
पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानुनी भएको फैसला गरेको छ । अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । खानका वकिलहरूले मंगलबार इस्लामाबादको अदालत परिसरबाट उनको हिरासत गैरकानुनी भएको तर्क गर्दै अदालतमा उजुरी गरेका थिए ।
प्रधानन्यायाधीश उमर अता बन्दियाल, न्यायाधीश मोहम्मद अली मजहर र न्यायाधीश अतहर मिनाल्लाहको तीन सदस्यीय इजलासले ७० वर्षीय खानलाई इस्लामाबाद उच्च अदालतमा शुक्रबार पेस गर्न आदेश दिएको छ ।पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मंगलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख सहरमा झडप भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।
सिह्न्वाका अनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी छन् । खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका कार्यकर्ता पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए । राष्ट्रिय एकाउन्टबिलिटी ब्युरो (एनएबी) ले खानलाई भ्रष्टाचारको आरोपमा मंगलबार इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो । देशको संघीय सरकारले राजधानी इस्लामाबाद, पन्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख सहरमा प्रदर्शनकारीलाई रोक्न र कानुन र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।
यसैबीच, राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपैयाँको अवमूल्यन भएको छ । पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको हो । मंगलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्यांकले देखाएको छ ।