ठगीमा संलग्न सांसदको राहदानी जफत गर्न माग

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाली नागरिकलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणमा संलग्न सांसदको राहदानी जफत गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले जनताले जिम्मेवारी दिएको सांसद र मन्त्री पदको दुरुपयोग गरी देश र जनता ठग्ने सांसदलाई सदनबाट निलम्बन तथा राहदानी र सम्पत्ति जफत गर्न माग गरेका हुन् । 

उनीहरूलाई राजनीतिमा पनि आउन नपाउने गरी बन्देज गर्नुपर्ने सांसदहरूको माग छ । यो प्रकरणमा हालसम्म सांसदहरू टोपबहादुर रायमाझी, मञ्जु खाण र आरजु राणा देउवा मुछिएका छन् । रायमाझी फरार छन् । मुछिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएकाले पासपोर्ट जफत गर्न सदनमा आवाज उठेको हो । 

कांग्रेस महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न जुनसुकै तहको नेता भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘संलग्न जोसुकै होस्, जुनसुकै दल, तह, ओहोदाको होस् कारबाहीको दायरामा ल्याउनैपर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्, न त कुनै भेटघाटले प्रभाव पारोस् । कहीँकतैबाट प्रभावित नहोस्, अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् । निर्दाेष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्,’ उनले भने, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि सुशासनको नारा लगाउन सक्छ । तपाईं (प्रधानमन्त्री)को फिल्म चल्छ, हाउसफुल हुन्छ ।’ 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दोषीहरू कोही नछुट्ने गरी सरकारले कारबाही अगाडि बढाउनुपर्ने र यसमा आफ्नो पार्टीको सहयोग, समर्थन रहने बताए । विधिपूर्वक भइरहेको छानबिनमा सघाउन सांसद टोपबहादुर रायमाझीलाई पार्टीले निर्देशन गरिसकेको पनि उनले जानकारी गराए । 

माओवादी सांसद माधव सापकोटाले अमेरिकी गुप्तचर संस्था एफबिआईले समेत चासो लिएर यो विषयमा अनुसन्धान गरिरहेको सुन्नमा आएको भन्दै स्वार्थमा जोडेर राजनीतीकरण नगर्न र गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराए । रास्वपा सांसद डोरप्रसाद अर्यालले देश छोडेर भाग्न सक्ने खतरा भएकाले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गर्न माग गरे । रास्वपाकै सुमना श्रेष्ठले अनुसन्धान नसकिएसम्म ‘फ्लाइट रिस्क’ भएका भ्रष्टाचारमा नाम आएका सांसदहरूको राहदानी जफत गर्नुपर्ने माग गरिन् । बोल्ने सबै सांसदले सरकारले खुट्टा कमाउन नहुने र प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्नेमा जोड दिए ।

जसपाकी मञ्जु शर्मा अन्सारीले देश र जनता ठग्ने पात्रलाई सदनबाट निलम्बन गरेर सम्पत्ति जफत गर्न माग गरिन् । चाल्स शोभराजजस्तो विश्वव्यापी कुख्यात अपराधी समात्न सक्ने नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा मुछिएको व्यक्ति (टोपबहादुर रायमाझी)लाई किन समात्न नसकेको भनी प्रश्न गरिन् । ‘के यो मिलेमतो होइन ? एकातिर भ्रष्टाचार निर्मूल गर्ने भन्ने, अर्काेतिर व्यक्ति समातिँदैन, कतै यो तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भन्ने खेल खेलिएको त छैन, जनताको आँखामा झारो हाल्न ?’ उनले भनिन्, ‘देश र जनता ठग्ने यस्ता व्यक्तिलाई सांसद बन्ने कुनै अधिकार छैन । तुरुन्त सदनबाट निलम्बन हुनुपर्छ । यस्ता व्यक्तिको सम्पत्ति जफत गरेर सरकारको ढुकुटीमा राख्नुपर्छ ।’

सांसद विमला सुवेदीले भ्रष्टाचारीलाई जोगाउनका लागि दौडधुप नगर्न शीर्ष नेतालाई चेतावनी दिइन् । सांसद रणेन्द्र बरालीले टोपबहादुर रायमाझीलाई प्रहरीमा बुझाएर भ्रष्टाचारविरुद्धको अभियानमा सघाउन अनुरोध गरे । राजकुमार राईले मुछिएका सबैलाई कारबाही गर्न माग गरे । रामकृष्ण यादवले राष्ट्रघाती अपराधको निष्पक्ष छानबिन गर्न माग गरे । रामशंकर यादवले पञ्चायत व्यवस्थादेखि आजसम्मका भ्रष्ट राजनीतिज्ञ र राष्ट्रसेवकमाथि छानबिन गर्न विशेष समितिको माग गरे । रामहरि खतिवडाले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे । 

सांसद रोशन कार्कीले मानव तस्कर गरेर पैसा कमाउने अपराधीको सम्पत्ति जफत गर्न र कहिल्यै पनि राजनीतिमा आउन नपाउने गरी बन्देज गर्नुपर्ने माग गरिन् । यसो गरिए मात्र भ्रष्टाचार न्यूनीकरण हुने भन्दै भ्रष्टाचारमा संलग्न आफन्त, पार्टीका व्यक्ति जोसुकै भए पनि कडा सजाय दिनुपर्ने उनको भनाइ छ । लेखनाथ दाहालले राष्ट्रविरुद्धको जघन्य अपराधमा संलग्नलाई राजनीतिक संरक्षण दिने काम नगर्न चेतावनी दिए । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठगीमा संलग्नलाई उन्मुक्ति नदिन माग गरे । ‘यो ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध, सरकारी कागज किर्तेसहित यो एक प्रकारको जघन्य अपराध हो । यसमा संलग्न मानिसलाई छुट दिने त कल्पना नगरौँ, यसलाई कुनै पनि बहानामा कमजोर बनाउने, उन्मुक्ति दिने काम सरकारले गर्नुहुँदैन,’ उनले भने । पछिल्ला दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि, अख्तियारलाई नबुझाउने हो कि जस्ता तर्कहरू आउन थालेको भन्दै उनले यसप्रकारको गल्ती नगर्न सरकारलाई सचेत गराए । 

लिङदेनले सरकारलाई रुलिङ गर्न सभामुखलाई अनुरोध गरे । सभामुख देवराज घिमिरेले उठेका विषयको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । ‘माननीय सदस्यहरू अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ घिमिरेले भने । 
 

See More On

सुझावित समाचार