१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Friday, 08 November, 2024
समाचार डिजिटल संस्करण

चौतर्फी आलोचनापछि सुकौरा पुगे मुख्यमन्त्री चाैधरी 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १३:o३:oo

दंगीशरण थारूले राज गरेको ठाउँ हो– तुलसीपर– ११ स्थित सुकौरा। तर, त्यो अहिले ओझेलमा छ। त्यहाँ अहिले हेर्न लाइक कुनै पनि संरचना छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको भ्युटावर बनेको छ।  

त्योबाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्।  दंगीशरण राजाको सालिक र हरित पार्क बनाइएको छ । तर, त्यो पनि अलपत्र छ। 

नाम हरितपार्क भए पनि त्यही कहीँकतै पनि हरियो देख्न पाइँदैन। निर्माण भएको पार्कमा गरिएको तारबार पनि फालिएको छ। पार्क गाइभैँसी चरणको क्षेत्र बनेको छ। 

त्यहाँ रोपिएको दुबाे मरिसकेको छ। त्यही पार्कमा दंगीशरण राजाको सालिक पनि राखिएको छ। २५ लाख लगातमा त्यहाँ पार्क र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो। ऐतिहासिक महत्व बोकेको स्थान भएकाले आन्तरिक पर्यटकको गन्तव्य बन्नुपर्ने पार्क व्यवस्थापन अभावमा चरण बनेको छ। स्थानीय नरबहादुर चन्दका अनुसार पहिले बिदाको दिन अलिअलि मानिस घुम्न आए पनि अहिले पार्क शून्य छ। 

तर, त्यही दंगीशरणको नाम भजाएर अहिले चखौरा भने चम्किएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सञ्चालन गरेको दंगीशरण गाउँपालिका– ३ चखौरास्थित थारू संग्रहालयमा दैनिक भिडभाड लाग्छ। 

संग्रहालयमा अहिले दैनिक एक हजारको हाराहारीमा संग्रहालय अवलोकन गर्ने गर्छन्। त्यहाँ दंगीशरण राजाको सालिक तथा थारू समुदायका ऐतिहासिक तथ्यसमेत त्यहाँ राखिएको छ। 

त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए।

त्यो संग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेकोसमेत उनले बताए। त्यसले गर्दा पनि सुकौराको विकासका लागि बजेट आउन नसकेको उनले बताए।

सुकौरामा बनाउनुपर्ने संग्रहालय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइ छ।  उनले भने, ‘सबै गरेर अहिलेसम्म करिब ६–७ करोड बजेट चखौरामा गएको छ। तर, सुकौरामा एक करोडभन्दा बढि बजेट अहिलेसम्म पनि परेको छैन। अहिले चखौरामा अन्य संरचना निर्माणका कामहरू पनि भइरहेका छन्, तर सुकौरा शून्य छ।’

नेपालभरका थारू समुदायको पहिचानसँग सम्बन्धित सम्पूर्ण सूचना संग्रहालयमा राखिएकाले पनि त्यहाँ निकै चहलपहल हुने गरेको थारू संस्कृतिक संग्रहालयका उपाध्यक्ष शान्ता चौधरीले बताइन्। 

‘हामीले नेपालभरका थारू सांस्कृतिक, रहनसहन, वेशभूषासँग जोडिएका पहिचानहरू त्यहाँ राखेका छौँ,’ उनले भनिन्, ‘त्यसले गर्दा पनि यहाँ हेर्न आउनेको अवलोकन धेरै हुने गरेको छ।’ 

नाम दंगीशरण राख्ने, तर सुकौरालाई दंगीशरणमा नमिलाउँदा पनि सबै बजेट दंगीशरणस्थित चखौरामा गएको त्यहाँका नागरिकको गुनासो छ। दंगीशरण नामकरण गर्दा सुकौरालाई पनि दंगीशरणमै मिसाएको भए त्यहाँको विकासले फड्को मार्ने उनीहरूको ठम्याइ छ। 

संग्रहालयलाई डिल्ली चौधरीको आफ्नै आइएनजिओ बेसले सहयोग गरेको थियो । उक्त संग्रहालयको अवलोकनका लागि रु. ५० प्रवेश शुल्क लाग्ने गर्छ । विद्यार्थी, एकल महिला, असहाय, अपांगता भएका व्यक्तिलाई भने रु. ३० मात्रै लाग्ने गर्छ ।

संग्रहालयमा हालसम्म झन्डै पाँच हजारजति आदिवासी थारू जातिका कला–संस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएको छ।

धर्तीपुत्र दाबी गर्ने थारू समुदायको जीवनीसँग सम्बन्धित विभिन्न कृषि औजार, कला र कलासंस्कृति झल्कने वस्तुहरू राखिएको छ । खानाको परिकारसमेत राखिएको छ। त्यहाँ घुँगी, सुँगुर बँगुरको मासु, मुसाको चटनी, माछा, गगटा, चामलको पिठोबाट बनाइने ढिक्री, अनदीको परिकार, अनदीको झोल, मदिरालगायत थारू समुदायको खानाको परिकारहरूसमेत पाइन्छ । त्यहाँ खानेकुरामा पनि बाहिरभन्दा निकै महँगो छ। 

आलोचनापछि सुकाैरा पुगे मुख्यमन्त्री चौधरी 

ऐतिहासिक ठाउँलाई सुकाएको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री चौधरी आफैँ सुकौरा पुगेका छन्। मुख्यमन्त्री भएको केही दिनपछि सुकौरा पुगेर उनले  ऐतिहासिक ठाउँ सुकौरालाई स्थापित गर्ने प्रतिबद्धता जनाए। ‘चखौरा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू समुदायको म्युजियम हो,’ उनले भने, ‘तर, सुकौरा थारू समुदायको इतिहास भएकाले यसलाई जोगाउनुपर्छ।’ 

उनले सुकौरालाई गोरखनाथको सर्किट बनाउनेसमेत बताए। थारू समुदायले पाटनदेवीको पूजा गर्ने भन्दै त्यसको संरक्षण गर्ने बताए । सुकौरालाई इतिहास बनाउने भन्दै सोही ठाउँमा अगाडि बढाउन समिति गठन गर्न पनि स्थानीयलाई अनुरोध गरे।

‘खर्च कति लाग्छ, ५०–६० लाख जति हुन्छ, म खर्च गर्छु,’ उनले भने, ‘यो ठाउँ बनाउन पैसाको कमी हुँदैन, जग्गा किन्नुपरे पनि किनौँला, तर, इतिहास जोगाऔँ।’ 

उनले ऐतिहासिक ठाउँमा अन्य संरचना बनाउँदा भद्रगोल हुने भन्दै चखौरामा म्युजियम बनाएको र सुकौरालाई ऐतिहासिक स्थान बनाउने बताए।  

सुकौराकोटको इतिहास

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । 

राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटदेखि सीधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती छ। त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे।
 
दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती छ। 

उनका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए।
 
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन्। 

बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो।  मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे।
 
राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दंगीशरण दरबारबाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए।
 
अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका– १, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ। त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ।
 
पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । 

गाईभैँसी चराउँदै आएका १२ जना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै दाबी छ ।
 
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका– १, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन्। बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन्।
 
वि.सं. १९४२ मा दंगीशरण गाउँपालिका– ४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने वेला सतीप्रथा अन्त्य भइसकेको थियो। 

सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन। तर, प्रहरी, प्रशासनले रोक लगाए। तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती छ।