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यालय समायोजन

Read Time : > 2 मिनेट
२०८० जेठ १ सोमबार १३:२८:००

मालिकार्जुन गाउँपालिकाले शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यालयको समायोजन गरेको छ। विद्यार्थी संख्या कम रहेका गाउँपालिकाभित्रका सातवटा आधारभूत विद्यालय समायोजन गरेको हो। 

विद्यार्थी संख्या कम रहेका शान्ति निकेतन आधारभूत विद्यालय कालामाटा, रानीशिखर आधारभूत विद्यालय गोठ्युडी, भूमिराज आधारभूत विद्यालय च्युरानी, मालिकार्जुन आधारभूत विद्यालय कुचाकोट, केदारनाथ आधारभूत विद्यालय श्रीपुर, उदयदेव आधारभूत विद्यालय खेतार र भगवती आधारभूत विद्यालय सञ्चोरीलाई समायोजन गरेको हो। 

शिशु कक्षादेखि कक्षा तीनसम्म सञ्चालनमा रहेका यी विद्यालयमा विद्यार्थी संख्या न्यून थियो। मालिकार्जुन गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका अनुसार शान्ति निकेतन आधारभूत विद्यालयमा १५ जना, रानीशिखर आधारभूत विद्यालयमा १० जना, भूमिराज आधारभूत विद्यालय च्युरानीमा ११ जना, मालिकार्जुन आधारभूत विद्यालय कुचाकोट ११ जना, केदारनाथ आधारभूत विद्यालय श्रीपुरमा ११ जना, उदयदेव आधारभूत विद्यालय खेतारमा १० जना र भगवती आधारभूत विद्यालय सञ्चोरीमा १७ जना विद्यार्थी थिए।

गाउँमा विद्यार्थी पाउनै छाड्यो, एकातिर शिक्षक मात्रै हुने, तर विद्यार्थी नहुने अवस्था आएपछि विद्यालय समायोजन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए। समायोजन गरिएका विद्यालयमा शिशु कक्षा मात्रै यथावत् राखिएको छ। 

यस्तै, गाउँपालिकाले १५ वटा विद्यालयको कक्षा समायोजन गरेको छ। जसअनुसार डुङरी आवि डुङरी, दुर्गेश्वरी आवि रेबली, वसन्तपुर आवि न्वालपानी, राष्ट्रिय मावि ठिङ, युवावर्ष आवि खुना, बानेश्वर आवि गाडखोला, देवपुर आवि खालिडाँडा, जनज्योति आवि देवधुरा, हुनैनाथ आवि बेलुकोट, लटिनाथ आवि लिमाको कक्षा समायोजन गरिएको छ। 

यस्तै, सुनशिखर आवि घोडेढुंगा, मालिकार्जुन आवि लास, बालकल्याण आवि थकतोली, लटिनाथ आवि खोलिचौरा, शोमनाथ आवि चस्कोट र दीपज्योति आवि रञ्चनीको कक्षा समायोजन गरेको हो। 

विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा लगेर समायोजन गरिएको धामीले बताए। पालिकाभरि ४४ विद्यालयमा कुल तीन हजार पाँच सय १० जना विद्यार्थी अध्ययनरत थिए। एकातिर शिक्षाको गुणस्तर खस्किँदै जानु र विद्यार्थी पलायन रोक्न पनि समायोजन र दरबन्दी मिलान आवश्यक बोध भएको थियो।

यस्तै गाउँपालिकाले लामो समयदेखि रोकिएर रहेको शिक्षक दरबन्दी मिलान गरेको छ। शिक्षामा सुधार गर्ने उद्देश्यअनुरूप गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको कार्य सकेको हो। 

पालिकाभरि रहेका कुल स्थायी शिक्षक एक सय ४४ जना, राहत ४६ जना र गाउँपालिका शिक्षक ५८ जना रहेका छन्। जसमा स्थायी र राहत गरी एक सय ९० जना शिक्षकको दरबन्दी मिलान कार्य सकिएको धामीले जानकारी दिए।

शिक्षक दरबन्दी मिलान गर्दा विद्यार्थी अनुपात, भौगोलिक नक्सांकनलाई प्राथमिकता दिइएको छ। कुनै विद्यालयमा शिक्षक बढी विद्यार्थी कम, कोही विद्यालयमा विद्यार्थी बढी शिक्षक कम हुने अवस्थाको अन्त्य गरिएको धामीले बताए।

गाउँपालिकाले वर्षमा झन्डै तीन करोड रुपैयाँ शिक्षक कर्मचारीमा खर्च गर्दै आइरहेकोमा समायोजनपछि खर्च व्यवस्थापन हुने अपेक्षा गाउँपालिकाले गरेको छ। 

‘शिक्षाको गुणस्तर उकास्न तथा पालिकामै विद्यार्थी टिकाउन पनि विद्यालय समायोजन, शिक्षक दरबन्दी आवश्यक थियो,’ गाउँपालिका अध्यक्ष हिरासिंह धामीले भने, ‘अहिले कसले के भन्यो भन्दा पनि भोलिका लागि सही कि बेठीक भन्ने निष्कर्षमा पुगेर समायोजन र दरबन्दी मिलान गरिएको हो।’

गाउँपालिकाले प्रतिशिक्षक २० जना विद्यार्थी पुग्ने गरी दरबन्दी मिलानको काम गरेको छ। शिक्षक–विद्यार्थी अनुपात राष्ट्रिय मापदण्ड २५ जना छ। गाउँपालिकाले प्रस्तावित रूपमा सञ्चालन हुँदै आएको विद्यालयलाई एक तहमाथिको स्वीकृत प्रदान गर्दै विषयगत शिक्षक दरबन्दी व्यवस्था गरेको जनाएको छ।

विद्यालयमा विद्यार्थी आकर्षण बढाउन कक्षा १ देखि अंग्रेजी माध्यममा पढाइ सञ्चालन गर्ने विद्यालयलाई पालिकाले वार्षिक एक लाख रुपैयाँ थप अनुदान सहयोग गर्ने भएको छ। गाउँपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि ०७९ अनुसार गरिएको जनाएको छ। 

जिल्लामा विद्यालय समायोजन, कक्षा मिलान, तथा शिक्षक सरुवा गर्ने मालिकार्जुन गाउँपालिका पहिलो भएको छ। शिक्षामा सुधार ल्याउने नीतिअनुरूप गाउँपालिकाले लामो गृहकार्य गरेर समायोजन र दरबन्दी मिलानको काम सकेको हो। 

गाउँपालिकाले बस्तीस्तरमै गएर विद्यालयको भौगोलिक अवस्था, सबै विद्यालयका विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, गाउँपालिकामा बृहत् अन्तर्क्रिया, राजनीतिक दल, शिक्षक संघ–संगठनको सहमति गराएको थियो।