मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १ सोमबार ११:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटलाई उत्पादनमुखी बनाउन चेम्बरको सुझाव

Read Time : > 1 मिनेट
२०८० जेठ १ सोमबार ११:४३:००

नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेको छ । आगामी बजेटमा सुझाव दिने क्रममा चेम्बरले बजेट यथार्थपरक र कार्यान्वयनयोग्य तथा चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिएको हो । 

अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गम्भीर आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी–व्यवसायीलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्ने गरी बजेट तर्जुमा गर्न सुझाव दिए । ‘विनियोजित विकास बजेटलाई समयबद्ध तालिकाअनुसार कार्ययोजना बनाएर खर्च गर्नुपर्छ,’ उनले भने, ‘विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजीकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरूको नकारात्मक प्रभावले गम्भीर आर्थिक शिथिलता उत्पन्न गरेको छ । अबको बजेट उत्पादनमा केन्द्रित गर्न आवश्यक छ ।’

चेम्बरले करको दायरा बढाउनसमेत अर्थमन्त्री महतलाई सुझाव दिएको छ । लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको भन्दै अध्यक्ष मल्लले करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् । नागरिकता वितरण गर्दा सँगैै प्यानकार्ड पनि दिने व्यवस्था गर्नुपर्ने उनले बताए । भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै चेम्बरले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनसमेत आग्रह गरेको छ । यस्तै, भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राख्नसमेत चेम्बरको सुझाव छ । 

मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू हुनुपर्ने र आमउपभोग्य वस्तु तथा विलासिताका वस्तुहरूमा फरक दर कायम हुनुपर्ने चेम्बरले सुझाएको छ । चेम्बरले व्यक्तिको हकमा आठ लाख रुपैयाँ र दम्पतीको हकमा १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट दिनसमेत अर्थमन्त्री महतसमक्ष माग गरेको छ । नकारात्मक सूचीमा रहेका रक्सी, बियर एवं सुर्तीजन्य पदार्थ आदिको उत्पादनबाहेक सबै प्रकारका उत्पादनमा अन्तःशुल्क हटाउनसमेत चेम्बरले माग गरेको छ । 

देशमा रहेका प्राकृतिक स्रोत–साधन र जडीबुटीजन्य वस्तुहरूको समुचित प्रवद्र्धन गर्न कानुन बनाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । ‘बाँझो जमिन सदुपयोग नीति बनाएर बजेटमा विशेष व्यवस्था गरिनुपर्छ,’ चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी देशलाई आत्मनिर्भर बनाइनुपर्छ ।’ चेम्बरले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन ब्रोकर लाइसेन्सविना घरजग्गा कारोबार गर्न नपाउने व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराएको छ ।